हिमाली भूभागमा हिउँद याम सुरु भएसँगै वन डढेलोको जोखिम बढ्दै जाने क्रममा मनाङका विभिन्न बस्तीहरूमा वन डढेलोसम्बन्धी एकदिने समुदायस्तरका सचेतना गोष्ठीहरू सम्पन्न भएका छन् ।
हालै मनाङका नासोँ र चामे गाउँपालिकाका विभिन्न स्थानमा आयोजित गोष्ठीहरूमा स्थानीय बासिन्दालाई वन डढेलोका कारण, प्रकार, सम्भावित जोखिम तथा नियन्त्रणका उपायबारे विस्तृत जानकारी गराइएको हो ।
नासोँ गाउँपालिका–३ धारापानी बजारमा आयोजित गोष्ठीमा २८ जना स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रममा वन डढेलोको उत्पत्ति, मानव क्रियाकलापको भूमिका, सुक्खा मौसमको प्रभाव तथा डढेलोबाट हुन सक्ने क्षतिको दायरा विषयमा विस्तृत छलफल गरिएको थियो ।
नासोँ गाउँपालिका मनाङका चारवटै स्थानीय तहहरूमध्ये वन डढेलोको उच्च जोखिम क्षेत्र मानिने भएकाले स्थानीयलाई व्यावहारिक र प्राविधिक सीप प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो ।
यसैगरी चामे गाउँपालिका–१ तिमाङमा आयोजित गोष्ठीमा ३९ जनाको सहभागिता रहेको थियो । विगत केही वर्षयता सुक्खा हावाहुरी र वनजङ्गल संरक्षणको चुनौतीसँग जुधिरहेको तिमाङ क्षेत्रमा डढेलो नियन्त्रणका सामुदायिक उपायहरू—निगरानी समूह गठन, सामूहिक सतर्कता, घर–घरमा तत्काल खबरदारी प्रणाली तथा आकस्मिक अवस्थामा सुरक्षित स्थानमा सर्ने विधिबारे व्यावहारिक अभ्यास गराइएको थियो ।
यसअघि नासोँ गाउँपालिका–२ नाचै गाउँमा ३३ जनाको सहभागितामा गोष्ठी सम्पन्न भएको थियो । उक्त गोष्ठीमा डढेलोको प्रारम्भिक चिन्ह पहिचान गर्ने तरिका, जोखिम क्षेत्र नजिक आगो प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी तथा चरन क्षेत्र र बस्ती आसपास झाडी व्यवस्थापनका विषयमा प्रशिक्षकहरूले मार्गदर्शन गरेका थिए ।
नासोँ गाउँपालिका–१ ताल गाउँमा पनि ३८ जना स्थानीयवासीको सहभागितामा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । ताल क्षेत्र पर्यटकीय गतिविधि र मानव आवागमन बढी हुने क्षेत्र भएकाले सानो लापरबाहीले पनि ठुलो आगलागीको रूप लिन सक्ने जोखिमबारे सहभागीहरूलाई सचेत गराइएको थियो ।
एक्याप मनाङका प्रमुख भुजेलका अनुसार हिउँद याममा मनाङसहित सम्पूर्ण हिमाली क्षेत्रमा बर्खायामको आर्द्रता क्रमशः हराउँदै जाँदा सुक्खा पातपतिङ्गरका कारण डढेलो छिट्टै फैलिन सक्छ । हिमाली क्षेत्रमा चल्ने तीव्र हावाका कारण आगो नियन्त्रण कठिन हुने भएकाले ‘डढेलो लाग्नु अघि नै रोकथाम’ नीति प्रभावकारी मानिने उहाँको भनाइ छ ।
एक्यापले पछिल्लो वर्षदेखि समुदायलाई डढेलो प्रतिरोधी अभ्यास, सुरक्षित दाउरा व्यवस्थापन, गोठ तथा चरन क्षेत्र व्यवस्थापन र जोखिम क्षेत्रको नक्साङ्कनमार्फत सचेतना विस्तार गर्दै आएको जनाएको छ ।