बाराको सिम्रौनगढ नगरपालिका–८ कचोर्वा गाउँमा पानीको चरम अभावका कारण धानको बिउ ब्याडमै सुक्न थालेको छ । अन्न भण्डारको रुपमा चिनिने मधेस क्षेत्रमा हिउँद यामदेखि अहिलेसम्म पर्याप्त वर्षा नहुँदा खेती सुक्खा बनेको छ ।
असार महिनासमेत सकिँदासम्म पानी नपरेकाले जिल्लाका अधिकांश स्थानमा रोपाइँ हुन सकेको छैन । सिँचाइ सुविधा नभएको क्षेत्रका खेत सुक्दै गएका छन् भने घामको तीव्र तापका कारण ब्याडमै रोपिएको धानको बिउ डढेको छ ।
ट्युबेल तथा चापाकलको पानीसमेत सुक्दै गएपछि स्थानीयको चिन्ता झनै बढेको छ । पानीको सतह अत्यन्तै तल झरेको छ जसका कारण डिप ट्युबेल र चापाकलसमेत सुक्खा बनेका छन् ।
स्थानीय नकछेद यादव भन्छन्, “बाँच्ने आधार पानी हो, पिउन पानी छैन, सिँचाइको त झन कुरै छैन। ब्याड खेतमै सुक्यो, अब कसरी बाँच्ने ?”
पिउने पानीको अभाव टार्न स्थानीयवासीहरू सार्वजनिक स्थलमा गाडिएका डिप ट्युबेलमा घण्टौँ लाम लाग्न बाध्य छन् । एउटै ट्युबेलबाट आलोपालो पिउने र सिँचाइ दुबै प्रयोजनका लागि पानी तान्नुपर्ने अवस्था छ ।
प्रदेश सरकारले मधेसका आठवटै जिल्लालाई सुक्खा र संकटकालीन क्षेत्र घोषणा गरिसकेको छ ।
पर्सा जिल्लामा पनि स्थिति उस्तै छ । पिउने पानीको आपूर्ति गर्न प्रदेश सरकारले वीरगन्जसहित जिल्लाका विभिन्न क्षेत्रमा प्रयोग गर्न नेपाली सेनालाई आठवटा दमकल हस्तान्तरण गरेको छ ।
तर पानीको मुख्य स्रोत चुरे क्षेत्रमा अनियन्त्रित रूपमा भइरहेको बालुवा–गिट्टी दोहन तथा वन विनाशले गर्दा खोला, खोल्सी र पैनीमा पानी सुक्न थालेको हो। धेरैजसो पैनीहरू अतिक्रमणमा परेका छन् । स्थानीय तहहरूले राजस्व वृद्धिका लागि खोला तथा बालुवाका लागि दिइएका ठेक्काहरूले चुरेको मुहान सुकाउने अवस्था बनाएको हो ।
जिल्ला प्रशासन कार्यालय बाराले हालै मात्र जनप्रतिनिधि र सरोकारवालासहित सर्वपक्षीय छलफल गर्दै पालिकाहरूलाई पानीको स्रोत खोज्न र सिँचाइ व्यवस्थापन गर्न दबाब दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार स्रोत अभावका कारण पालिकाहरूले आवश्यक बजेट छुट्याउन नसकिरहेको अवस्थामा यस्तो छलफल गरिएको हो ।
यता, विद्युत् आपूर्ति अवरुद्ध हुँदा र भोल्टेज समस्या बढेपछि किसानहरू विकल्पका रूपमा पम्पीसेट किन्न थालेका छन् । बजारमा ट्युबेल गाड्न पाइपको बिक्री पनि उच्च भएको व्यापारीहरूले जनाएका छन् ।