भारतीय चलचित्र क्षेत्रमा नसीरुद्दीन शाह परिपक्व र अनुभवी कलाकारका रूपमा चिनिन्छन् ।
अभिनयको अलावा उनी समाज, राजनीति र सिनेमाबारे खुलेर बोल्ने स्वभावका कारण पनि चर्चामा रहँदै आएका छन् । हालै ७५ वर्ष पूरा गरेका शाहले आफ्नो जीवनका ५० वर्ष चलचित्र क्षेत्रमा बिताइसकेका छन् ।
उत्तर प्रदेशको बाराबन्कीमा जन्मिएका शाहको बाल्यकालमा आफ्ना बुबासँग सम्बन्ध खासै मधुरो रहेन । आत्मकथा एन्ड देन वन डे मा उनले बुबाबारे लेख्दै आफूले भनेको करियर नअपनाएको कारण मतभेद भएको उल्लेख गरेका छन् । तर आमासँग भने उनको गहिरो सम्बन्ध थियो । शाहले पद्म पुरस्कार पाउँदा आमासँगै राष्ट्रपति भवन पुगेको क्षणलाई जीवनकै शान्त स्मृति मानेका छन् ।
अलीगढ विश्वविद्यालयमा अध्ययनरत बेला शाहले आफूभन्दा करिब १५ वर्ष जेठी परवीन मोरादसँग विवाह गरेका थिए । तर छोरी हिबाको जन्मपछि उनीहरूको सम्बन्ध बिग्रँदै गयो । यसबारे उनले आफ्नै जीवनीमा स्पष्ट उल्लेख गरेका छन् ।
शाहले नेसनल स्कूल अफ ड्रामामा अध्ययन गरे पनि पछि पुणे फिल्म इन्स्टिच्युटमा गएर अभिनयलाई निरन्तरता दिए । सोही क्रममा श्याम बेनेगलको फिल्म निशान्त (१९७५) बाट बलिउड यात्रामा प्रवेश गरेका उनले मन्थन, भूमिका, स्पर्शु, अल्बर्ट पिन्टोको गुस्सा क्यों आता है, मण्डी, जुनून, उमराव जान, पार जस्ता कलात्मक फिल्ममा दमदार अभिनय प्रस्तुत गरे ।
सन् १९८३ मा आएको मासूम उनका लागि करियरकै Turning Point मानिन्छ । निर्देशक शेखर कपुरका अनुसार, उक्त फिल्ममा शाहको अभिनय यति ताजा छ कि आज पनि दर्शकले त्यसलाई नयाँ अनुभव गर्ने गर्छन् ।
स्पेन्सर ट्रेसीबाट प्रभावित शाहले आफूमा ‘फिल्म स्टार’ को जस्तो अनुहार नभए पनि अभिनयले सबैलाई आकर्षित गर्न सकिन्छ भन्ने आत्मविश्वास पाएका थिए । त्यसपछि उनले कलात्मक फिल्मसँगै व्यावसायिक फिल्महरूमा पनि सफलता हात पारे । त्रिदेव, मोहरा, चमत्कार, चाइना गेट, डर्टी पिक्चर र जिन्दगी न मिलेगी दोबारा उनका व्यावसायिक सफल फिल्महरू हुन् ।
५० वर्ष लामो यात्रामा शाहले भारतीय सिनेमालाई विशिष्ट योगदान दिएका छन् । कलाकार मात्र नभई समाज र राजनीतिमा पनि स्पष्ट धारणा राख्ने उनको विशेषता आज पनि प्रशंसा गरिन्छ ।
भिडियाे सामाग्री