सिरहा । बरियारपट्टी गाउँपालिका–१ नर्गीस्थित सिङ्गो दलित समुदाय अझै शौचालयविहीन रहेका छन् । चारवटा दलित टोलमा रहेका करिब ५३ घरपरिवारमध्ये कुनै पनि घरमा शौचालय छैन । शौचालयको सुविधा नहुँदा बासिन्दा करिब एक किलोमिटर टाढा रहेको कल्याणदह खोलाको किनारमा शौच गर्न बाध्य छन् ।
नर्गीको खडौरिया, लबटोली, अस्पतालटोल र थानटोल गरी चारवटा दलित बस्तीमा शौचालय नहुनु केवल सुविधाको अभावमात्र नभई, मानव स्वास्थ्य र मर्यादासँग जोडिएको गम्भीर विषय बनेको छ । स्थानीय बासिन्दाका अनुसार शौचालय नहुनुको मुख्य कारण आर्थिक अभाव, जग्गाको कमी र जनचेतनाको कमीकमजोरी हो। ऐलानी जमिनमा बसोबास गरिरहेका यहाँका दलित समुदायलाई शौचालय बनाउन ठाउँसमेत छैन ।
बस्तीका ५० वर्षीय हरिचन्द्र सदायले भन्नुभयो, “हामीसँग शौचालय बनाउने उपाय छैन । बाबुबाजेको पालादेखि खुला ठाउँमै शौच गर्दै आएका छौँ । अहिले पनि अवस्था जस्ताको तस्तै छ।” त्यस्तै, महिला अनितादेवी सदायले भन्नुभयो, “घरकै लागि ठाउँ छैन, शौचालय कहाँ बनाउने रु आर्थिक हैसियत पनि छैन ।”
कुस्मीदेवी सदायका अनुसार शौचालय अभावमा बालबालिकाले सार्वजनिक स्थानमै दिसापिसाब गर्ने गर्छन् । “बस्ती नै दुर्गन्धित भएको छ। गल्ली र झाडीमा दिसा देखिन्छ। सर्प र बिच्छीको डर पनि उत्तिकै छ ।”
शौचालयमात्र नभई पानीको पनि चरम अभाव छ। खडौरियामा पाँचवटा हातेपम्पबाट २३ घरले पानी जोहो गरिरहेका छन् । लबटोलीमा एउटामात्र हातेपम्प छ, जुन गैरसरकारी संस्था ‘दलित जनकल्याण युवा क्लब लहान’को पहलमा जडान गरिएको हो। क्लबका अध्यक्ष उमेश विसुङ्केले भन्नुभयो, “पानीको स्रोत नहुँदा शौचालय प्रयोग र सफाइ असम्भव छ । स्वास्थ्य र सरसफाइका लागि पहिले पानीको व्यवस्था आवश्यक छ ।”
बरियारपट्टी गाउँपालिका–१ का वडाध्यक्ष देवेन्द्र यादवले बस्तीमा सार्वजनिक जमिन नभएकाले शौचालय निर्माणमा समस्या रहेको बताउनुभयो । उहाँले थप्नुभयो, “शौचालयको समस्या समाधानका लागि गाउँपालिकामा पटकपटक छलफल भएको छ। छिट्टै समाधानको बाटो खोजिनेछ ।”
सरकारले खुला दिसामुक्त राष्ट्र घोषणा गरिसकेको अवस्थामा पनि नर्गीको दलित बस्ती शौचालयविहीन हुनु गम्भीर प्रश्न बनेको छ। उपाध्यक्ष ममताकुमारी यादवले शौचालय अभाव लज्जास्पद र दुःखद् विषय भएको भन्दै प्राथमिकतामा राखेर समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
शौचालय अभावले केवल असुविधा मात्र होइन, बालबालिका र महिलाको सुरक्षामा गम्भीर असर पारिरहेको छ । खुला दिसाको जोखिम, सङ्क्रमणका रोग र विषालु कीराको त्रासले बस्तीका बासिन्दाको जीवन झन् कष्टकर बनेको छ। स्थानीयवासी स्थायी, दिगो र समावेशी समाधानको माग गर्दै आएका छन् ।