नेपाल–भारत सीमामा गरिएको कडाइका कारण सीमावर्ती भारतीय बजार रक्सौलमा नेपाली ग्राहकको आवतजावत घटेको छ भने नेपाली बजारमा किनमेल गर्ने ग्राहकको संख्या बढ्न थालेको छ ।
सरकारले वैशाख २ गतेदेखि सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार शुल्क लाग्ने व्यवस्था कडाइका साथ लागू गरेपछि सीमाक्षेत्रको व्यापारिक गतिविधिमा प्रत्यक्ष असर परेको हो । यसअघि वीरगंज, जीतपुरसिमरा, पथलैया, निजगढ, हेटौँडा, नारायणगढ, पोखरा र काठमाडौँसम्मका उपभोक्ता किनमेलका लागि रक्सौल पुग्ने गर्थे । तर अहिले निगरानी कडा भएसँगै रक्सौल बजार सुनसानजस्तै बनेको व्यापारीहरू बताउँछन् ।
रक्सौलमा नेपाली उपभोक्ताले खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक्स सामग्री, कृषि सामग्री, मल तथा बिउबिजन किन्ने गरेका थिए । खुला सीमा र कमजोर निगरानीका कारण दैनिक हजारौँ उपभोक्ता त्यहाँ पुग्ने गरेका थिए ।
सीमामा कडाइ बढेपछि अनौपचारिक व्यापार र सानो परिमाणमा हुने सामान ढुवानी उल्लेख्य रूपमा घटेको छ । यसले रक्सौलका व्यापारीहरू प्रभावित भएका छन् भने नेपाली ग्राहकमा निर्भर व्यवसायीहरू आर्थिक संकट झेल्न बाध्य भएका छन् ।
यता, वीरगंजका व्यवसायीहरूले भने भन्सार कडाइलाई सकारात्मक रूपमा लिएका छन् । स्थानीय किराना व्यवसायी कृष्णकुमार साहका अनुसार पहिले सस्तो सामानको खोजीमा ग्राहक रक्सौल जाँदा धेरै पसल बन्द हुने अवस्था आएको थियो, तर अहिले बिक्रीमा सुधार देखिएको छ ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले भने यस्तो व्यवस्था व्यवहारिक बनाउन आवश्यक रहेको बताउँदै सीमाक्षेत्रका लाखौँ मानिसको जीविकोपार्जनसँग जोडिएको विषय भएकाले दीर्घकालीन समाधान खोज्नुपर्ने बताए । संघका सचिव प्रेमचन्द्र गोयलले भन्सार कडाइ सकारात्मक भए पनि नेपालमै वस्तुको मूल्य प्रतिस्पर्धी बनाउनुपर्ने धारणा राखे । “नेपालमा मूल्य धेरै हुँदा उपभोक्ता सस्तो बजारतर्फ आकर्षित हुन्छन्,” उनले भने ।
नारायणी मेसिनरी ट्रेडर्सका सञ्चालक किशन अग्रवालले वैध कारोबार गर्ने व्यवसायीका लागि यो निर्णय दीर्घकालीन रूपमा लाभदायक हुने बताए । सशस्त्र प्रहरी बलले भने घरायसी प्रयोजनका सामानमा सहजीकरण गरिएको र मुख्य रूपमा व्यापारिक प्रयोजनका सामग्रीमा कडाइ गरिएको स्पष्ट पारेको छ ।
यद्यपि, वीरगंज बजार पनि आन्तरिक कारणले प्रभावित बनेको छ । वैशाख ६ गतेदेखि सडक विस्तारका क्रममा डोजर चलाइएपछि बजार क्षेत्र अस्तव्यस्त बनेको छ । यसले केही व्यापारी विस्थापित भएका छन् भने केहीले अस्थायी रूपमा व्यापार सञ्चालन गरिरहेका छन् ।