भारतीय नश्लको गीर गाई अब चितवनका गोठहरूमा पनि देखिन थालेका छन् । कम दूध दिने रैथाने नश्लका गाई छाडेर जर्सी र होलिस्टिनजस्ता उन्नत नश्लका गाई पाल्ने चलन बढिरहेको बेला चितवनको पूर्वी भेग खैरहनी नगरपालिका–४, चैनपुरका ६१ वर्षीय किसान लक्ष्मण घिमिरेले भने फरक प्रयोग थालेका छन् । उनले डेढ वर्षअघि भारतको गुजरातबाट शुद्ध नश्लका गीर गाई ल्याएर पालन सुरु गरेका हुन् ।
जुरो उठेको गीर गाईको दूध मात्र होइन, गोबर र गहुँतसमेत उपयोगी हुने देखेपछि आफूले यो नश्ल रोजेको घिमिरे बताउँछन् । “मैले ल्याएको गीर गाई पहिलो पटक ब्याएको हो । दिनमा करिब २० लिटर दूध दिन्छ, यो अझै दोब्बरसम्म पुग्न सक्छ,” उनले भने, “यसको गहुँत प्रशोधन गरेर अर्क बनाएर बिक्री गरेको छु । अर्कको पनि राम्रै मूल्य पाइन्छ ।” उनका अनुसार गीर गाईको दूध प्रतिलिटर १५० रुपैयाँमा बिक्री भइरहेको छ ।
प्राङ्गारिक खेती गर्दै आएका घिमिरेका लागि गीर गाईको गोबर उत्कृष्ट मल बनेको छ । “बालीनालीको बीउ जोगाउन गहुँतबाट उपचार गर्दा राम्रो नतिजा आएको छ । बीउमा किरा नलाग्ने मात्र होइन, उम्रने शक्ति पनि बढेको छ,” उनले भने, “त्यसैले गीर गाईको महत्व दूधमा मात्र सीमित छैन, मल र गहुँत पनि किसानका लागि निकै उपयोगी छन ।” अन्य उन्नत नश्लका गाईमा यस्तो गुण नपाइने उनको तर्क छ ।
गीर गाईको घ्यु आयुर्वेदिक औषधिका रूपमा प्रयोग हुने भएकाले अन्य घ्युभन्दा उच्च मूल्यमा बिक्री हुने गरेको घिमिरे बताउँछन् । पहिला रत्ननगर नगरपालिका–१० मा बस्दै आएका उनी जीविकोपार्जनका लागि देश–विदेश भौतारिएका थिए । दुबईदेखि मकाउसम्म पुगेका घिमिरे कृषि उद्यमसम्बन्धी तालिम दिन देशका विभिन्न भेगमा पनि पुगे ।
यस्तै क्रममा १४ वर्षअघि भारतको गुजरातस्थित साबरमती गुरुकुल पुगेका बेला उनले पहिलो पटक गीर गाई देखेका थिए । त्यहाँ करिब ६ वर्ष बस्दा गीर गाईबारे जान्ने र बुझ्ने अवसर पाएपछि नेपाल फर्केर पाल्ने चाहना बढेको उनी बताउँछन् । “नेपालमा गीर गाई निकै कम रहेछ । फाट्टफुट्ट मात्र भेटिने, त्यो पनि शुद्ध नश्लको हो कि होइन भन्ने शंका लाग्थ्यो,” उनले भने, “गुजरातबाटै ल्याउन खोज्दा समय लाग्यो ।”
अन्ततः २०८१ सालको असारमा उनको गोठमा गीर गाई भित्रियो । वैशाखमा ब्याएको गाई माउ बाच्छीसहित ल्याइएको थियो । साथै, पूर्वी नेपालबाट उनले एउटा बाच्छी थपेका छन् । गोठमा एउटा माउ गीर गाई हुँदा नै करिब ६० हजार रुपैयाँ बराबरको घ्यु बिक्री भइसकेको घिमिरे बताउँछन् । “शुद्ध नश्लको गीर गाई गुजरातबाट ल्याउँदा करिब दुई लाख रुपैयाँ खर्च भयो, तर फाइदा पनि राम्रै भएको छ,” उनले भने ।
घिमिरेका अनुसार पूर्वी तराईका सिराहा, सप्तरी र झापामा पनि फाट्टफुट्ट गीर गाई पाल्ने किसान भेटिन्छन् । “यो गाई चर्न मन पराउँछ, हात्ती जस्तै मजाले चर्छ । चरेर मात्रै नपुग्ला भनेर घाँस पनि रोपेको छु। दानामा खासै खर्च छैन, घरमा भएका अन्न दिए पुग्छ,” उनले भने, “यसलाई रोग लागेको त मैले थाहा पाएको छैन । फाइदा भनेकै यही हो ।” भविष्यमा गीर गाईको संख्या बढाएर आठ–दशवटा पुर्याउने योजना उनले बनाएका छन् ।
यसैबीच, चितवन रामपुरस्थित राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम कार्यालयका सूचना अधिकारी डा. हेमराज ढकाल नेपालमा गीर गाई कमै मात्र पालिने बताउँछन् । “यो हाम्रो स्थानीय नश्ल होइन, भारतीय नश्लको गाई हो । त्यसैले विदेशी नश्लमै पर्छ,” उनले भने, “नेपालमा तराईका केही ठाउँबाहेक अन्यत्र खासै पालिएको पाइँदैन ।”
राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमले गीर गाईबारे अध्ययन गर्ने योजना बनाएको पनि डा. ढकालले जानकारी दिए । “सकेसम्म यही वर्ष आठ–दश वटा गीर गाई ल्याउने तयारी छ । त्यसपछि यसको दूध, उत्पादन, स्वास्थ्य र उपयोगिताबारे अध्ययन, अनुसन्धान र विश्लेषण गरिनेछ,” उनले बताए ।