जाडोयाम सुरु भएसँगै दक्षिण एसियाको विशाल भू–भाग, विशेषगरी पश्चिम पाकिस्तानदेखि बंगलादेशसम्म फैलिएको इण्डो–गंगा समथर क्षेत्र बाक्लो कुहिरोको चपेटामा परेको छ । यस क्षेत्रलाई विश्वकै ठूलो समथर भूभागमध्ये एक मानिन्छ ।
भारतीय उपमहाद्वीपमा शीतलहर एक नियमित मौसमी प्रक्रिया हो । भारतमा अवस्थित १०३ वटा जल तथा मौसम मापन केन्द्रहरूमा सन् १९६१ देखि २०१५ सम्म गरिएको अध्ययनले दक्षिणी समथर भूभाग र उत्तर–पूर्वी भारतबाहेक अन्य अधिकांश क्षेत्रमा शीतलहर नियमित प्राकृतिक प्रक्रियाका रूपमा देखा पर्ने पुष्टि गरेको छ ।
तराई–मधेशमा शीतलहरको अवस्था
नेपालको तराई–मधेश क्षेत्र पनि हरेक वर्ष शीतलहरबाट प्रभावित हुने गर्दछ । यद्यपि, शीतलहर र यसको बहुआयामिक प्रभावबारे नेपालमा पर्याप्त अध्ययन र अनुसन्धान भएका छैनन् । सन् १९७१ देखि २००६ सम्म गरिएको एक अध्ययनले तराई क्षेत्रमा जाडोयामको न्यूनतम तापक्रम बढ्दो क्रममा रहेको र अधिकतम तापक्रम घट्दो क्रममा रहेको देखाएको छ ।
त्यस्तै, सन् १९७५ देखि २०१० सम्मको अवधिलाई आधार मानी कोशी बेसिनमा गरिएको अर्को अध्ययनले दैनिक न्यूनतम र अधिकतम तापक्रम दुवै बढ्दो क्रममा रहेको निष्कर्ष निकालेको छ । सोही अध्ययनले इण्डो–गंगा समथर क्षेत्रमा जाडो तथा प्रि–मनसुन सिजनको अधिकतम तापक्रम घट्दै गएको र हिउँदमा अत्यधिक चिसो हुने दिनहरूको संख्या बढ्दै गएको देखाएको थियो ।
विगत साढे दुई दशकयता शीतलहर तराई–मधेशमा एक गम्भीर स्वास्थ्य समस्याका रूपमा देखा परेको छ । यहाँ शीतलहरको सुरुवात सामान्यतया मंसिर महिनादेखि हुने गरेको पाइन्छ । मिथिला क्षेत्रका स्थानीयवासीहरूको अनुभवअनुसार विगतमा विवाह पञ्चमीको दिनदेखि कुहिरो लाग्न थाल्थ्यो र माघ अन्त्यसम्म यसको प्रभाव रहन्थ्यो ।
तापक्रम र चिसो दिनहरूको तथ्यांक
औसत रूपमा तराई–मधेश क्षेत्रमा हरेक वर्ष करिब ३० दिन शीतलहरको प्रभाव देखिन्छ । जनकपुरधाममा जाडोयामको औसत अधिकतम तापक्रम २४.८ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रेकर्ड गरिएको छ । त्यहाँको औसत वार्षिक अधिकतम तापक्रम ३८.६ डिग्री सेल्सियस रहेको छ ।
त्यसैगरी, सिमरामा जाडोयामको औसत अधिकतम तापक्रम २४.५१ डिग्री र न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ भने औसत वार्षिक अधिकतम तापक्रम ४०.२० डिग्री सेल्सियस रहेको छ ।
तथ्यांकअनुसार तराई–मधेशका विभिन्न क्षेत्रमा जाडोयामको औसत दैनिक अधिकतम तापक्रममा खासै ठूलो भिन्नता देखिँदैन । न्यूनतम तापक्रम सबैभन्दा बढी जनकपुरधाममा र सबैभन्दा कम धनगढीमा रेकर्ड गरिएको छ । जनवरी, फेब्रुअरी र मार्च महिनामा तराई–मधेश क्षेत्रमा अत्यधिक चिसो महसुस हुन्छ ।
सन् १९७१ देखि २०१५ सम्मको ४५ वर्षको अध्ययनले वार्षिक रूपमा चिसो दिनहरूको संख्या औसतमा सबैभन्दा कम धनगढीमा १५.६ दिन र सबैभन्दा बढी नेपालगञ्जमा १७.९ दिन रहेको देखाएको छ । त्यस्तै, औसत वार्षिक चिसो रातहरूको संख्या जनकपुरधाममा १३ दिन र भैरहवामा १७.६ दिन रेकर्ड गरिएको थियो ।
