भूमि व्यवस्थापन तथा अभिलेख विभागअन्तर्गत भूमि प्रशासन कार्यालय, पर्साले आदर्शनगरस्थित स्काईलाइन मल जाेडिएकाे जग्गा प्रकरणमा दोहोरो श्रेस्ता खारेज सम्बन्धी प्रक्रियामा थप प्रमाण तथा कागजात पेश गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
७ दिन भित्र उक्त प्रमाणहरू उपलब्ध नगराए नापी विभागको परिपत्रअनुसार दोहोरो श्रेस्ता कानुन बमोजिम बदर गर्ने प्रक्रिया अघि बढाइने चेतावनी दिएकाे छ । मालपाेत कार्यालय पर्साले साविक रुकमनी देवी केडियाको नाममा दर्ता रहेको जग्गा हाल पुनःनापीपछि विभिन्न व्यक्तिहरूको नाममा श्रेस्ता कायम भएको विषयमा विवाद देखिएको जनाउँदै थप विवरण आवश्यक रहेको स्पष्ट पारेको हो ।
वीरगञ्ज महानगरपालिका–७ (हाल वडा नं. ६) अन्तर्गतको कित्ता नं. १४ (ज.वि. ०-९-०) र कित्ता नं. १५ (ज.वि. ०-२-६-०) सम्बन्धी जग्गा नामसारी माग गर्दै प्रदीप कुमार केडिया लगायतले दिएको निवेदनपछि नापी कार्यालय र अन्य निकायसँग समन्वय भए पनि आवश्यक अभिलेख पूर्ण रूपमा प्राप्त नभएको कार्यालयले जनाएको छ ।
भूमि प्रशासन कार्यालयका अनुसार साविक नक्सा, फिल्डबुक, प्लटबुक तथा दर्ता श्रेस्ता र स्वामित्व पुष्टि गर्ने प्रमाण कागजात अभावमा निर्णय प्रक्रिया अघि बढाउन कठिनाइ भएको छ ।
यसैबीच, यसै विषयमा जिल्ला प्रशासन कार्यालय पर्सामा भएको छलफल, सम्बन्धित निकायहरूको सहमति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाबाट माग भएको राय–प्रतिक्रिया समेतलाई आधार मानेर थप प्रमाण माग गरिएको हो ।
कार्यालयले सम्बन्धित व्यक्ति वा संस्थालाई सात दिनभित्र आफूले जग्गा प्राप्त गरेको स्रोत–प्रक्रिया (खरिद, बिक्री, नामसारी, लिलाम वा अधिग्रहण) सम्बन्धी प्रमाण पेश गर्न निर्देशन दिएको छ । निर्देशित समयभित्र प्रमाण पेश नभएमा मालपोत ऐन २०३४, भूमि प्रशासन निर्देशिका २०८१ तथा नापी विभागको परिपत्रअनुसार दोहोरो श्रेस्ता कानुन बमोजिम बदर गर्ने प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको छ ।
भूमि प्रशासन अधिकृत खेमराज खत्रीद्वारा हस्ताक्षरित उक्त पत्रको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय पर्सा, वीरगञ्ज महानगरपालिका, नापी कार्यालय तथा विभिन्न बैंकहरूलाई समेत पठाइएको छ ।
स्काईलाइन मल जग्गा प्रकरण सम्बन्धी फलोअप समाचारहरु :
थप खाेज रिपाेर्ट