महोत्तरी । दसैँसँगै नेपाली समाजमा आउने परम्परागत प्रतीक्षा पिङ संस्कृतिको मौलिकता मधेशमा हराउँदै गएको छ । पिङले बालबालिका, युवादेखि वृद्धवृद्धासम्मलाई आकर्षित गर्ने मात्र होइन, सामूहिकता, सहकार्य र मनोरञ्जनको प्रतीकका रूपमा परिचित रहँदै आएको छ। तर सहरीकरण, स्थान अभाव, सामाजिक सञ्जालको प्रभाव र युवापुस्ताको विदेश पलायनका कारण पिङ संस्कृतिमा विगत दुई दशकयता मधेशमा गिरावट आएको हो ।
प्रगतिशील लेखक सङ्घ, मधेश प्रदेशका अध्यक्ष नारायण घिमिरेका अनुसार तराईमा लिङ्गेपिङ र पहाडमा रोटेपिङ नेपाली समाजको मौलिक सांस्कृतिक धरोहर हुन् । “पिङ केवल खेल र रमाइलो मात्र होइन, यो हाम्रो लोकजीवन, सामाजिक सहकार्य र सांस्कृतिक सम्पदाको परिचायक हो,” घिमिरेले बताए ।
बर्दिबास–१ का ७७ वर्षीय भवानीबहादुर क्षेत्रीले विगत सम्झँदै भने, “हिजो बर्दिबासमै पाँच ठाउँमा पिङ हालिन्थ्यो। म आफैँ घरनजिक हाल्थें, अन्य टोलमा पनि समुदाय मिलेर पिङ बनाइन्थ्यो।” उनका अनुसार युवादेखि बुढापाका सबै उमेरका मानिस पिङ बनाउन सक्रिय हुने गर्थे। बाबियो काट्ने, लिङ्गो ल्याउने, खाल्डो खन्ने, गाँठो बाँध्ने जस्ता काम सामूहिक रूपमा हुन्थे ।
तर अहिले सहरीकरणसँगै पिङ हालिने ठाउँमा घर ठडिएका छन्, बाबियोका घारी हराइसकेका छन् र अग्ला लिङ्गो वनमा दुर्लभ भएका छन् । “संस्कृति जगेर्नामा ऊर्जा थप्ने युवापुस्ताको विदेश पलायन र नयाँ पुस्ता सामाजिक सञ्जालमै अल्झिएकाले पिङ संस्कृतिमा गिरावट आएको हो,” क्षेत्रीले भने ।
बर्दिबास अस्पतालका डा. रीतेश घिमिरेका अनुसार पिङ केवल मनोरञ्जन नभई स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण छ। “पिङ खेल्दा शारीरिक सन्तुलन, तन्दुरुस्ती र आत्मविश्वास बढ्छ । मानसिक स्वास्थ्यमा समेत यसको सकारात्मक प्रभाव पर्छ,” उनले बताए ।
त्यस्तै, बर्दिबास–३ कालापानीका पूर्वप्रशासक रामकुमार कार्कीले भने आफ्नो गाउँमा पिङ परम्परा जगेर्ना भइरहेको दाबी गरे । “हरेक वर्ष हामी कालापानीमा पिङ हाल्छौँ। यो हाम्रो संस्कृति पुस्तान्तरण गर्ने महत्त्वपूर्ण माध्यम हो,” उनले भने ।