उक्त अध्ययनले नेपालगञ्जबाहेक तराई–मधेशका अधिकांश क्षेत्रमा चिसो दिनहरूको संख्या बढ्दो क्रममा रहेको देखाएको छ । सन् २००६ देखि २०१५ को अवधिमा विराटनगर, जनकपुरधाम, नेपालगञ्ज र धनगढीमा शीतलहरका दिनहरू थपिएका थिए। तराई क्षेत्रमा जनवरी महिनामा शीतलहर सबैभन्दा बढी देखिन्छ ।
औसत रूपमा १९.३ प्रतिशत शीतलहर डिसेम्बरमा, ६८.२ प्रतिशत जनवरीमा र १२.५ प्रतिशत फेब्रुअरीमा रहने अध्ययनको निष्कर्ष छ । अर्को अध्ययनअनुसार वार्षिक औसतमा शीतलहरका दिन सबैभन्दा कम धनगढीमा ११.३ र सबैभन्दा बढी विराटनगरमा १६.१ दिन रहने गरेका छन् ।
कुहिरो, कृषि र जनजीवनमा असर
तराई क्षेत्रमा शीतलहरको प्रभाव डिसेम्बरदेखि देखिए पनि कुहिरो लाग्ने क्रम भने नोभेम्बरदेखि नै सुरु हुन्छ । कुहिरो र शीतलहरका दिनहरूको अध्ययन गर्दा विराटनगरमा करिब ८० प्रतिशत दिनमा यी दुवै समस्या एकसाथ देखिने गरेको पाइन्छ ।
शीतलहर र कुहिरोको प्रभाव मानव स्वास्थ्यमा मात्र सीमित नरही घरपालुवा जनावर, पन्छी तथा कृषिजन्य बालीनालीमा समेत गम्भीर असर पार्ने गरेको छ । विशेषगरी तराई क्षेत्रमा आलु, गोलभेँडा, भन्टा, खुर्सानीजस्ता तरकारी बाली बढी प्रभावित हुने गरेका छन् । गहुँ खेतीसमेत कुहिरोबाट प्रभावित हुने कृषकहरूको अनुभव छ ।
एक अध्ययनअनुसार कुहिरोले आलुमा लाग्ने डडुवा रोगका लागि अनुकूल वातावरण सिर्जना गरिदिन्छ । स्थानीय कृषकहरूका अनुसार आलु रोप्ने समयका आधारमा पनि डडुवा रोगको प्रभाव फरक पर्ने गर्छ । अक्टोबरमा रोपिएका आलुमा नोभेम्बरमा रोपिएकाभन्दा डडुवा रोगको असर कम देखिन्छ । डडुवा रोगका कारण आलु उत्पादन ५० प्रतिशतसम्म घट्ने र कतिपय स्थानमा सम्पूर्ण बाली नै नष्ट भएका उदाहरणहरू छन् ।
केन्द्रीय तथ्यांक विभागको सन् २०१७ को सर्वेक्षणअनुसार तराई–मधेश क्षेत्रमा करिब २४ प्रतिशत घरधुरी शीतलहरबाट प्रभावित हुने गरेका छन् ।
यातायात, शिक्षा र चुनौती
अत्यधिक चिसोका कारण कतिपय अवस्थामा विद्यालय बन्द गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । बाक्लो कुहिरोका कारण दृश्यता अत्यन्तै कम हुँदा सडक तथा हवाई यातायात प्रभावित हुन्छन्, जसले गर्दा सडक दुर्घटनाको जोखिमसमेत बढ्ने गरेको छ ।
शीतलहर र कुहिरोबाट उत्पन्न रोग तथा बाली क्षतिबाट जोगिन कृषकहरूले रासायनिक औषधिको प्रयोग बढाएको देखिन्छ । आलुलाई डडुवा रोगबाट बचाउन अक्टोबरमै बीउ रोप्ने अभ्यास बढ्दो क्रममा छ । भूमिगत सिँचाइ स्रोत—जस्तै इनार र ट्युबवेलको पानी सतही पानीको तुलनामा केही तातो हुने भएकाले शीतलहर र कुहिरोको समयमा त्यस्तो पानीको प्रयोगमा कृषकहरूले जोड दिने गरेका छन् ।
तर, शीतलहर र कुहिरोका बेला मानव जीवन, कृषि, पशुपन्छी र जनजीवनको संरक्षणका लागि राज्यको तर्फबाट ठोस र दीर्घकालीन कार्यक्रम लागू हुन नसकेको स्थानीयवासीहरूको गुनासो कायमै छ ।