वीरगंज महानगरपालिका–३१ का वडाध्यक्ष जीतेन्द्र यादवले आफ्नो चार वर्षे कार्यकालमा वडाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्न विभिन्न पहल गर्दै आएका छन् । तर, अझै पनि अधिकांश विद्यालयमा अपेक्षित सुधार हुन नसकेको भन्दै स्थानीय अभिभावक तथा सरोकारवालाले गुनासो गर्दै आएका छन् ।
वडा नं. ३१ अन्तर्गत हाल दुई माध्यमिक विद्यालय, दुई निम्न माध्यमिक विद्यालय तथा पाँच प्राथमिक विद्यालय गरी कुल नौ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । तीमध्ये केही विद्यालयमा भौतिक पूर्वाधार, विद्यार्थी सहभागिता र पठनपाठनमा सुधार देखिए पनि धेरै विद्यालयमा शैक्षिक गुणस्तर कमजोर रहेको आरोप लागिरहेको छ ।
विशेषगरी आदर्श बाल विकास आधारभूत विद्यालय बेलवा, उन्नति आधारभूत विद्यालय इस्लामपुर, राम जानकी आधारभूत विद्यालय बेलवा तथा नेपाल रेडक्रस आधारभूत विद्यालय लक्ष्मीपुरमा विद्यार्थी उपस्थितिको तथ्यांकलाई लिएर प्रश्न उठ्दै आएको छ । स्थानीयवासीका अनुसार विद्यालयको हाजिरी रजिस्टरमा १०० देखि ३०० सम्म विद्यार्थी संख्या उल्लेख गरिए पनि कक्षाकोठामा भने न्यून उपस्थिति देखिने गरेको छ । कतिपय दिनमा २० देखि ५० जना विद्यार्थी मात्र उपस्थित हुने गरेको अभिभावकहरूले जनाएको छ ।
स्थानीयले एउटै कक्षाकोठामा कक्षा १ देखि ४ सम्मका विद्यार्थीलाई एकसाथ राखेर अध्यापन गराउने गरिएको समेत आरोप लगाएका छन् । शिक्षक अभाव, कक्षाकोठाको सीमितता तथा कमजोर व्यवस्थापनका कारण पठनपाठन प्रभावित हुने गरेको बताएका छन् । विद्यालयहरूको अवस्थाबारे सञ्चार माध्यममा पटक–पटक समाचार प्रकाशित तथा प्रसारण भएपछि वीरगंज महानगरपालिकाको शिक्षा शाखाले समेत चासो देखाउँदै अनुगमनलाई तीव्र बनाएको छ । केही दिनअघि शिक्षा शाखाकी अधिकृत सृजना बुढाथोकी र शाखा सदस्य हृदयनारायण पटेलले सम्बन्धित विद्यालयहरूको स्थलगत अनुगमन गरेका थिए । अनुगमनपछि सुधारका लागि आवश्यक निर्देशन दिइएको र आवश्यक परे कारबाही प्रक्रिया समेत अघि बढाइने जनाइएको थियो ।
यसैबीच, वडाध्यक्ष जीतेन्द्र यादवले नेपाल रेडक्रस आधारभूत विद्यालय लक्ष्मीपुरमा आकस्मिक अनुगमन गरेका थिए । अनुगमनका क्रममा अनुपस्थित विद्यार्थीहरूको समेत हाजिरी गरिएको भेटिएको उनले दाबी गरेका छन् । साथै विद्यालयका प्रधानाध्यापक लक्ष्मणप्रसाद साह चार दिनदेखि विद्यालयमा अनुपस्थित रहेको उनले बताए ।
वडाध्यक्ष यादवका अनुसार अनुगमनकै क्रममा विद्यालय पुगेका प्रधानाध्यापक साहले अनुपस्थित दिनको समेत हाजिरी गर्न खोजेपछि हाजिरी रजिस्टरमा रातो चिन्ह लगाएर आपत्ति जनाएका थिए । उनले विद्यालय प्रशासनलाई पारदर्शी ढंगले काम गर्न र वास्तविक विद्यार्थी उपस्थितिको विवरण राख्न निर्देशन दिएको बताए ।
यता प्रधानाध्यापक लक्ष्मणप्रसाद साहले आफूमाथि लगाइएका आरोप अस्वीकार गरेका छन् । उनले आफू उपस्थित भएको दिनको मात्रै हाजिरी गर्ने गरेको र विद्यालयमा रहेका विद्यार्थीहरूको वास्तविक संख्या अनुसार नै अभिलेख राखिने गरेको प्रतिक्रिया दिएका छन् । विद्यालयमा शिक्षक अभाव र सीमित स्रोतसाधनका बाबजुद नियमित पठनपाठन सञ्चालन भइरहेको उनको दाबी छ । स्थानीय अभिभावकहरूले भने विद्यालयमा नियमित अनुगमन, शिक्षकको उत्तरदायित्व र शैक्षिक गुणस्तर सुधारमा महानगरपालिकाले थप कडाइ गर्नुपर्ने माग गरेका छन् ।
उनीहरूका अनुसार सरकारी विद्यालयप्रति अभिभावकको विश्वास जोगाउन पारदर्शी व्यवस्थापन र प्रभावकारी शिक्षण आवश्यक रहेको छ ।