जनकपुरधाम उपमहानगरपालिका–२०, रुपैठाका ७८ वर्षीय पुनित भण्डारी छ पिँढीदेखि चल्दै आएको पुर्ख्यौली पेसा फूलखेतीलाई आजसम्म निरन्तरता दिइरहेका छन् ।
उमेरले वृद्ध भए पनि उनको मेहनत र लगाव अझै उस्तै छ । बिहान सबेरै खेतमा पुग्ने र बेलुकासम्म फूलखेतीमै व्यस्त रहने पुनितका लागि यो खेती केवल आम्दानीको माध्यम मात्र होइन, पुर्खाको नासो पनि हो । bउनका पाँच छोरा छन् । चार जना अन्य पेसा र व्यवसायमा लागेका छन् भने कान्छा छोरा लक्ष्मी भण्डारी बुबाको बाटो पछ्याउँदै फूलखेतीलाई निरन्तरता दिइरहेका छन् । लक्ष्मी अहिले तीन सन्तानको जिम्मेवारी यही खेतीको आम्दानीबाट धानिरहेका छन् ।
लक्ष्मी भन्छन्, “एसएलसी पास गरेपछि केही वर्ष विदेश गएँ। तर, विदेशको कमाइले मन सन्तुष्ट भएन। आफ्नै गाउँ–समाज र माटोमा फर्किएर पुर्खाको पेसा अँगाल्दा छुट्टै अपनत्व महसुस भयो।” मिथिलाञ्चल क्षेत्रमा माली समुदायले उत्पादन गर्ने फूल धार्मिक रूपमा अत्यन्त पवित्र मानिन्छ । विवाह, मुण्डन, व्रतबन्ध, श्राद्ध, पूजापाठ र विभिन्न चाडपर्वमा माली समुदायले उनेको फूलको माला प्रयोग गर्ने परम्परा अझै कायम छ ।
पुनित भण्डारी भन्छन्, “हाम्रा बाजे–बराजुले यही काम गर्दै आए। अहिले हामी पनि यही पेसामा छौँ। यो हाम्रो जीवन र संस्कारसँग जोडिएको कर्म हो।” लक्ष्मी अहिले करिब डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गरिरहेका छन् । उनी बिहान करिब पाँच घण्टा र साँझ चार घण्टा खेतमै खटिन्छन् । खेतीमा हप्तामा दुई पटक मल हाल्ने, झार उखेल्ने, फूल मिलाउने र बिरुवाको हेरचाह गर्ने काम नियमित गर्नुपर्छ ।
उनका अनुसार फूलखेती सजिलो छैन । धान वा तरकारी खेतीभन्दा धेरै मेहनत लाग्छ । मौसम, सिँचाइ, मल, मजदुर र सुरक्षाको उचित व्यवस्थापन गर्नुपर्ने भएकाले सानो गल्तीले पनि उत्पादनमा असर पर्छ । “घाम, पानी र हेरचाह सबै समयमै गर्नुपर्छ,” लक्ष्मी भन्छन्, “थोरै पनि ध्यान नपुग्दा उत्पादन घट्छ।”
एक सिजनमा डेढ बिघा जमिनमा फूलखेती गर्न करिब साढे दुई लाख रुपैयाँ खर्च लाग्ने उनी बताउँछन् । तर, आम्दानी अपेक्षाअनुसार छैन । राम्रो बजार भए मात्र एक सिजनमा डेढदेखि दुई लाख रुपैयाँसम्म नाफा हुने उनीहरूको अनुभव छ । लक्ष्मीको गुनासो छ, “हामीले व्यापारीलाई एउटा माला २० देखि २५ रुपैयाँमा दिन्छौँ, तर बजारमा त्यही माला ५० देखि ८० रुपैयाँसम्ममा बिक्री हुन्छ। बिचौलियाले बढी फाइदा उठाउँछन्, किसानले आफ्नो पसिनाको मूल्य पाउँदैनन्।”
जनकपुरधाम क्षेत्रमा दैनिक करिब १२ हजारसम्म फूलको माला बिक्री हुने अनुमान छ । विवाह, पूजापाठ, धार्मिक कार्यक्रम र चाडपर्वका कारण फूलको माग उच्च हुन्छ । तर, स्थानीय किसानले त्यो ठूलो बजारमा उचित हिस्सा पाउन सकेका छैनन् । किसानहरूको भनाइमा मुख्य समस्या भारतबाट आउने सस्तो फूल हो । सीमावर्ती क्षेत्रबाट सस्तो मूल्यमा भारतीय माला भित्रिँदा स्थानीय उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको उनीहरू बताउँछन् ।
