मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो धार्मिक पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिद तथा इदगाहहरूमा नमाज पढी, कुर्बानी (बली) दिँदै श्रद्धापूर्वक मनाइँदै छ ।
इस्लाम धर्मअनुसार रमजान पर्वको ७० औं दिन मनाइने यस पर्वको अवसरमा आज बिहानै स्नान गरी मुस्लिम समुदायका सदस्यहरू मस्जिद वा इदगाहमा भेला भई सामूहिक नमाज अदा गरेका छन् ।
नमाजपछि एकआपसमा शुभकामना आदान–प्रदान गर्दै पर्वको शुभारम्भ गरिएको छ । काठमाडौंको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र इदगाहहरूमा मुस्लिम धर्मावलम्बीको ठूलो भिड लागेको छ ।
बकर ईद पर्वको उत्पत्ति इस्लाम धर्मका पैगम्बर इब्राहिम अलेह सलामबाट भएको मानिन्छ । धार्मिक मान्यताअनुसार १४४० वर्षअघि अल्लाहको आज्ञा अनुसार इब्राहिमले आफ्ना प्रिय छोरा इस्माईललाई कुर्बानी गर्न तयार भएर देखाएको आस्थाको सम्झनामा यो पर्व मनाउन थालिएको हो । मुस्लिम धर्म गुरुका अनुसार, इब्राहिमको वंशमा जन्मिएका पैगम्बर मोहम्मद सलल्लाह अलेह वसल्लमले इस्लाम धर्मलाई व्यवस्थित गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरे । सोही धार्मिक ग्रन्थको शिक्षाले यो पर्वलाई आजसम्म निरन्तरता दिएको छ ।
यसै अवसरमा साउदी अरबस्थित इस्लाम धर्मका दुई महत्वपूर्ण तीर्थस्थल मक्का र मदिनामा समेत ठूलो धार्मिक मेला लाग्ने गर्छ। हज यात्रालाई यस पर्वसँग गहिरो सम्बन्ध रहेको मानिन्छ । हज यात्राको व्यवस्थापनका लागि गृह मन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ। हज जान नसक्नेहरूले आफ्नै घरमा बकर ईद पर्व मनाउँछन् ।
बकर ईदमा धर्मले स्वीकार गरेका जनावरहरूको कुर्बानी गरिन्छ । धार्मिक परम्पराअनुसार कुर्बानी गरिएको जनावरको मासु तीन भागमा बाँडिन्छ— एक भाग गरिब तथा विपन्नलाई, अर्को भाग आफन्त तथा इष्टमित्रलाई र तेस्रो भाग आफैँले खाने परम्परा छ ।
मुस्लिम धर्मावलम्बीका अनुसार यो पर्व तीन दिनसम्म मनाउने गर्दछन् । कुर्बानी पनि तीनै दिनसम्म गर्नुपर्ने धार्मिक विधि छ ।
यस अवसरमा सरकारले सोमबार (आज) का लागि सार्वजनिक बिदा समेत दिएको छ ।
भिडियाे सामाग्री