तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीको नेतृत्वमा आएको अध्ययन टोलीले वीरगंज महानगरपालिकाको न्यायिक समिति तथा नगरको विकास अवधारणासम्बन्धी कामकारबाहीबारे जानकारी लिएको छ ।
वीरगंज महानगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक इम्तियाज आलमसँग भएको छलफलमा दुवै नगरबीच अनुभव आदानप्रदान गरिएको हो । छलफलमा उपप्रमुख आलमले वीरगंज महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका न्यायिक समितिका मुद्दा समाधान प्रक्रिया, मेलमिलापमार्फत विवाद व्यवस्थापन, तथा समन्यायपूर्ण न्याय प्रणालीको अभ्यासबारे टोलीलाई जानकारी गराएका थिए । उनले न्यायिक समितिले अधिकांश साना विवादहरू सामजिक मेलमिलाप र संवादमार्फत टुंग्याउने कार्य सफलतापूर्वक गरिरहेको उल्लेख गरे ।
त्यस्तै, ‘उज्यालो वीरगंज, सफा वीरगंज’ अभियानबारे पनि टोलीलाई विस्तृत जानकारी दिइएको थियो । उपप्रमुख आलमले वीरगंजलाई प्राकृतिक, धार्मिक र पर्यटकीय नगरीको रूपमा विकास गर्ने उद्देश्यसहित महानगरले विभिन्न मठमन्दिर, गुम्बा, चिडियाखाना, पार्कहरूमा सौन्दर्यकरण कार्य अघि बढाएको बताए । “धेरैजसो संरचनाको विकास सम्पन्न भइसकेको छ भने बाँकी योजनाको डिपिआर (DPR) तयार भइसकेको छ”, उपप्रमुख आलमले बताए ।
तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख चौधरीले तुलसीपुरमा न्यायिक समितिको कामकाज, मेलमिलाप प्रक्रिया, तथा जनतासँगको सम्बन्धबारे आफ्ना अनुभवहरू पनि साझा गरिन् । उनले वीरगंज महानगरको अभियान र न्यायिक समितिको अभ्यास सराहनीय रहेको बताउँदै यस्ता कार्यक्रमहरूले स्थानीय तहहरूबीच आपसी सहकार्य र सिकाइ प्रवर्द्धन गर्ने धारणा राखिन् ।
छलफल कार्यक्रममा तुलसीपुर उपमहानगरका न्यायिक समिति सदस्य देवी पोख्रेल, लालमति भण्डारी, वीरगंज महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख प्रतिज्ञा बैठा, सामान्य प्रशासन महाशाखा प्रमुख सुनिल कर्ण, न्यायिक समितिका उजुरी प्रशासक धनबहादुर थापालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको समन्वय वीरगंज उपप्रमुखका प्रेस सल्लाहकार महमद सदाबले गरेका थिए ।
स्थानीय तहबीचको यस्ता अनुभव आदानप्रदान तथा सहकार्यले न्यायिक प्रणाली सुदृढ गर्दै पारदर्शिता र उत्तरदायित्वमा आधारित प्रशासन निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।