मनसुन सुरु भएसँगै मुलुकभर डेङ्गी सङ्क्रमण देखिन थालेको छ । सामान्यतया जुनदेखि अगस्ट (असारदेखि भदौ) सम्मको अवधिलाई डेङ्गी सङ्क्रमणको उच्च जोखिमयुक्त समयका रूपमा लिइन्छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) का अनुसार सन् २०२५ जनवरी १ देखि जुन ८ सम्म देशभर एक हजार दुई सय ५५ जना डेङ्गी संक्रमित फेला परेका छन्। अहिलेसम्म ७२ जिल्लामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ ।
ईडिसिडीको तथ्याङ्कअनुसार सबैभन्दा बढी संक्रमित काठमाडौँमा भेटिएका छन् । काठमाडौँमा १३२ जना संक्रमित फेला परेका छन् भने कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० जना संक्रमित भेटिएका छन् ।
ईडिसिडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार डेङ्गी पूर्ण रूपमा शून्यमा झार्न नसकिने भए पनि नियन्त्रण गर्न भने सकिने अवस्था छ । उनले भने, “डेङ्गीको सङ्क्रमण र मृत्युदर घटाउन सकिन्छ। त्यसका लागि सबै जनाको समन्वय आवश्यक हुन्छ। नागरिक, समुदाय, सरकारी–गैरसरकारी सबैले हातेमालो गर्नुपर्छ ।”
डा. दाहालका अनुसार यो वर्ष मनसुन छिट्टै सुरु भएको र मौसमविद्ले पानी धेरै पर्न सक्ने पूर्वानुमान गरेका कारण सङ्क्रमण फैलिने सम्भावना उच्च छ । “भेक्टरको तथ्याङ्क नहुँदा ठ्याक्कै अनुमान गर्न सकिँदैन, तर पानी धेरै परेमा पानी जम्ने, लामखुट्टे विकास हुने सम्भावनालाई नकार्न सकिँदैन,” उनले स्पष्ट पारे ।
उनका अनुसार सबै तहका सरकार, नागरिक तथा संस्थाले समन्वय गरेर काम गरेमा डेङ्गी सङ्क्रमण र यसबाट हुने मृत्यु दर कम गर्न सकिन्छ ।
डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य रोग हो। यसबाट जोगिनको लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने विज्ञहरूको भनाइ छ ।
विशेषज्ञहरूले सुझाव दिएका सावधानीहरूमा पूर्ण शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की सफा गर्ने, सुत्ने बेला झुल प्रयोग गर्ने र वरपर पानी जम्न नदिने व्यवस्था प्रमुख हुन्। यस्ता उपायहरू अपनाउँदा डेङ्गीको जोखिम घट्न सक्ने चिकित्सकहरूको भनाइ छ ।