जुम्ला — ‘कोइ सुन्दैन, कोइ सुन्दैन कर्णाली रोयाको आवाज’ भन्ने विरही भाका गुञ्जिरहँदा हृदयेन्द्र शाहको अनुहार शान्त र सौम्य देखिन्थ्यो ।
उनी कर्णालीको पीडा होइन, सौन्दर्य देख्न आएका थिए — ‘लुकेको स्वर्ग’को खोजीमा । दरबारको वातावरणमा हुर्किएर विशिष्ट परिवेशमा रहँदै आएका हृदयेन्द्र शाह यसपटक फरक शैलीमा आम समाजमा देखिए । न त भव्य स्वागत थियो, न त कडा सुरक्षा घेरा ।
जुम्लाको सामान्य गोरेटोमा उनी सर्वसाधारण झैं हिँडे, स्थानीयसँग हाँसे, बोलचाल गरे ।
कर्णालीको काखमा सामान्य मान्छे जस्तै
बारम्बार चर्चामा रहने तर समाजसँग कमै साक्षात्कार गरिरहेका हृदयेन्द्र शाह यसपटक आफ्नो युट्युब च्यानलमार्फत ‘लुकेको स्वर्गको खोजी : जुम्लाको यात्रा हृदयेन्द्रसँग’ शीर्षकको भ्लग लिएर दर्शक माझ आएका छन् ।
उक्त भ्लगमा उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि सिँजा उपत्यका, रारा ताल, गोरेटो डाँडाहरू हुँदै स्थानीय बजारसम्म घुमेका छन् । एक स्थानीय पञ्चकली बुढासँग उनले आत्मीय भलाकुसारी गरे, साना पसलहरूमा पस्दा दूधकफी र चिज केक खाए, स्थानीय युवासँग एनिमे चर्चा गरे ।
राजसी व्यवहार होइन, सरल आत्मीयता
स्थानीयले जिजुबाजेको पालामा बनेका शैक्षिक संस्थाबारे जानकारी दिँदा उनी चासो देखाए । ‘यहाँ कति विद्यार्थी छन् ?’ भन्ने प्रश्नदेखि ‘पछिल्लोपटक फेरि आउनेछु’ भन्ने आश्वासनसम्म उनले बोलेका हरेक वाक्य सरल, सन्तुलित र आत्मीय देखिन्थे । एक युवाले उनलाई एनिमेप्रति चासो देखाउँदा उनले मुस्कुराउँदै भने, ‘यो वान पिस हो, म पनि हेर्छु ।’ यिनै संवादहरूले दरबारमा जन्मिए पनि उनी सर्वसाधारण जीवनप्रति सजग रहेको संकेत गर्छन् ।
राजा बन्ने कि हिरो ?
केहीले उनलाई राजा बनाउनु पर्ने तर्क गर्छन्, कोही उनलाई युवापुस्ताको आइकन (हिरो) मान्छन् । तर उनी आफैं के बन्न चाहन्छन् भन्ने प्रश्न अनुतरित छ । यद्यपि, जुम्लाको चिसो पानीमा खुट्टा चोप्लिँदा, स्थानीय बजारमा हाँस्दै हिंड्दा र गाउँलेहरूसँग सहज संवाद गर्दा उनी राजा होइन, जनताको हिरोझैं देखिए ।
पञ्चकलीको प्रश्न र उनको उत्तर
पञ्चकली बुढाले उनलाई सोधिन्, ‘हाम्रो देश कहिले समृद्ध होला ?’
हृदयेन्द्रले संक्षिप्त तर अर्थपूर्ण उत्तर दिए, ‘मान्छेले राम्रो काम गर्यो भने, सबै कुरा राम्रो चल्यो भने त हुन्छ होला । अलिकित हामी पनि लाग्नुपर्यो, आँट गर्नुपर्यो ।’ कर्णाली देखाउन गएका हृदयेन्द्रले धेरैलाई आफू देखाए । उनी जतिसुकै दरबारको सन्तान हुन्, समाजले उनलाई अब विशेष होइन, जिम्मेवार नागरिकका रूपमा पनि हेर्न थालेको छ ।
सहजतासाथ प्रस्तुत भएको उनको यो यात्रा धेरैका लागि अनुकरणीय बन्न सक्नेछ ।