वीरगंजसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा आज दिउँसो वर्षा भएको छ । विशेषतः आजको दिनमा मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने बारे प्रक्षेपण गरेको थिएन । तर एक्कासि पानी परेपछि आम सर्वसाधारण र किसानहरू खुशी भएका छन् ।
गत केही सातादेखि मौसम विभागले पटक–पटक वर्षाको सम्भावना रहेको पूर्वानुमान गर्दै आएको थियो, तर ती अधिकांश दिनहरूमा वर्षा नहुँदा विभागको अनुमानप्रति व्यापक आलोचना भइरहेको थियो । तर, आइतबार भने विभागले वर्षा बारे अनुमान नगरेपनी वर्षा भएपछि पूर्वानुमानको विश्वसनीयतामा फेरि प्रश्न उठेको छ ।
सुख्खाग्रस्त घोषणा गरिए पनि वर्षा अभावकै जस्तै अवस्था
मधेश प्रदेशमा वर्षा नपरेपछि नेपाल सरकार र मधेश प्रदेश सरकारले केही दिनअघि यस क्षेत्रलाई ‘सुख्खाग्रस्त’ घोषणा गरेका थिए । किसानहरूले खेतमा पानी नहुँदा धान रोप्न सकेका छैनन्, कतिपयले बिउ फालेर पनि सुक्खा जमिन मै फर्किन बाध्य भएका छन् ।
आजको पानीले केही राहत, तर पर्याप्त छैन
आज परेका पानीले थोरै मात्रामा खेतमा आइसक्न लागेको चिरा बन्द गरिदिएको देखिए पनि यो लगातार र पर्याप्त नभएकाले रोपाइँ थाल्न अझै समस्या रहेको किसानहरू बताउँछन् । पर्सा जिल्लाका किसान रामप्रवेश यादव भन्छन्, "आजको पानीले मन त शान्त भयो, तर खेतभित्र धानको बिरुवा रोप्ने अवस्था अझै बनेको छैन।"
सामाजिक सञ्जालमा धेरैले मौसम विभागको प्रणाली, पूर्वानुमान विधि, प्रविधि र पारदर्शितामाथि प्रश्न उठाएका छन् । कतिपयले भनेका छन्, "जब वर्षा हुने भन्छ, हुँदैन; जब हुँदैन भन्छ, वर्षा हुन्छ – यस्तो स्थितिमा किसानले कसरी तयारी गर्ने ?"
खडेरीले मधेसको कृषि प्रणाली धराशायी
साउन महिनामा समेत व्यापक खडेरीले गर्दा मधेशको मुख्य बाली धान उत्पादन संकटमा परेको छ । खडेरीका कारण धानको उत्पादनमा यस वर्ष ठूलो गिरावट आउने पूर्वानुमान गरिएको छ । कृषि ज्ञान केन्द्र र कृषि मन्त्रालयले यसबारे छुट्टै अध्ययन थालेको छ ।