वीरगंज | साउन शुक्लपक्षको आरम्भसँगै तराई–मधेसका गाउँ, नगर र बस्तीहरूमा राखी (रक्षाबन्धन) पर्व को उल्लासपूर्ण माहोल सुरु भएको छ । दिदीबहिनी र दाजुभाइबीचको प्रेम, स्नेह र आत्मीय सम्बन्धलाई थप प्रगाढ बनाउने यो पर्वको लय अहिले गाउँघरदेखि हाटबजारसम्म गुञ्जिरहेको छ ।
साउन शुक्ल पूर्णिमाका दिन (शनिबार, साउन २४) भव्य रूपमा मनाइने तयारीमा दिदीबहिनीहरू जुटिरहेका छन् । मिथिला लोकसंस्कृतिका जानकारहरूका अनुसार, यो पर्वले समर्पण, प्रेम र सम्बन्धमा अटूट प्रतिबद्धता व्यक्त गर्ने सांस्कृतिक परम्परा बोकेको छ ।
बजारमा चहलपहल, चेलीहरूमा उत्साह
महोत्तरीको औरही नगरपालिका–१ स्थित औरही बजारदेखि अन्य स्थानीय हाटबजारहरूमा राखी खरिद गर्न किशोरी, युवती र महिलाहरूको भीड देखिन्छ । विवाह भएर गएकी चेलीहरूले मोबाइल, चिट्ठी वा सामाजिक सञ्जालमार्फत आफ्ना दाजुभाइलाई राखी बाँध्न आमन्त्रण गरिरहेका छन् भने अविवाहित चेलीहरू पनि घर बाहिर रहेका दाजुभाइलाई सम्झँदै पूर्णिमाको दिन भेला हुन आग्रह गरिरहेका छन् ।
औरही–२ की मंजु यादव र गौशाला नगरपालिका–१० की रंजना महतोका अनुसार राखी पर्वको तयारीमा १५ दिन कहिले बित्यो भन्ने थाहा नै हुँदैन । यस अवसरमा दिदीबहिनी मात्र नभई व्यापारीहरू पनि ब्यस्त छन्। बजारमा परम्परागतदेखि आधुनिक डिजाइनका राखी उपलब्ध गराउन व्यापारीहरू दिनरात खटिएका छन् ।
धार्मिक–सांस्कृतिक पृष्ठभूमि
हिन्दू धर्मशास्त्र अनुसार, सत्ययुगमा दानवराज बलिलाई उनका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि रक्षासूत्र (राखी) बाँधेर विजयको आशीर्वाद दिएकी कथन छ । त्यसै सम्झनामा दिदीबहिनीहरूले दाजुभाइलाई राखी बाँधेर दीर्घायु, सुख–समृद्धि र वीरताको कामना गर्ने परम्परा चलिआएको हो ।
वेद–पुराणमा पनि राखीलाई “रक्षासूत्र” को रूपमा उल्लेख गरिएको छ, जसलाई पण्डितहरूले मन्त्रसहित यजमानको हातमा बाँधिदिने चलन छ । तर, मिथिला क्षेत्रमा दिदीबहिनीले आफ्नै हातबाट राखी बाँध्ने परम्परा अझ आत्मीय मानिन्छ ।
सांस्कृतिक समन्वय र भाइचाराको सेतु
पहिले मुख्यतः मधेसी र हिन्दू समुदायमा सीमित राखी पर्व पछिल्लो समय पहाडी समुदायमा पनि लोकप्रिय बन्दै गएको छ । सांस्कृतिक घुलमिल र सहिष्णुताका कारण इस्लाम धर्मावलम्बीहरूले पनि राखी पर्व मनाउन थालेका छन्। उनीहरूका अनुसार, राखी धार्मिक कर्मकाण्ड मात्र नभई प्रेम, विश्वास र भाइचाराको उत्सव हो ।
यसरी राखी पर्व अहिले तराई–मधेसमा मात्र नभई सम्पूर्ण नेपाली समाजमा भाइचारा र एकताको सन्देश फैलाउने सांस्कृतिक सेतु बन्दै गएको छ ।