मध्यपूर्वमा जारी तनाव र युद्धको प्रभाव विश्व ऊर्जा बजार हुँदै घरायसी भान्सासम्म देखिन थालेको छ । खाना पकाउने एलपी ग्यासको आपूर्ति अवरुद्ध हुने डर र पेट्रोलियम पदार्थको आपूर्ति मार्ग अस्थिर हुँदा विश्वभरका उपभोक्ताहरू विद्युतीय चुलोतर्फ आकर्षित भएका छन् ।
विश्व बजारमा विद्युतीय चुलोको माग तीव्र रूपमा बढेको छ । फ्युचर मार्केट इनसाइड का अनुसार सन् २०२५ सम्म इन्डक्सन चुलोको बजार २३.६ अर्ब अमेरिकी डलर पुगेको थियो भने सन् २०३५ सम्म यो बजार ३७ अर्ब डलरसम्म पुग्ने अनुमान गरिएको छ । यस्तै, इन्फ्रारेड चुलोको बजार सन् २०३३ सम्म २३३ मिलियन अमेरिकी डलरसम्म पुग्ने प्रक्षेपण गरिएको छ ।
ऊर्जा दक्षता, कम ताप उत्सर्जन, सुरक्षित प्रविधि र स्मार्ट किचेन प्रणालीका कारण इन्डक्सन र इन्फ्रारेड चुलोप्रति उपभोक्ताको आकर्षण बढ्दो छ । युद्धका कारण तेल र ग्यासको आपूर्ति श्रृंखला प्रभावित भएपछि यस्ता विद्युतीय उपकरणको माग झनै बढेको हो ।
भारतमा पछिल्लो समय इन्डक्सन चुलोको बिक्री ३० गुणासम्म वृद्धि भएको छ। केही ई–कमर्स प्लेटफर्ममा स्टकसमेत सकिएको छ भने खुद्रा बजारमा बिक्री १० गुणासम्म बढेको छ । ग्यास आपूर्ति संकटका कारण भारतमा दैनिक १५ हजार बिक्री हुने चुलो अहिले १ लाखसम्म पुगेको छ ।
उत्पादनतर्फ पनि उल्लेखनीय वृद्धि भएको छ । भारतका उत्पादकहरूले उत्पादन क्षमता ७० प्रतिशतबाट बढाएर शतप्रतिशत पुर्याएका छन् । चीनमा समेत ग्यास अभावका कारण विद्युतीय चुलोको माग तीव्र बनेको छ ।
जर्मनी, फ्रान्स, नेदरल्याण्ड, अमेरिका, थाइल्याण्ड, भियतनाम र इन्डोनेशियालगायत देशमा पनि विद्युतीय चुलोको प्रयोग उल्लेख्य रूपमा बढेको छ । युद्धपछि भारतमा ८५ प्रतिशत, चीनमा ४० प्रतिशत, अमेरिकामा ७० प्रतिशत, युरोपमा ५० प्रतिशत, जापानमा ४० प्रतिशत, दक्षिण कोरियामा ५० प्रतिशत र दक्षिणपूर्वी एसियामा ६० प्रतिशतले माग वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ ।
हाल एशियामा दैनिक ४ लाख, युरोपमा १ लाख र अमेरिकामा ६० हजारसम्म विद्युतीय चुलो बिक्री भइरहेको छ । माग अत्यधिक बढेपछि मूल्यसमेत वृद्धि भएको छ । युद्धअघि ३,५०० रुपैयाँमा पाइने इन्डक्सन चुलो अहिले ४,५०० रुपैयाँ पुगेको छ । मध्यम स्तरको ७,००० रुपैयाँ पर्ने चुलो ९,००० पुगेको छ भने २०,००० रुपैयाँ पर्ने प्रिमियम मोडेल २५,००० रुपैयाँसम्म पुगेको छ। इन्फ्रारेड चुलोको मूल्य अधिकतम ५०,००० रुपैयाँसम्म पुगेको छ ।
उत्पादनतर्फ चीन, जापान, दक्षिण कोरिया, युरोप र भारत अग्रणी छन् । चीनले माइडिया र हाइयर, जापानले पानासोनिक, दक्षिण कोरियाले सैमसङ, युरोपले बोस्च र इलेक्ट्रोलक्स, तथा भारतले टीटीके प्रेस्टिज, बजाज र बटरफ्लाइ ब्रान्डमार्फत उत्पादन गर्दै आएका छन् । दैनिक उत्पादनमा चीन ३ लाख, भारत ८० हजार र युरोप ३० हजारको हाराहारीमा रहेको छ ।
नेपालमा पनि यस्ता संकटको अनुभव यसअघि भइसकेको छ। वि.सं. २०७२ सालको अघोषित नाकाबन्दीका बेला एलपी ग्यासको अभाव भएपछि इन्डक्सन चुलोप्रति उपभोक्ताको आकर्षण बढेको थियो । त्यसबेला चीन सरकारले अनुदानमा उपलब्ध गराएको चुलो साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत वितरण गरिएको थियो ।
हालको अन्तर्राष्ट्रिय परिस्थितिका कारण नेपालमा पनि ग्यास अभावको समस्या देखिन थालेको छ । ग्यास लिन उपभोक्ताहरूको लामो लाइन देखिन थालेको छ । विज्ञहरूका अनुसार विद्युतीय चुलोको आयातमा कर छुट, प्रयोगमा प्रोत्साहन र स्थानीय उत्पादनमा सहयोग गर्न सके नेपालमा पनि यसको प्रयोग व्यापक हुन सक्छ ।