सिरहास्थित प्रादेशिक अस्पतालका दुई पूर्वप्रमुखसहित १० जना कर्मचारीमाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा उनीहरूमाथि मुद्दा दायर गरेको हो ।
प्रतिवादीहरूमा तत्कालीन मेसु डा. नागेन्द्रप्रसाद यादव, डा. सरोज यादव, प्रशासन प्रमुख अशोक सिंह, लेखा प्रमुख अशोक यादव, अहेव श्यामकुमार मण्डल, सहायक कम्प्युटर अपरेटरहरू पूजाकुमारी यादव, सरस्वतीकुमारी यादव, रोशन यादव, अजय मण्डल र लेखा प्रमुख मृतक मुस्कान मण्डल छन् ।
अख्तियारको दाबीअनुसार, अस्पतालमा बिरामीबाट संकलन भएको रकम ३८ लाख ७७ हजार ७ सय २४ रुपैयाँ सरकारी खातामा जम्मा नगरी उनीहरूले मिलेमतोमा भ्रष्टाचार गरेको पाइएको छ । अस्पतालको बिलिङ सफ्टवेयरमा आम्दानी देखिए पनि बैंक भौचरमा सोही रकम जम्मा भएको प्रमाण भेटिएको छैन ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, आर्थिक वर्ष २०८०/०८१ मा अस्पतालका विभिन्न ८ वटा काउन्टरबाट कुल ३ करोड ८७ लाख ६६ हजार ९ सय ७४ रुपैयाँ ८३ पैसा संकलन भएकोमा, अभिलेखमा मात्र ३ करोड ४८ लाख ८९ हजार २५० रुपैयाँ दाखिला भएको पाइएको छ ।
अख्तियारले प्रतिवादीहरूलाई बिगो असुल उपरसहित जरिवाना र कैद गर्ने माग अदालतसँग राखेको छ ।