नेपाल सरकारले हालै सीमावर्ती क्षेत्रबाट भन्सार छली रोक्न कडाइ गर्नुका साथै निश्चित मूल्यभन्दा माथिका सामानमा अनिवार्य भन्सार व्यवस्था लागू गर्न थालेपछि यसको प्रभाव भारतीय सीमावर्ती बजारहरूमा समेत देखिन थालेको छ । धेरै नेपाली नागरिकहरूले अब भारतमा अपमान सहेर किनमेल गर्नुभन्दा नेपालमै केही महँगो परे पनि सम्मानपूर्वक सामान खरिद गर्नु उचित हुने धारणा सहित खरिद गर्न थालेका छन् ।
नेपाली रुपैयाँमाथि बट्टा लगायत अवमुल्यकाे विभेदपूर्ण व्यवहारले नेपाली बजार मै किनमेल बढ्न थालेकाे छ ।
नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने भारतीय बजार रक्सौलमा नेपाली रुपैयाँप्रति गरिएको विभेदपूर्ण व्यवहार र अनधिकृत रूपमा भइरहेको विनिमय दरको मनपरीले नेपाली उपभोक्ता तथा व्यापारीहरू आक्रोशित बनेकाे शिक्षक संदिप साह बताउँछन् । पछिल्ला दिनहरूमा रक्सौलका केही व्यापारी तथा सटही कारोबारीहरूले नेपाली रुपैयाँलाई आधिकारिक विनिमय दरभन्दा निकै कम मूल्यमा स्वीकार गर्ने गरेको गुनासो व्यापक रूपमा बढ्दै गएको थियाे । अहिले नेपाल सरकारले गरेकाे कडाईले जहिल्यै चाेर देख्ने भारतीय व्यापारीहरूलाई गतिलाे झापड दिएको उनले बताए ।
नेपाली उपभोक्ताहरूका अनुसार भारतीय बजारमा १ हजार नेपाली रुपैयाँ बराबर करिब ६०० भारतीय रुपैयाँ मात्र दिने गरिएको छ । जबकि नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आधिकारिक विनिमय दरअनुसार १ हजार नेपाली रुपैयाँको मूल्य करिब ६ सय २५ भारतीय रुपैयाँभन्दा बढी पर्न जान्छ । यसरी नेपाली रुपैयाँलाई “रद्दीकाे कागज” जस्तो व्यवहार गर्दै अनधिकृत रूपमा ४ देखि ७ प्रतिशतसम्म अतिरिक्त रकम काट्ने भारतिय व्यापारीहरू जसलाई स्थानीयले “दादागिरी टैक्स” नाम दिएका छन्, त्यसले नेपाली उपभोक्तामाझ असन्तोष चुलिएको छ ।
यी र यस्तै व्यवहारले रक्सौल बजारमा व्यापारिक चहलपहल समेत घट्दै गएको स्थानीयहरूले बताएका छन् । केही समयअघिसम्म नेपाली ग्राहकहरूको भीड लाग्ने पसलहरू अहिले सुनसान देखिन थालेका छन् । कतिपय व्यापारीहरू ग्राहक नआएपछि मोबाइलमा भिडियो हेरेर समय बिताउन बाध्य भएको दृश्य बजार क्षेत्रमा देखिन थालेको छ ।
स्थानीय जाटाशंकर साह कानुका अनुसार “स्वाभिमानी नेपालीले आफ्नै देशको बजारलाई प्राथमिकता दिनुपर्छ । यदि नियमअनुसार भन्सार तिरेर सामान ल्याइन्छ भने त्यो लाजको होइन, बरु इमान्दारिताको विषय हो ।” उनका अनुसार नेपाली बजारमा नपाए आफैले घाेषणा गरेर ल्याएकाे समानकाे भन्सार राजश्व तिरेर किनाैला तर अपमान सहन सकिन्न् ।
व्यापारीहरूका अनुसार नेपाली ग्राहकहरू सीमावर्ती भारतीय बजारका मुख्य आधार मानिन्छन् । यदि नेपाली उपभोक्ताले क्रमशः स्वदेशी बजार रोज्न थाले भने रक्सौलसहित सीमासँग जोडिएका भारतीय बजारहरू क्रमश धाराशायी हुने बताउने गरेका छन् ।