नेपालमा पाइने रैथाने हात्तीको प्रमुख वासस्थान मानिएको पर्सा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । प्राकृतिक सुन्दरता र जैविक विविधताले भरिपूर्ण यस निकुञ्जमा विशेषगरी स्वदेशी तथा छिमेकी मुलुक भारतका पर्यटकको आगमन बढेको हो ।
सरकारले पर्यटकीय सम्भावना र पूर्वाधार विकासलाई आधार मानेर वि.सं. २०७४ सालमा यसलाई नेपालको १२औँ राष्ट्रिय निकुञ्जको रूपमा घोषणा गरेको थियो । पर्सा, बारा र मकवानपुर जिल्लामा फैलिएको निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकका लागि खुला गरिएको छ ।
निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतका अनुसार पछिल्ला वर्षहरूमा पर्यटक आगमनमा वृद्धि भएको छ । “पहिलाको तुलनामा अहिले आन्तरिक तथा भारतका पर्यटक बढी आउने गरेका छन्,” उनले भने, “बाह्यभन्दा आन्तरिक पर्यटकको सङ्ख्या उच्च छ ।”
चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा ४१३ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । तीमध्ये १४ जना सार्क राष्ट्रका र एक जना अन्य मुलुकका विदेशी पर्यटक रहेका छन् । औसतमा वार्षिक करिब एक हजार पर्यटक आउने गरेको बताइएको छ । विशेषगरी कात्तिकदेखि चैतसम्म पर्यटकको चहलपहल बढी हुने र वर्षायाममा घट्ने गरेको जानकारी दिइएको छ ।
निकुञ्जभित्र ऐतिहासिक तथा धार्मिक महत्वका माया मन्दिर र दुग्धेश्वर महादेव मन्दिर रहेका छन्। यसका साथै कामिनी दह, हलखोरिया दह र लौकी दहजस्ता प्राकृतिक दहहरू पर्यटकका प्रमुख आकर्षण हुन् । हरियाली वातावरण र वन्यजन्तुको अवलोकनले पर्यटकलाई लोभ्याउने गरेको स्थानीयहरू बताउँछन् । यहाँ आउने पर्यटकहरूले जङ्गल सफारी तथा हात्ती सफारीको अनुभव लिने गर्छन् ।
पानीको अभाव समाधान गर्न निकुञ्जभित्र विभिन्न स्थानमा कृत्रिम पोखरी निर्माण गरी ट्याङ्करबाट पानी उपलब्ध गराइएपछि वन्यजन्तुको सङ्ख्या बढेको छ । पछिल्लो गणनाअनुसार निकुञ्जमा पाटेबाघको सङ्ख्या ४१ पुगेको छ ।
६२७.३९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा पाटेबाघ, भालु, गैँडा, हात्ती, चितुवा, जङ्गली कुकुर, नीलगाई लगायत ३७ प्रजातिका स्तनधारी जनावर पाइन्छन् । साथै, ४९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतलीहरूको समेत वासस्थान रहेको छ ।
पर्यटकको सहज अवलोकनका लागि निकुञ्जभित्र करिब एक दर्जन भ्यु टावर निर्माण गरिएका छन् । हात्ती सफारीका लागि हात्तीसारमा हात्तीको व्यवस्था गरिएको छ भने निजी सवारीमार्फत जिप सफारीको सुविधा पनि उपलब्ध छ ।
प्रवेश शुल्कअन्तर्गत नेपाली नागरिकका लागि रु १००, सार्क मुलुकका नागरिकका लागि रु ७५० र अन्य विदेशीका लागि रु १५०० तोकिएको छ । जिप सफारीका लागि रु २५०० र गाइडका लागि वार्षिक रु १५०० शुल्क निर्धारण गरिएको छ ।
निकुञ्ज प्रशासनले मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार विस्तार तथा प्रचारप्रसारलाई प्राथमिकतामा राखेको जनाएको छ ।