निपाह भाइरसको मुख्य स्रोत चमेरो मानिन्छ । हालै भारतको कोलकाता नजिकैको शहरमा निपाह भाइरस फैलिएको पुष्टि भएको छ । त्यहाँको एक स्वास्थ्य संस्थामा चिकित्सकसहित कम्तीमा पाँचजनामा सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य अधिकारीहरूले भने, स्वास्थ्यकर्मीहरू स्वयं सङ्क्रमित भएर सङ्क्रमण फैलिएको हो कि कुनै बिरामीबाट सरेको हो भन्ने कुरा अहिले यकिन भएको छैन । सङ्क्रमितको सम्पर्कमा आएका करिब १०० जनालाई आइसोलेसनमा राखिएको छ ।
नेपालमा पनि निपाह भाइरसको प्राकृतिक स्रोत मानिने चमेरोको प्रजाति तराईदेखि काठमाडौँलगायत पहाडी भेगमा पाइन्छ । यद्यपि, चमेरोमा भाइरस छ वा छैन भन्ने कुरा हालसम्म कुनै अनुसन्धानबाट पुष्टि भएको छैन । तथापि, चमेरोको सो प्रजाति प्रशस्त भएकोले उच्च सतर्कता अपनाउन अनुसन्धानकर्ताहरूले सिफारिस गर्दै आएका छन् ।
भारत र बंगलादेशमा निपाह भाइरस चमेरोले छोडेको जुठो फलफूल वा खानेकुरा खाँदा मानिसमा सर्ने देखिएको छ । यस्ता खानेकुरामा चमेरोको र्याल, पिसाब वा दिसा लागेपछि, त्यसलाई खाँदा समुदायमा मानिस–मानिसबीच भाइरस फैलिन सक्ने अनुसन्धानहरूले देखाएका छन् ।
नेपालमा चमेरोले टोक्यो वा चिथार्यो भनेर आएका बिरामीहरूको संख्या बढ्दो क्रममा छ । यसले मानिस र चमेरोबीचको नजिकको सम्पर्क बढेको संकेत दिन्छ ।
निपाह भाइरसको मृत्युदर उच्च छ । विश्व स्वास्थ्य संगठनका अनुसार मृत्युदर ४०–७५ प्रतिशतसम्म हुन सक्छ भने भारत र बंगलादेशमा शतप्रतिशतसम्मको रिपोर्ट पनि देखिएको छ । सङ्क्रमणपछि झन्डै २० प्रतिशत बिरामी दीर्घकालीन मस्तिष्कसम्बन्धी समस्या भोग्नुपर्ने जोखिममा रहन्छन् ।
नेपालका स्वास्थ्य संस्थाहरू उच्च घातक संक्रामक रोगहरूको द्रुत निदान र उपचारमैत्री छैनन् । कोभिड–१९ महामारीका बेलामा यस कुरा स्पष्ट देखिएको थियो। त्यसैले, भारतमा फैलिएको निपाह भाइरसको घटनाबाट पाठ सिकेर नेपालमा स्वास्थ्य संस्थाहरूले सतर्कता अपनाउनु आवश्यक छ ।
अन्ततः, नेपालमा चमेरोको सो प्रजाति रहेको र मानिससँगको नजिकको सम्पर्क बढिरहेको हुँदा निपाह भाइरसको सम्भावित जोखिमलाई नजरअन्दाज गर्न सकिँदैन । अनुसन्धान वा परीक्षण बिना 'छैन' भनेर यकिन गर्न मिल्दैन, र सतर्कता तथा निगरानीलाई निरन्तरता दिनुपर्ने देखिन्छ ।