“हामी धेरै मेहनत गरेर फूल फुलाउँछौँ, तर भारतबाट सस्तो माला आउँछ,” किसानहरू भन्छन्, “त्यही कारण हाम्रो उत्पादनको माग घट्छ।” नेपालमा फूल आयात तथा सीमा नियन्त्रण कडा नहुँदा चोरी–निकासीमार्फत पनि फूल भित्रिने क्रम रोकिएको छैन । यसले स्थानीय किसानलाई प्रत्यक्ष मार परेको छ ।
विशेषगरी वैशाखदेखि साउन र असोजदेखि मंसिर महिनामा फूलको माग अत्यधिक हुन्छ । विवाहको लगन, चाडपर्व र धार्मिक अनुष्ठानले बजार चलायमान बनाउँछ । पहिले केही समुदायमा फूलको प्रयोग सीमित भए पनि अहिले सबै समुदायमा यसको प्रयोग बढेको छ ।
लक्ष्मी भण्डारीका अनुसार उनीहरूले हजारी, कलकतिया, चाइना, चेरी र सेतो जातका फूलहरू खेती गर्छन् । फूलखेतीका लागि खेत पाँच पटकसम्म जोत्नुपर्छ, मल हालेर माटो तयार पारिन्छ र सिँचाइपछि रोपाइँ गरिन्छ ।
रोपेको करिब ४० दिनपछि फूल फुल्न थाल्छ र एउटै बिरुवाले करिब छ महिनासम्म उत्पादन दिन्छ । सुरुमा फूल ठूलो हुन्छ तर समयसँगै सानो हुँदै जान्छ ।
अहिले ‘अफ–सिजन’ भएकाले किसानहरू नयाँ सिजनको तयारीमा छन् । तर, समयमा रासायनिक मल नपाउनु, सिँचाइको अभाव र मजदुर नपाउनु ठूलो समस्या बनेको छ । रुपैठा क्षेत्रमा मात्रै माली समुदायले २५ देखि ३० बिघा क्षेत्रफलमा फूलखेती गर्दै आएका छन् । यस क्षेत्रलाई फूल उत्पादनको केन्द्र मानिन्छ । यहाँ सबैभन्दा धेरै क्षेत्रफलमा खेती गर्ने किसान राजकुमार भण्डारी हुन्, जसले करिब सात बिघामा फूलखेती गर्छन् ।
राजकुमार भन्छन्, “बजार त पाइन्छ, तर लागतअनुसार मुनाफा छैन। मेहनत धेरै छ, कमाइ कम छ।” मजदुरको अभाव, मलको समस्या र सिँचाइ अभावले खेती कठिन बनेको उनी बताउँछन् । सुरक्षाको समस्या पनि उस्तै छ । खेतबाटै फूल चोरी हुने र बोटबिरुवा नष्ट हुने घटनाले किसानलाई थप तनाव छ ।
पुनित भण्डारीका अनुसार सरकारले फूलखेतीलाई प्राथमिकतामा राखेको छैन । न अनुदान छ, न तालिम नै उपलब्ध छ । यदि आधुनिक प्रविधि, तालिम र बजार व्यवस्थापन गरियो भने फूलखेतीबाट राम्रो आम्दानी गर्न सकिने उनीहरूको विश्वास छ । फूलखेती केवल जीविकोपार्जनको माध्यम मात्र होइन, यो मिथिलाञ्चलको संस्कृति र परम्परासँग जोडिएको पेसा हो । धनुषा, महोत्तरी, सिरहा, सप्तरी र सर्लाही जिल्लामा माली समुदाय अझै यो पेसामा निर्भर छन् ।
तर, व्यवस्थित बजारको अभाव, सरकारी बेवास्ता, भारतसँगको अस्वस्थ प्रतिस्पर्धा र बढ्दो लागतका कारण यो पुर्ख्यौली पेसा गम्भीर संकटमा परेको छ । लक्ष्मी भन्छन्, “हामी मेहनत गर्न तयार छौँ, तर हाम्रो उत्पादनको उचित मूल्य र बजार सुनिश्चित हुनुपर्छ।” पुनित भण्डारीको एउटै चाहना छ—आगामी पुस्ताले पनि यो पेसालाई गर्वका साथ निरन्तरता दिओस् । तर त्यसका लागि राज्यको सहयोग, बजार व्यवस्था र संरक्षण अनिवार्य देखिन्छ ।
छ पुस्तादेखि जोगिँदै आएको यो पुर्ख्यौली पेसा अहिले दोबाटोमा उभिएको छ—सहयोग पाए अझ फैलिने, नभए इतिहास बन्ने खतरा बढ्दै गएको छ ।