हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक पर्व नाग पञ्चमी देशभर पूजाआजा गरी श्रद्धाका साथ मनाइँदैछ । नाग पञ्चमी नेपाल मात्र होइन, भारत, बंगलादेश, श्रीलंका लगायत दक्षिण एशियामा पनि मनाइन्छ ।
हिन्दू पंचाङ्गअनुसार श्रावण शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यो पर्वमा सर्पहरूको पूजा गरिन्छ । यस दिनलाई सर्पदेवताको सम्मानमा मनाइने दिनका रूपमा लिइन्छ, जसमा विशेषगरी शेषनाग, बासुकी, तक्षक, कर्कोटक, पद्म, महापद्म, धनञ्जय, कुलिक, ऐरावत लगायतका नौ नागदेवताको पूजा गरिन्छ ।
पौराणिक सन्दर्भ र महत्व
धार्मिक ग्रन्थहरूका अनुसार नाग पञ्चमीको उत्पत्ति कथासँग सम्बन्धित एक प्रसिद्ध किम्बदन्ती छ । कथाअनुसार एकपटक एक कृषकले खेत जोत्ने क्रममा नाग मारिदिए । त्यसको बदला लिन आएका नागहरूले उक्त कृषक परिवारका सबै सदस्यलाई डसे। पछि एउटी बहिनीले नागदेवताको पूजा गरी क्षमा माग्दा नागहरूले परिवारका सदस्यहरूलाई पुनः जीवित गरिदिएको विश्वास गरिन्छ । त्यस दिन श्रावण शुक्ल पञ्चमी परेको हुनाले यस दिन नागदेवताको पूजा गरि न्छ।
पूजाको विधि र परम्परा
आजको दिन घरको मूल ढोका, टाटी, लिंटेल तथा पूजा कोठामा नागको चित्र टाँस्ने चलन छ । नागका प्रतीक स्वरूप गोबर वा रङ्गको चित्र बनाई त्यसमा दूध, अक्षता, दुबो, लावा, दही, फूल आदिले पूजाआजा गरिन्छ । नागपोखरी, टौदह, बौद्ध, गोखर्णेश्वर, मछेगाउँ, लगायतका स्थानहरूमा नाग देवताको मन्दिरमा श्रद्धालुहरूको भीड लाग्ने गर्छ । विशेषगरी टौदहको नाग मन्दिरमा पूजारीद्वारा विशेष पूजा सम्पन्न हुन्छ ।
वर्षासँगको सम्बन्ध
नाग पञ्चमीलाई वर्षासँग पनि गहिरो सम्बन्ध रहेको मानिन्छ । नागलाई जलका रक्षक तथा वर्षा देवता इन्द्रसँग सहयात्री मानिन्छ । नाग पञ्चमीको पूजा गर्दा सर्पदंशको भय कम हुने, वर्षा समय मै हुने र भूमि उर्वर हुने विश्वास गरिन्छ ।
विज्ञान र लोकविश्वासको समन्वय
नेपालमा वर्षे बाढी, डुबान र सर्पदंशको जोखिम हुने भएकाले नाग पञ्चमीलाई सर्पप्रतिको सहअस्तित्वको प्रतीकका रूपमा पनि हेरिन्छ । विषालु प्राणीप्रति डर होइन, सम्मान र सहजीवनको सन्देश दिन यस पर्वले भूमिका खेलिरहेको विज्ञहरूको भनाइ छ ।
भिडियाे सामाग्री