नेपालमा पछिल्ला केही वर्षयता प्रेस स्वतन्त्रता हननका घटना तीव्र गतिमा बढ्दै गएका छन् ।
यसका पछाडि राज्यको उदासीनता मात्र होइन, स्वयम् पत्रकारिता क्षेत्रभित्रै फैलिएको दलाल प्रवृत्ति, पार्टीअनुकूल पत्रकारिता र प्रतिस्पर्धाको नाममा गरिने योजनाबद्ध चरित्र हत्या प्रमुख कारक बन्न पुगेका छन् ।
नेपाल पत्रकार महासङ्घको पछिल्लो प्रतिवेदनअनुसार पछिल्लो एक वर्षमा मात्रै ७३ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । तर वास्तविक अवस्था आँकडाभन्दा पनि भयावह छ ।
सञ्चार क्षेत्रका विश्लेषकहरूका अनुसार दल, गुट र नेताको पक्षपोषणमा रमाउने पत्रकारहरूका कारण स्वतन्त्र र पेशागत पत्रकारहरू अझ बढी जोखिममा परेका छन् । समाचार लेख्नासाथ कुनै न कुनै समूहबाट सामाजिक सञ्जालमा ट्रोलिङ, मानसिक यातना, धम्की र कहिलेकाहीँ भौतिक आक्रमणको स्थितिसमेत सिर्जना हुने गरेको छ ।
विशेषगरी भ्रष्टाचार, अनियमितता वा कुनै दल वा नेताको गलत कार्यलाई उजागर गर्ने समाचार सार्वजनिक भएलगत्तै सम्बन्धित पक्ष र उनीहरूका अनुयायीबाट स्वतन्त्र पत्रकारमाथि चरित्र हत्या र सामाजिक बहिष्कार जस्ता गतिविधि बढेका छन् ।
"पत्रकारिता दल वा समूहको आदेशमा होइन, सच्चाइको पक्षमा हुनुपर्छ" भन्ने मूल मान्यता नै कमजोर हुँदै गएको देखिन्छ । यस्ता अवस्थाले स्वतन्त्र पत्रकारहरूमा आत्मसुरक्षाको भावना हराउँदै गएको र स्वस्फूर्त अनुसन्धानमा आधारित रिपोर्टिङ घट्दै गएको चिन्ता पत्रकार महासङ्घ, सम्पादक समाज लगायतका निकायले पनि व्यक्त गर्दै आएका छन् ।
भ्रष्टाचार र अनियमितता उजागर गर्ने पत्रकारहरू 'एजेन्डा पत्रकार' भनेर बदनाम गरिन्छन्, जबकि दल र नेताको हितमा लेख्नेहरूलाई प्रशंसा र पहुँच सहजै मिलिरहेको छ । यसले पत्रकारिताको मूल आत्मा—जनताको पक्षमा निर्भीक रूपमा बोल्ने अधिकार—समाप्त हुने खतरा निम्त्याएको छ ।
न्याय माग्ने पत्रकारमाथि अन्याय
गएको वर्ष चैतमा तीनकुनेमा भएको आन्दोलन कभरेज गर्दा पत्रकार सुरेश रजकको हत्या, शिक्षक आन्दोलनमा पत्रकार सविना कार्कीमाथि भएको दुर्व्यवहार, तथा घरानमा पत्रकार गोपाल दाहालमाथि भएको धम्कीका घटना यही प्रवृत्तिको प्रत्यक्ष उदाहरण हुन् ।
यीमध्ये केही घटनामा दलका कार्यकर्ताहरू, स्थानीय नेताहरू र राज्य संयन्त्र नै संलग्न भएको खुलासा हुँदै गए पनि अहिलेसम्म दोषीहरू कानुनी कठघरामा उभ्याउन नसकिएको महासङ्घको गुनासो छ ।
असुरक्षा बढ्दा स्वतन्त्र आवाज हराउने खतरा
पत्रकारहरूमा उत्पन्न भएको असुरक्षाको वातावरणले लोकतान्त्रिक मूल्य र स्वतन्त्र प्रेसको अस्तित्वमा प्रश्न उठाएको छ ।
स्वतन्त्र पत्रकारिता गर्नेहरू धम्की, राजनीतिक बहिष्कार, मुद्दा तथा हिंसात्मक आक्रमणको जोखिममा परेका छन् । कतिपय स्वतन्त्र पत्रकारहरूले पेशा नै त्यागेको वा देश छोड्नुपरेको अवस्थासमेत देखिएको छ ।
नेपाल पत्रकार महासङ्घका एक केन्द्रीय पदाधिकारी भन्छन्, "पत्रकारलाई शोषण गर्नेहरू आज पत्रकारिताकै नाममा घुमिरहेका छन् । स्वतन्त्र पत्रकार नै असहज र डराउने अवस्थामा छन् । यो लोकतन्त्रको लागि डरलाग्दो संकेत हो ।"
सरकार, दल र पत्रकार संगठनको भूमिका प्रश्नमाथि
प्रेस स्वतन्त्रताको संरक्षण गर्न जिम्मेवार सरकार र दलहरू आफैँले यस्ता प्रवृत्तिलाई प्रोत्साहन दिइरहेको अवस्थामा प्रेस स्वतन्त्रता खोक्रो नारामात्र बन्ने खतरा छ । पत्रकार संगठनहरू पनि दलगत प्रभावबाट मुक्त हुन नसकेको आलोचना हुँदै आएको छ ।
अबको चुनौती भनेको पत्रकारिताभित्रैका असली पत्रकार र ‘दलाल’ प्रवृत्तिका बीच स्पष्ट अन्तर छुट्याउनु र स्वतन्त्र पत्रकारको सुरक्षालाई प्राथमिकता दिनु हो ।
नेपालमा पत्रकारिता केवल लेख्ने काम होइन, ज्यानको जोखिममा गरेर सच्चाइ बोलेको मूल्यवान् संघर्ष हो । यस संघर्षलाई जीवित राख्न स्वतन्त्र पत्रकारिताको रक्षा आजको सबैभन्दा ठूलो आवश्यकता बनेको छ ।