पित्तथैलीको शल्यक्रियापछि चार महिनासम्म होसमा नआएकी सर्लाहीकी २५ वर्षीया पविता यादवको उपचारमा लापरबाही भएको आरोपमा उनका परिवारले जनकपुरधामस्थित एक निजी अस्पतालका सञ्चालकसहित पाँचजनाविरुद्ध जाहेरी दिएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–१४, पीडारी चोकमा दर्ता विना सञ्चालनमा रहेको मुस्कान अस्पताल, त्यसका सञ्चालक, शल्यक्रिया गर्ने चिकित्सक डा. ज्ञानकुमार साह, उपचारमा संलग्न एनएस थेसिया, र सूर्या अल्ट्रासाउण्डका सञ्चालक सुशील यादवलाई प्रतिवादी बनाई जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिइएको हो ।
पीडित पविताका बुबा ब्रह्मदेव यादवले जेठ १ गते उजुरी दर्ता गराएका हुन् । उनका अनुसार माघ ३ गते जनकपुरस्थित मुस्कान अस्पतालमा पित्तथैलीको पत्थरी हटाउने शल्यक्रिया गरिएपछि पविता अहिलेसम्म होसमा आएकी छैनन् ।
बिना अनुमति सञ्चालन, गम्भीर लापरबाहीको आरोप
ब्रह्मदेव यादवका अनुसार मुस्कान अस्पताल स्वास्थ्य सहायक कमल राइनले आफ्नी श्रीमतीको नाममा बिना अनुमति खोलेको अस्पताल हो । अस्पतालमा कुनै चिकित्सकीय प्रमाणपत्र वा सरकारी अनुमति नलिइ सञ्चालन भइरहेको जनाइएको छ ।
पित्तथैलीमा पत्थरी देखिएपछि सूर्या अल्ट्रासाउण्डका सञ्चालक सुशील यादवले पवितालाई प्रलोभनमा पारेर मुस्कान अस्पताल लैजान बाध्य पारेका थिए । शल्यक्रिया सम्पन्न भएपनि पविता होसमा नआएपछि भेन्टिलेटरमा राखिएको र चिकित्सक डा. साहले सुरुवातमा सबै ‘ठिक छ’ भन्दै झुक्याउने प्रयास गरेको आरोप जाहेरीमा उल्लेख छ ।
तीन दिनपछि सिटी स्क्यान गराउँदा रिपोर्ट पढ्ने चिकित्सक अस्पतालमा नभएको र त्यसले लापरबाही पुष्टि गरेको पविताका परिवारले बताएका छन् । त्यसपछि उनलाई जानकी हेल्थ केयर लगिएको थियो तर थप उपचार सम्भव नभएको भन्दै माघ २९ गते काठमाडौंस्थित केएमसी अस्पताल ल्याइएको थियो । पविता हाल पनि अचेत अवस्थामा केएमसी अस्पतालमै उपचाररत छिन् ।
३० लाख क्षतिपूर्ति र कारबाहीको माग
पविताका बुबा ब्रह्मदेव यादवले जाहेरीमार्फत दोषीहरूमाथि कारबाही गर्न, हालसम्म उपचारमा खर्च भएको ३० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउन र थप उपचारको जिम्मा लिन माग गरेका छन् ।
मंगलबार उनी, पविताका श्रीमान अंगेश यादव र आफन्त विरेन्द्र अधिकारी जिल्ला प्रहरी कार्यालय धनुषा पुगेर जाहेरीको प्रक्रिया बुझ्न पुगेका थिए । प्रहरी अधिकारीले उक्त घटना गम्भीर प्रकृतिको भएकाले नेपाल मेडिकल काउन्सिललाई समेत अनुसन्धान प्रतिवेदन पठाउने विषयमा छलफल भइरहेको बताएका छन् ।
कमजोर आर्थिक अवस्थाका पविताका श्रीमान अंगेश भारतमा मजदुरी गर्थे । श्रीमतीको अवस्था गम्भीर भएपछि घर फर्किएका उनले थोरै घरघडेरी धितो राखेर र गाउँबाट ऋण लिएर १० लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको बताए । “अब कसैले ऋण दिन्न । दुई साना बच्चालाई साँझबिहान खुवाउन गाह्रो छ । कहिले काँही बिस्कुट खुवाएर सुताउनु पर्छ,” अंगेशको गहभरिएको पीडा थियो । केएमसी अस्पतालमा हालसम्म १९ दिनदेखि कोही कुरुवा छैन । श्रीमती उपचारमा, श्रीमान आर्थिक संकटमा, र बच्चाहरू भोकभोकै बस्न बाध्य छन् ।
धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले घटनालाई गम्भीर र जटिल भएको भन्दै मधेश प्रदेशका मुख्यमन्त्रीसँग समन्वय गरी कारबाही प्रक्रिया अघि बढाउने जानकारी दिएका छन् ।
भिडियाे सामाग्री