स्वास्थ्य बिमा बोर्डले नारायणी अस्पताललाई पुनः ‘प्रथम सेवा विन्दु’ र ‘रिफरल सेन्टर’का रूपमा कायम गर्ने निर्णय गरेको छ । यसअघि बोर्डले साउन १ गतेदेखि नारायणी अस्पताललाई प्रथम सेवा विन्दुको सूचीबाट हटाउने निर्णय गरेको थियो। उक्त निर्णयप्रति व्यापक विरोध भएपछि बोर्डले असार ३२ गते अस्पताल प्रशासनको आग्रहलाई आधार मान्दै निर्णय फिर्ता लिएको हो ।
नारायणी अस्पतालका सूचना अधिकारी तथा वरिष्ठ चिकित्सक डा. उदय नारायण सिंहका अनुसार, अस्पतालले बोर्डलाई पत्र लेखेर सेवामा निरन्तरता दिन आग्रह गरेको थियो । त्यसको जवाफमा बोर्डले आगामी असोज मसान्तसम्मका लागि अस्पताललाई यथावत् रूपमा सेवा दिन स्वीकृति दिएको छ ।
डा. सिंहले भने, “बोर्डको अघिल्लो निर्णयले वीरगञ्जवासीमा अन्योलता सिर्जना गरेको थियो। पुनः सेवामा समावेश भएपछि बीमितहरूलाई ठूलो राहत पुगेको छ ।”
नारायणी अस्पतालमा दैनिक ५००–७०० स्वास्थ्य बिमा योजनामा आवद्ध बिरामी उपचारका लागि आउने गर्छन् । तीमध्ये ७०–७५ प्रतिशत बीमित छन् भने दुई–तीन सय बिरामी मधुमेह, उच्च रक्तचाप, मुटु रोगजस्ता दीर्घरोगका हुन्छन् । विशेष गरी वीरगञ्जसहित पर्सा, बारा, रौतहट, सर्लाही, मकवानपुरलगायतका जिल्लाका बीमितहरू यहाँबाट सेवा लिँदै आएका छन् ।
यसअघि बोर्डले वीरगञ्ज महानगरपालिका–२८ स्थित बगही प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रथम सेवा विन्दु तोकेको थियो । तर, बगही नारायणी अस्पतालबाट १२ किलोमिटर टाढा पर्छ र त्यहाँ आवश्यक स्वास्थ्य सेवा, जनशक्ति, ल्याब, औषधि, एक्स–रेजस्ता सुविधाको अभाव देखिएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जनगुनासोपछि पहल गर्दै नारायणी अस्पताललाई सेवामा पुनः समावेश गराउन भूमिका खेलेका थिए । उनले सामाजिक सञ्जालमार्फत नागरिकलाई नजिकको सरकारी अस्पतालबाट सेवा लिन मिल्ने व्यवस्था मिलाइएको बताएका थिए ।
उनका अनुसार, सरकारले प्रत्येक स्थानीय तहमा कम्तीमा एक प्रथम सेवा विन्दु अनिवार्य गर्ने नीति अपनाएको छ । यो उद्देश्यलाई सफल बनाउन आवश्यक स्थानहरूमा नयाँ स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नतिको कार्य प्रदेश र स्थानीय तहसँग समन्वयमा अघि बढाइनेछ ।
नारायणी अस्पताललाई पुनः सेवा विन्दुमा समावेश गरिएपछि विशेषतः ज्येष्ठ नागरिक र दीर्घरोगीहरूलाई सहजता पुगेको छ । अस्पताल प्रशासनले सेवा सम्वन्धी परिवर्तनबारे जानकारी लिएर सहज रूपमा सेवा लिन आग्रह गरेको छ ।
प्रथम सेवा विन्दु कायम रहेका प्रमुख अस्पतालहरू:
- नारायणी अस्पताल (वीरगञ्ज)
- कोशी अस्पताल (विराटनगर)
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान)
- गजेन्द्र नारायण सिंह अस्पताल (राजविराज)
- बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर)
- भरतपुर अस्पताल (चितवन)
- पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा)
- जीपी कोइराला श्वासप्रश्वास केन्द्र (तनहुँ)
- सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (बाँके)
- भेरी अस्पताल (नेपालगञ्ज)
- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (दाङ)
- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला)
- डडेलधुरा अस्पताल
स्वास्थ्य बिमा ऐन, २०७४ (प्रथम संशोधन २०८२) अनुसार, प्रत्येक स्थानीय तहमा कम्तीमा एक प्रथम सेवा विन्दु तोक्नुपर्ने प्रावधानअनुसार यो व्यवस्था गरिएको हो । बोर्डका अध्यक्ष चन्द्र थापाले यस व्यवस्थाले बीमितहरूलाई देशभरका सूचीकृत सरकारी संस्थाबाट सेवा लिन सहज बनाउने बताएका छन् ।
बोर्डले बीमितहरूलाई महिनाको एकपटक सेवा लिन मिल्ने गरी समयचक्र पनि परिमार्जन गरेको छ । यसले स्वास्थ्य बिमा कार्यक्रमलाई थप सर्वसुलभ, प्रभावकारी र दिगो बनाउने अपेक्षा गरिएको छ ।