पर्सा जिल्लामा संघीय तथा प्रदेश सरकारद्वारा निर्माण गरिएका ओभरहेड ट्याङ्कीहरू सञ्चालनमा नआउँदा दीर्घकालीन रूपमा खानेपानीको समस्या समाधान गर्न चुनौती थपिएको छ । सम्बन्धित निकायलाई हस्तान्तरण भइसकेका यस्ता ट्याङ्कीहरू स्थानीय तह र उपभोक्ता समितिको बेवास्ताका कारण प्रयोगविहीन अवस्थामा छन् ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बारा/पर्साका निमित्त प्रमुख किशोरीप्रसाद यादवका अनुसार राज्यले करोडौं रुपैयाँ खर्चेर निर्माण गरेका ट्याङ्कीहरू उपभोक्ताको प्रयोगमा आउन नसक्दा खानेपानी अभाव चर्किएको हो । “ट्याङ्की उपभोक्ता समितिमार्फत सञ्चालन गरिनुपर्ने भए पनि यहाँका जनताले महसुल तिरेर पानी खान नचाहेपछि प्रयोगमा समस्या आएको हो,” यादवले बताए ।
पोखरिया, भिष्वा, झौवागुठी, अमरपट्टी, बहुअर्वा भाठ्ठा, बिन्दवासिनीजस्ता ठाउँमा निर्माण गरिएका ओभरहेड ट्याङ्कीहरू यतिबेला बेवारिसे अवस्थामा छन् । स्थानीयबासीले महसुल तिरेर पानी पिउन रुचि नदेखाएपछि डिप बोरिङ खन्ने प्रवृत्ति बढ्दै गएको बताइएको छ ।
नेपाल खानेपानी संस्थान, शाखा कार्यालय वीरगञ्जका प्रमुख प्रविणकुमार साहका अनुसार ओभरहेड ट्याङ्कीहरू सञ्चालनमा ल्याउन सकिए दीर्घकालीन रूपमा पानीको अभाव समाधान गर्न सकिनेछ। तर जनमानसमा पैसा तिरेर पानी खाने संस्कार विकास नहुनु समस्या भएको उनको भनाइ छ ।
नेपाली कांग्रेस पर्साका कार्यवाहक अध्यक्ष रामनारायण कुर्मीले डिप बोरिङ आवश्यकता अनुसार मात्र खनिनुपर्ने धारणा राखेका छन्। “जहाँ आवश्यक छ, त्यहाँ डिप बोरिङ हुनुपर्छ, पहुँचको आधारमा होइन,” उनले भने। साथै, नागरिकहरूलाई पनि घरघरमै लाइन जडान गरेर पानी खाने बानी बसाल्नुपर्नेमा उनले जोड दिए ।
नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापाले संकटको बेला खनिएका डिप बोरिङहरूमा लागत दोब्बर परेको गुनासो गर्दै अख्तियार लगायत सम्बन्धित निकायलाई अनुसन्धान गर्न अनुरोध गरेका छन् । “संकटलाई व्यक्तिगत फाइदाको स्रोत बनाउने प्रवृत्ति बन्द हुनुपर्छ,” उनले भने ।