नेपालमा क्षयरोग (टीबी) अझै पनि प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार क्षयरोग विश्वभर संक्रामक रोगबाट हुने मृत्युका प्रमुख कारणहरूमध्ये एक हो । नेपालले पछिल्ला वर्षहरूमा क्षयरोग नियन्त्रणमा उल्लेखनीय प्रगति हासिल गरे पनि औषधि प्रतिरोधी क्षयरोग (ड्रग–रेजिस्टेन्ट ट्युबरकुलोसिस : डीआर–टीबी) ले स्वास्थ्य प्रणालीलाई थप चुनौती दिइरहेको छ ।
औषधि प्रतिरोधी क्षयरोग भनेको क्षयरोगको उपचारमा प्रयोग हुने पहिलो–लाइन एन्टी–टीबी औषधिले काम नगर्ने अवस्था हो। यस्तो रोगको उपचार लामो, जटिल र खर्चिलो हुने भएकाले बिरामी, परिवार तथा स्वास्थ्य प्रणाली सबैका लागि चुनौतीपूर्ण हुने चिकित्सकहरूले बताएका छन् । समयमै पहिचान र उपचार नभएमा यस्तो रोग अन्य व्यक्तिमा समेत सर्न सक्ने भएकाले यसलाई गम्भीर जनस्वास्थ्य समस्याका रूपमा लिइन्छ ।
मधेश प्रदेश नेपालमै क्षयरोगको उच्च भार भएको प्रदेशका रूपमा देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा नेपालभर ३८ हजार ६०६ जना औषधि–संवेदनशील क्षयरोग (डीएस–टीबी) का बिरामी पहिचान भएकामध्ये ९ हजार ५९६ जना मधेश प्रदेशका थिए । यो संख्या राष्ट्रिय कुलको करिब एक चौथाइ हो, जसले मधेशमा क्षयरोग नियन्त्रणका लागि विशेष प्रयास आवश्यक रहेको देखाउँछ ।
औषधि प्रतिरोधी क्षयरोगको अवस्था अझै चिन्ताजनक छ । सोही आर्थिक वर्षमा नेपालभर ४०० जना एमडीआर/आरआर–टीबी बिरामी उपचारमा दर्ता भएकामध्ये ६४ जना मधेश प्रदेशका थिए । राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्सी सर्भे २०२० अनुसार मधेश प्रदेशमा वार्षिक करिब ३०६ नयाँ डीआर–टीबी बिरामी हुने अनुमान गरिएको छ । तर वास्तविकतामा पहिचान भएका बिरामीको संख्या अत्यन्तै कम रहेको देखिन्छ, जसले समुदायमा अझै धेरै बिरामी पहिचान हुन बाँकी रहेको संकेत गर्छ ।
डीआर–टीबी पहिचानका लागि जीन एक्सपर्ट, कल्चर तथा ड्रग ससेप्टिबिलिटी टेस्ट र लाइन प्रोब एसेजस्ता आधुनिक प्रविधिहरू उपलब्ध भए पनि यी सेवाहरूको पहुँच सबै क्षेत्रमा समान रूपमा पुग्न सकेको छैन। भौगोलिक कठिनाइ, जनचेतनाको कमी, सामाजिक लाञ्छना, आर्थिक अवस्था तथा स्वास्थ्य संस्थासम्मको पहुँच अभावले धेरै बिरामी समयमै परीक्षणबाट वञ्चित हुने अवस्था रहेको छ।
मधेश प्रदेशमा डीआर–टीबी उपचारका लागि पाँच वटा केन्द्र र १६ वटा सब–सेन्टर सञ्चालनमा छन् । ती केन्द्रहरूमा उपचार, परामर्श तथा अनुगमनको व्यवस्था भए पनि सबै सब–सेन्टर पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा बिरामीले सहज सेवा पाउन नसकेको गुनासो छ ।
हालै सम्पन्न आर्थिक वर्ष २०८२/८३ को कोहोर्ट विश्लेषणअनुसार चैत मसान्तसम्म उपचारमा दर्ता भएका ६० जना डीआर–टीबी बिरामीमध्ये ५ जनामा पुनः संक्रमण (रिल्याप्स) देखिएको छ भने ३ जना उपचारबाट छुटेका (लस टु फलोअप) छन् । उपचारबाट बिरामी छुट्नु व्यक्तिगत जोखिम मात्र नभई समुदायमा संक्रमण फैलिने खतरा पनि हुने स्वास्थ्य विज्ञहरूले बताएका छन् ।
विशेषज्ञहरूले सक्रिय बिरामी खोजपडताल कार्यक्रमलाई प्रभावकारी बनाउन, उच्च जोखिम समूहमा नियमित स्क्रिनिङ विस्तार गर्न, आधुनिक परीक्षण सेवाको पहुँच बढाउन तथा समुदायस्तरमा स्वास्थ्य शिक्षा सुदृढ गर्न आवश्यक रहेको बताएका छन् ।
स्वास्थ्य विज्ञहरूका अनुसार क्षयरोग नियन्त्रण केवल स्वास्थ्य क्षेत्रको मात्र नभई सरकार, स्थानीय तह, स्वास्थ्य संस्था, सञ्चारमाध्यम र समुदाय सबैको साझा जिम्मेवारी हो ।