विश्वको अग्रणी सर्च इञ्जिन गुगलले पहिलो पटक गम्भीर प्रतिस्पर्धात्मक दबाब खेप्न थालेको छ । थर्ड ब्रिजका एनालिस्ट स्कट केसलरका अनुसार, पछिल्लो १० वर्षमा पहिलोपटक गुगलको ग्लोबल सर्च मार्केट सेयर ९० प्रतिशतभन्दा तल झरेको हो ।
यस पछाडि प्रमुख कारण ओपनएआईको च्याटजीपीटी रहेको विश्लेषकहरूको भनाइ छ । प्रयोगकर्ताहरू अहिले गुगलको सट्टा च्याटजीपीटीलाई छिटो, सटीक र विज्ञापनरहित जानकारीका लागि प्रयोग गर्न थालेका छन् ।
विशेषज्ञहरूको अनुमानअनुसार, च्याटजीपीटीले अहिले गुगलको दैनिक सर्च भल्यूमको करिब १५–२० प्रतिशत हिस्सा सम्हालिरहेको छ । न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार, च्याटजीपीटी माइक्रोसफ्टको बिङभन्दा पनि ठूलो प्रतिस्पर्धी बनेको छ ।
च्याटजीपीटीप्रति प्रयोगकर्ताको आकर्षण सटीक उत्तर, विज्ञापनरहित इन्टरफेस र बहुप्रयोगी क्षमताका कारण बढ्दो छ । कोड लेख्ने, कन्टेन्ट तयार पार्ने, तस्वीर वा ग्राफिक डिजाइन गर्ने, विदेश भ्रमण योजना बनाउन जस्ता कार्यहरूमा पनि प्रयोगकर्ताहरूले च्याटजीपीटीलाई विकल्पका रूपमा अपनाएका छन् ।
गुगलले यो चुनौतीको जवाफस्वरूप आफ्नो सर्च इञ्जिनमा ‘एआई मोड’ थपेको छ, जसले अब च्याटबट शैलीमा विस्तृत जानकारी प्रदान गर्न थालिसकेको छ । गुगलका अनुसार, यो सेवा अहिले १०० मिलियनभन्दा बढी प्रयोगकर्ताले उपयोग गरिरहेका छन् ।
तर, यस प्रविधिक प्रतिस्पर्धाले गुगलको भविष्यप्रति संशय उत्पन्न गराएको छ । सन् २०२५ को सुरुवातमै गुगलको सेयर मूल्य २५ प्रतिशतसम्म घटिसकेको थियो । गुगलको कुल आम्दानीको आधाभन्दा बढी हिस्सा र ७५ प्रतिशत नाफा सर्च व्यवसायबाट आउने भएकाले यो क्षेत्र जोखिममा पर्दा कम्पनीको आयमा गम्भीर असर पर्न सक्छ ।
यसैबीच, गुगल दुईवटा एन्टिट्रस्ट ट्रायल (प्रतिस्पर्धा विरोधी मुद्दा) को सामना गरिरहेको छ। अमेरिकी सरकारले गुगलको सर्च मोनोपोली तोड्न आवश्यक हुन सक्ने संकेतसमेत दिएको छ ।