नेपालमा सबैभन्दा धेरै कुष्ठरोगका नयाँ बिरामी मधेस प्रदेशमा फेला परेका छन् ।
बिहीबार काठमाडौंमा सम्पन्न ‘कुष्ठरोग निवारणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले प्रस्तुत गरेको विवरण अनुसार, आर्थिक वर्ष २०८०/८१ मा देशभर २,४७२ जना नयाँ कुष्ठरोगी फेला परेका थिए, जसमध्ये एक तिहाइभन्दा बढी मधेस प्रदेशमा मात्र छन् ।
दोस्रो सबैभन्दा बढी रोगी लुम्बिनी प्रदेशमा छन्, जहाँ कुल केसको एक चौथाइभन्दा बढी रहेका छन् । कोशी प्रदेश पनि रोगको उच्च भार रहेको प्रदेशको सूचीमा पर्छ ।
सचिव देवकोटाका अनुसार २ हजार ४ सय ७२ जना नयाँ बिरामीमध्ये महिलाको संख्या १ हजार ४२ जना छ भने १४ वर्ष मुनिका बिरामी १ सय ३६ जना छन् । उनले सबै बिरामी उपचारको पहुँचमा रहेको जानकारी दिँदै भने, “हाल पहिचान भएका सबै कुष्ठरोगका बिरामीहरू औषधोपचारमा छन् । कुष्ठरोग निवारणका लागि आवश्यक मापदण्ड अनुसार जनसंख्या १० हजारमा एक जना भन्दा कम बिरामी हुनु जरुरी छ ।”
उनका अनुसार, २०७६ मा नेपालले कुष्ठरोग उन्मूलनको राष्ट्रिय घोषणा गरिसकेको भए पनि हालसम्म पूर्ण नियन्त्रणमा आएको छैन । २०७६ को घोषणापछि केही वर्ष महामारी र प्राथमिक स्वास्थ्य सेवाको कमजोर विस्तारका कारण नयाँ केस पहिचानमा चुनौती देखिएको थियो । तर पछिल्ला वर्षमा सरकारले ‘एक्टिभ केस फाइन्डिङ्ग’, समुदायस्तरीय सचेतना कार्यक्रम, र उपचार पहुँचको विस्तार जस्ता उपाय अपनाउँदै आएको छ ।
अहिले राष्ट्रिय प्रकोप दर ०.९२ प्रति १० हजार जनसंख्या रहेको भए पनि जिल्लागत विवरण हेर्दा ७७ मध्ये १८ जिल्लामा प्रकोप दर एक भन्दा माथि, ४८ जिल्लामा एक भन्दा कम, र ११ जिल्लामा कुनै पनि नयाँ बिरामी फेला नपरेको देवकोटाले जानकारी दिएका छन् ।
विश्व स्वास्थ्य संगठन (WHO) का प्रतिनिधि, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय कुष्ठरोग विशेषज्ञहरूको सहभागिता रहेको सो सम्मेलनमा दीर्घकालीन रणनीति, दागरहित उपचार, र समुदायमा कुष्ठरोग पीडितप्रति हुने विभेद हटाउने उपायहरूबारे छलफल भएको थियो ।