नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधनको तयारी थालेको छ । संशोधनको क्रममा हकप्रद सेयर बिक्रीपछि बाँकी सेयर लिलामी (बोलकबोल)बाट बिक्री गर्ने व्यवस्था हटाउने विषयमा गम्भीर छलफल भइरहेको बोर्ड स्रोतले जनाएको छ ।
हालको व्यवस्था अनुसार, कुनै कम्पनीले हकप्रद सेयर जारी गर्दा सबै सेयर बिक्री नभए बाँकी सेयर बोलकबोल (अक्सन) प्रणालीमार्फत बिक्री गर्न पाइन्छ। यो व्यवस्था २०७५ मा दोस्रो संशोधनमार्फत लागू भएको हो। तर अब यसलाई हटाएर कम्पनीमा कायम रहेका लगानीकर्ताले आफैंले पाउनेभन्दा बढी सेयरमा आवेदन दिन पाउने व्यवस्था ल्याउने तयारी भएको बुझिएको छ ।
धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले यो विषय छलफलमा रहेको पुष्टि गर्दै भने, “नियमावली संशोधनका क्रममा विविध सुझाव आएका छन्। तर हालसम्म कुनै निर्णयमा पुगेका छैनौं ।”
के छ प्रस्तावित नयाँ व्यवस्था?
यदि प्रस्ताव कार्यान्वयन भयो भने अब हकप्रद सेयर बाँकी रहे लिलामीमा नजानेछ । बरु, कम्पनीमा रहेका सेयरधनीहरूले आफैंले पाउनेभन्दा बढी सेयरमा पनि आवेदन दिन सक्नेछन् । उदाहरणस्वरूप, कसैसँग कुनै कम्पनीको १० कित्ता सेयर छ र कम्पनीले १:१ अनुपातमा हकप्रद ल्याउँछ भने उसले १० भन्दा बढी कित्तामा समेत आवेदन दिन सक्नेछ। यसले अंकित मूल्यमा बढी सेयर प्राप्त गर्ने अवसर सिर्जना गर्छ ।
लगानीकर्ताका लागि फाइदा कि घाटा?
नयाँ प्रस्तावले एउटा तर्फ लगानीकर्तालाई बढी लाभ लिने अवसर दिन सक्छ, तर अर्कोतर्फ सेयर प्रिमियम कोष घट्ने जोखिम पनि देखिएको छ । हाल बोलकबोलमा अधिक मूल्यमा बिक्री हुँदा प्राप्त रकम सेयर प्रिमियम कोषमा जम्मा हुन्छ, जुन बोनस सेयर वितरण वा अन्य पूँजी वृद्धिका लागि प्रयोग गर्न सकिन्छ । तर लिलामी प्रक्रिया हटेपछि सार्वजनिकरूपमा सबैले प्रतिस्पर्धा गर्न पाउने अधिकार हट्नेछ र त्यो अवसर सीमित लगानीकर्तामै सीमित हुने चिन्ता पनि उठाइएको छ ।
बोर्डमा अहिले छलफल मात्र चलिरहेको छ। यद्यपि लगानीकर्ताबीच यसबारे चासो र उत्सुकता बढेको छ। कतिपयले यसलाई विकृति अन्त्य गर्ने सकारात्मक प्रयास भनेका छन् भने केहीले छोटो अवधिमा केही लगानीकर्तालाई मात्र फाइदा पुर्याउने नीति भन्दै आलोचना गरेका छन् । धितोपत्र बोर्डले छलफललाई निष्कर्षमा पुर्याउन केही समय लाग्ने जनाएको छ ।