नाम सुन्दा धेरैलाई हाँसो उठ्न सक्छ, तर सन्तबहादुर श्रेष्ठ उर्फ ‘टायर कान्छा’को कर्म र समर्पण थाहा पाएपछि सम्मान गर्न मन लाग्छ । विगत आठ दिनदेखि उनी तनहुँको त्रिशूली नदी किनारमा बसको भग्नावशेष निकाल्ने अभियानमा जुटिरहेका छन् ।
२०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट दुई वटा गाडी पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएका थिए । तीमध्ये एक गाडीको भग्नावशेष फेला परिसकेको छ । हाल टायर कान्छा गणपति डिलक्स बसको अवशेष निकाल्ने प्रयासमा छन् ।
६२ वर्षको उमेरमा पनि उनको जोश र जाँगर युवाजस्तै छ । आबुखैरेनी गाउँपालिका–५ दोङद्राङस्थित त्रिशूली किनारमा दुईवटा टेन्ट बनाएर परिवारसहित बसेका उनी बिहान झिसमिसेमै काम सुरु गर्छन् । आधा भाग मात्रै देखिएको बस निकाल्नु चुनौतीपूर्ण रहेको उनी बताउँछन् ।
दुर्घटनापछि ‘टायर कान्छा’को खोजी
पृथ्वी राजमार्गमा सवारी दुर्घटना हुँदा प्रायः ‘टायर कान्छा’कै खोजी हुने गर्छ । गोरखा, लमजुङ, नुवाकोट, पश्चिम नवलपरासी र मकवानपुरसम्म पुगेर गाडी निकालिसकेको अनुभव उनीसँग छ । हाल उनीसँग चार जना नियमित सहकर्मी छन् । आवश्यकताअनुसार थप जनशक्ति पनि प्रयोग गरिन्छ ।
गत ४० वर्षदेखि दुर्घटनामा परेका सवारीसाधन निकाल्ने काम गर्दै आएका कान्छाका लागि त्रिशूलीको यो अभियान अहिलेसम्मकै सबैभन्दा चुनौतीपूर्ण बनेको छ । ‘अहिलेसम्म आठ दिनभन्दा बढी समय लागेको थिएन, तर यहाँ निकै गाह्रो भयो,’ उनले भने ।
प्रशासनको आग्रहपछि सुरु भएको अभियान
पुस २७ गते नेपाल प्रहरीले बालुवा हटाएर बस निकाल्ने प्रयास गरे पनि असफल भएपछि तनहुँ प्रशासनले टायर कान्छालाई सम्पर्क गरेको थियो । त्यसपछि उनी चेनपुली लिएर घटनास्थल पुगेका हुन् ।
त्यसयता विभिन्न उपाय अपनाएर काम गरिरहे पनि अहिलेसम्म बस निकाल्न सफल हुन सकेका छैनन् । दुर्गम भौगोलिक अवस्थाका कारण उपकरण ल्याउनसमेत कठिन भएको उनी बताउँछन् ।
तर, नेपाल सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगप्रति उनी आभारी छन् । ‘उहाँहरूको सहयोग नपाएको भए यो सम्भव नै हुने थिएन,’ उनले भने ।
संघर्षबाट बनेको पहिचान
सानै उमेरमा आमाबुबा गुमाएका टायर कान्छाले संघर्षपूर्ण जीवन बिताएका छन् । केही समय पोखरामा गार्डको जागिर खाएपछि टायर बनाउने र गाडी तान्ने सीप सिके । पछि दमौलीमा टायर पसल खोलेर चेनपुलीमार्फत दुर्घटनाग्रस्त सवारी निकाल्न थाले ।
सुरुमा ३–५ हजार रुपैयाँ कमाउँदा पनि खुसी हुने उनी आज यही पेसाबाट घर–जग्गा जोड्न सफल भएका छन् । दमौलीमा आफ्नै घर बनाएका छन् र छोराछोरीलाई शिक्षित बनाएका छन् ।
नयाँ पुस्तालाई सीप हस्तान्तरण
छोरा मिलनसँगै ‘मिलन चेनपुली’ कम्पनी सञ्चालन गर्दै आएका टायर कान्छा छोरालाई आफ्नो उत्तराधिकारी बनाउँदै छन् । ‘मेरो सबै सम्पत्ति यही पेसा हो,’ उनी भन्छन् ।
आफ्नो कामप्रति गर्व गर्ने उनी जीवनभर यही सेवा जारी राख्ने दृढ संकल्पमा छन् ।
समाजको सम्मानले थप ऊर्जा
समाजबाट पाएको माया र सम्मानले आफूलाई थप ऊर्जा मिल्ने उनी बताउँछन् । श्रीमती गम्भीर बिरामी हुँदा जनप्रतिनिधि र प्रशासनका अधिकारीहरूले अस्पतालमै भेट्न आएको सम्झँदै उनी भावुक हुन्छन् ।
‘म सामान्य मान्छे हुँ, तर उहाँहरूको माया पाएँ, यही नै मेरो ठूलो कमाइ हो,’ उनले भने ।