नेपालमा प्राणघातक निपाह भाइरसको सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै महामारी तथा रोग नियन्त्रण महाशाखाले देशभरका अस्पतालहरूलाई सतर्क रहन निर्देशन दिएको छ । महाशाखाले निपाह भाइरसको लक्षण देखिएका बिरामी र त्यस्ता लक्षणबाट मृत्यु भएका व्यक्तिबारे अस्पतालले जानकारी दिनुपर्ने व्यवस्था मिलाएको छ ।
भारतको पश्चिम बंगाल राज्यमा हालै संक्रमणका घटना देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको हो । पश्चिम बंगालमा एक साताभित्र कम्तिमा पाँच व्यक्तिमा निपाह भाइरस संक्रमण देखिएको छ भने झन्डै १ सय जनालाई क्वारेन्टाइनमा राखिएको भारतीय मिडियाले जनाएका छन् ।
महाशाखाका डा. अमृत पोखरेलका अनुसार, “निपाह भाइरस संक्रमण भएका मानिसहरु सीमा नाका हुँदै नेपाल आउन कम सम्भावना छ । प्रायः संक्रमित व्यक्तिहरु गम्भीर अवस्थामा हुने र लामो दूरीको यात्रा गर्न नसक्ने भएकाले बिरामीहरु सिधै अस्पताल पुग्ने सम्भावना बढी छ । हामीले अस्पताल तथा सीमा नाकामा हेल्थ डेस्कलाई सतर्क रहन भनेका छौं ।”
निपाह भाइरसका लक्षण र जोखिम
विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार निपाह भाइरस लागेका व्यक्तिमा ३–१४ दिनभित्र लक्षणहरू देखा पर्न सक्छन् । मुख्य लक्षणमा ज्वरो, टाउको दुख्ने, खोकी, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या, मस्तिष्क सुन्निने समस्या र गम्भीर अवस्थामा दुविधा, थकान, सिजर समावेश छन् । केही घटनामा बिरामी २४–४८ घण्टामा कोमामा पुग्नसक्ने जोखिम रहन्छ ।
WHO का अनुसार निपाह भाइरसको मृत्यु दर ४०–७० प्रतिशतसम्म हुन सक्छ । डाक्टरहरूका अनुसार यो भाइरस कोरोना भाइरसको तुलनामा धेरै प्राणघातक छ । प्रायः संक्रमित जनावर—विशेषगरी चमेरो र सुँगुर—मार्फत मानिसमा फैलिन्छ । संक्रमित जनावरको मासु वा चमेरोबाट पनि भाइरस सर्न सक्छ ।
इतिहास र घटनाक्रम
सन् १९९९ मा पहिलोपटक निपाह भाइरसको पहिचान मलेसिया र सिंगापुरमा भएको थियो । भारतको पश्चिम बंगालमा सन् २००१ मा फैलिएको महामारीमा ६६ जना संक्रमित भएका थिए, जसमा ४५ जनाको मृत्यु भएको थियो। सन् २००७ मा फेरि पाँच जना संक्रमितमध्ये सबैको मृत्यु भएको थियो । सन् २०१८ मा केरलामा यस भाइरसले १७ जनाको ज्यान लिएको थियो ।
नेपालमा जोखिम र तयारी
शुक्रराज ट्रपिकल तथा संक्रामक रोग अस्पताल काठमाडौंस्थित क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनका अनुसार, “यस भाइरसको प्रारम्भिक होस्ट चमेरो र सुँगुर हुन्, जुन नेपालमा पाइन्छ । मानिसबाट मानिसमा पनि सर्न सक्छ । भारतसँग साझा सीमाका कारण जोखिम बढेको छ ।”
अहिलेसम्म निपाह भाइरसको कुनै निश्चित उपचार उपलब्ध छैन। स्वास्थ्यकर्मीहरूले लक्षण अनुसार बिरामीको उपचार र व्यवस्थापन गरिरहेका छन् ।
नेपालमा निपाह भाइरस फैलनबाट रोक्न स्वास्थ्य महाशाखा, अस्पताल र सीमा नाकामा सतर्कता कायम गरिएको छ ।