घरेलु बजारमा चिनीको आपूर्ति सुनिश्चित गर्न र मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले भारतले चिनी निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको छ ।
विश्वका प्रमुख चिनी उत्पादकमध्ये एक भारतले सेप्टेम्बरको अन्त्यसम्मका लागि निर्यात रोक्ने निर्णय गरेको हो । भारतीय सरकारले बुधबार राति जारी गरेको आदेशअनुसार यो प्रतिबन्ध तत्काल प्रभावबाट लागू भएको छ । आदेशमा सीमित अपवादबाहेक चिनी निर्यात रोकिएको उल्लेख गरिएको छ । यसअघि नै निर्यात प्रक्रियामा रहेका केही कन्साइनमेन्टलाई भने छुट दिइने जनाइएको छ । साथै, अन्य मुलुकसँग खाद्य सुरक्षा सम्बन्धी सरकारी सम्झौता अन्तर्गत हुने निर्यातलाई अनुमति दिइने स्पष्ट पारिएको छ ।
नयाँ व्यवस्था आगामी सेप्टेम्बर ३० सम्म कायम रहनेछ । भारतले यो निर्णय आगामी चिनी उत्पादन सिजनलाई लिएर बढ्दो चिन्ताबीच गरेको हो । अक्टोबरबाट सुरु हुने नयाँ उत्पादन सिजन एल निनो मौसमी प्रभावका कारण प्रभावित हुन सक्ने अनुमान गरिएको छ । मौसमविद्हरूले औसतभन्दा कम मनसुन हुने सम्भावना औँल्याएपछि सरकारले आपूर्ति संकटबाट जोगिन अग्रिम कदम चालेको बताइएको छ ।
एल निनोका कारण वर्षा कम भएमा उखु उत्पादनमा प्रत्यक्ष असर पर्ने र त्यसले चिनी उत्पादन घटाउन सक्ने आशंका गरिएको छ । भारतमा चिनी दैनिक उपभोगसँगै खाद्य उद्योगको महत्वपूर्ण कच्चा पदार्थ भएकाले यसको मूल्यवृद्धिले व्यापक असर पार्न सक्छ ।
यसैबीच, ऊर्जा संकट र आपूर्ति अस्थिरताका कारण भारतको अर्थतन्त्रमा थप दबाब सिर्जना भइरहेको विश्लेषण गरिएको छ । मध्यपूर्वबाट ऊर्जा आपूर्ति र मल आयातमा निर्भर भारत बढ्दो लागतसँग जुधिरहेको छ, जसले आर्थिक वृद्धिदरप्रतिको अनुमानलाई समेत अनिश्चित बनाएको छ । भारत विश्व चिनी बजारको प्रमुख आपूर्तिकर्ता भएकाले यो निर्णयले अन्तर्राष्ट्रिय बजारमा पनि असर पार्ने अनुमान गरिएको छ । चिनीको आपूर्ति घट्दा विश्व बजारमा मूल्य वृद्धि हुन सक्ने विश्लेषण गरिएको छ ।
सरकारी तथ्याङ्कअनुसार भारतको चिनी निर्यात पछिल्ला वर्षमा उतारचढावपूर्ण रहेको छ । सन् २०२१/२२ मा करिब १ करोड १० लाख टन निर्यात भएको थियो भने २०२२/२३ मा घटेर ६३ लाख टनमा सीमित भयो । २०२३/२४ मा यो झन् घटेर १ लाख टनमा पुगेको थियो । तर २०२४/२५ मा केही सुधार हुँदै करिब ९ लाख टन निर्यात भएको देखिएको छ ।
आगामी उत्पादन र आपूर्तिलाई लिएर अनिश्चितता बढेपछि भारत सरकारले फेरि कडा नियन्त्रणको नीति अपनाएको हो ।