असार महिनाको अन्त्यतिर आइपुग्दा पनि मधेस प्रदेशमा धान रोपाइँ अपेक्षाकृत ढिलो भएको छ । कृषि विकास निर्देशनालयका अनुसार, प्रदेशभर हालसम्म जम्मा ३३ दशमलव ७८ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ ।
मधेसका अन्य जिल्लाहरूको तुलनामा बाराको अवस्था केही सुधारिएको देखिए पनि त्यहाँ पनि जम्मा ४० प्रतिशत जमिनमा मात्र रोपाइँ सम्पन्न भएको वरिष्ठ बागवानी अधिकृत प्रदीपकुमार यादवले जानकारी दिए ।
पर्सा जिल्लामा सबैभन्दा बढी ७३ दशमलव ३४ प्रतिशत जमिनमा धान रोपिएको छ भने सप्तरीमा सबैभन्दा कम १६ प्रतिशत मात्र रोपाइँ भएको छ । अन्य जिल्लाहरूमा धनुषामा २५ प्रतिशत, सिराहामा २९, रौतहटमा ४५, सर्लाहीमा ४० र महोत्तरीमा १८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
कुल ५ लाख ४२ हजार ५८० हेक्टर खेतीयोग्य जमिनमध्ये ३ लाख ७२ हजार ६४५ हेक्टरमा धान खेती गरिँदै आए पनि तीमध्ये अझै २५ प्रतिशत जमिनमा सिँचाइको व्यवस्था हुन सकेको छैन ।
बागवानी अधिकृत यादवका अनुसार, किसानसँग बीउ र मलको पहुँच भए पनि सिँचाइ नभएसम्म रोपाइँ गर्न सक्ने अवस्था छैन। धान अनुसन्धान केन्द्रका पूर्वप्रमुख डा. रामवरण यादवले पनि सरकारले दाबी गरेअनुसार ७० प्रतिशत सिँचाइ नपुगी व्यवहारमा मात्र ३० प्रतिशत सिँचाइ सुविधा रहेको बताए । ‘मधेसको खेती अझै पनि आकाशे पानीको भरमा निर्भर छ,’ उनले भने ।
वर्षा अभावका कारण यस वर्ष धान उत्पादनमा गम्भीर असर पर्ने प्रक्षेपण गरिएको छ । मधेस सरकारले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै सङ्घीय सरकारसँग राहत प्याकेज माग गरेको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारलाई राहत कार्यक्रम ल्याउन अनुरोध गर्दै दातृ निकायहरूलाई पनि सहकार्यका लागि आग्रह गरेको छ ।
यसैबीच, निरन्तर वर्षा नहुँदा खेतहरू सुख्खा भएर धाँजा फाट्न थालेको किसानको गुनासो छ । असार सकिँदासम्म पनि धान रोप्न नसकेका किसानहरू उत्पादनमा ठूलो क्षति हुने चिन्तामा छन् ।