न्युरो इन्टरनेशनल नेपाल र आशा किरण केन्द्रको सहकार्यमा शुक्रबार वीरगन्जमा सम्पन्न एकदिने मस्तिष्काघात, छारे रोग तथा मानसिक सूक्ष्मता सम्बन्धी स्वास्थ्य शिविरमा स्क्रिनिङ गरिएका तीन दर्जन बालबालिकामध्ये दुई जनाको शल्यक्रिया गर्न सकिने अवस्था फेला परेको छ ।
शिविरमा स्क्रिनिङका लागि अन्नपूर्ण न्युरो अस्पताल, माइतीघरबाट आएका वरिष्ठ न्युरो सर्जन डा. बसन्त पन्तका अनुसार ७ वर्षीय एक बालकमा छारे रोग तथा १२ वर्षीय अर्का बालकमा छारे रोगसँगै हात बाँगिने समस्या देखिएको छ ।
‘दुवै बालबालिकाको शल्यक्रिया गर्न सकिने अवस्था छ,’ डा. पन्तले भने, ‘हामी दुवैको निःशुल्क शल्यक्रिया गर्नेछौं । शल्यक्रियापछि उनीहरूको अवस्थामा उल्लेखनीय सुधार आउने अपेक्षा छ ।’
उनका अनुसार उक्त शल्यक्रिया उच्च प्रविधिमार्फत गरिनेछ ।
शिविरमा आएका अन्य बिरामीका अभिभावकलाई परामर्श दिइएको, केहीलाई फिजियोथेरापी तथा केहीलाई आवश्यक औषधि उपलब्ध गराएर पठाइएको डा. पन्तले जानकारी दिए ।
तराई–मधेशमा छारे रोग र मानसिक सूक्ष्मताको समस्या बढी
नेपालका एक मात्र वरिष्ठ न्युरो सर्जनका रूपमा परिचित डा. पन्तले हिमाल र पहाडको तुलनामा तराई–मधेश क्षेत्रमा छारे रोग र मानसिक सूक्ष्मतासम्बन्धी समस्या बढी देखिने गरेको अनुभव सुनाए ।
हालसम्म यस विषयमा नेपालमा आधिकारिक अध्ययन नभए पनि दैनिक अभ्यासका क्रममा तराई–मधेशबाट आउने बिरामीको संख्या तुलनात्मक रूपमा बढी रहेको उनले बताए ।
‘यो मेरो अनुभवमा आधारित कुरा हो,’ उनले भने, ‘तराईका बालबालिकामा यो समस्या किन बढी देखिन्छ भन्ने ठोस कारण भने हालसम्म पुष्टि भइसकेको छैन ।’
खेसारी दालसँग सम्भावित सम्बन्ध
डा. पन्तका अनुसार तराई क्षेत्रमा अझै पनि खेसारीको साग तथा दाल सेवन गर्ने चलन रहेकाले यसले समस्या बढाएको हुनसक्ने आशंका छ । खेसारीमा मानव स्नायुतन्त्रलाई क्षति पुर्याउने न्युरो टक्सिनको मात्रा उच्च हुने उनी बताउँछन् ।
‘तराईमा जाडोयाममा खेतबारीमा आफैं उम्रिने खेसारीलाई कतिपयले साग र कतिपयले दालको रूपमा सेवन गर्ने गर्छन्,’ उनले भने, ‘निःशुल्क रूपमा पाइने भएकाले यसले हानि गर्दैन भन्ने गलत बुझाइका कारण यसको अन्धाधुन्ध सेवन भइरहेको छ ।’
यस विषयमा नेपाल सरकारले गम्भीर अध्ययन–अनुसन्धान गरी खेसारीको सेवन न्यूनीकरण गर्न जनचेतना अभियान आवश्यक रहेको उनले जोड दिए । नेपालमा हाल खेसारी दालको प्रयोगशाला परीक्षण गर्ने सुविधा नभए पनि दक्षिण भारतमा सरकारी प्रयोगशालामार्फत यसको परीक्षण हुने गरेको उल्लेख गर्दै उनले नेपालमा पनि यस्ता परीक्षण र चेतनामूलक कार्यक्रम ढिलाइ नगरी सुरु गर्नुपर्ने बताए ।
आशा किरण केन्द्र : अटिजम पीडित बालबालिकाका लागि आशाको उज्यालो
आशा किरण केन्द्र विगत ११ वर्षदेखि वीरगन्ज र आसपासका अटिजम पीडित बालबालिकाको स्वास्थ्य र जीवनस्तर सुधारमा सक्रिय छ । वीरगन्जस्थित सिद्धार्थ माध्यमिक विद्यालय परिसरमा आफ्नै भवनबाट केन्द्रले अटिजम पीडित बालबालिकालाई निःशुल्क स्वास्थ्य सेवा, औषधोपचार, शारीरिक अभ्यास, थेरापी तथा शिक्षा प्रदान गर्दै आएको छ ।
केन्द्रका अनुसार बिहान १० बजे सवारीमार्फत बालबालिकालाई घर–घरबाट ल्याइ केन्द्रमा पोशाक, प्रार्थना, सरसफाइ, शारीरिक अभ्यास तथा अध्ययन गराइन्छ । उनीहरूलाई निःशुल्क भोजन, फिजियोथेरापी, स्पिच थेरापी, नृत्य तथा संगीत थेरापीसमेत उपलब्ध गराइन्छ ।
केन्द्रका संस्थापक तथा अध्यक्ष सुनिल गुप्ताका अनुसार हाल केन्द्रमा अढाई दर्जनभन्दा बढी अटिजम पीडित बालबालिकाले नियमित सेवा लिइरहेका छन् ।
‘नेपालमा अटिजमको क्षेत्रमा निःशुल्क विशेषज्ञ सेवा दुर्लभ छ,’ गुप्ताले भने, ‘तर हामीले ११ वर्षदेखि निरन्तर यस्तो सेवा उपलब्ध गराउँदै आएका छौं ।’
केन्द्रमा बालबालिकालाई आयमूलक तथा सिपमूलक तालिमसमेत दिइन्छ । मैनबत्ती तथा अन्य सामग्री उत्पादन गरेर उनीहरूले आम्दानीसमेत गर्ने गरेका छन् । दिनभर केन्द्रमा सेवा लिएपछि साँझ पुनः सवारीमार्फत उनीहरूलाई घर–घरै पुर्याइन्छ ।
यसले एकातर्फ अटिजम पीडित बालबालिकालाई व्यवस्थित उपचार र शिक्षा प्राप्त हुने र अर्कोतर्फ अभिभावकलाई आफ्ना दैनिक कामकाजमा समय दिन सहज भएको केन्द्रले जनाएको छ ।