स्वास्थ्यका लागि अत्यन्त लाभदायक मानिने सजिवन (मोरिंगा) को व्यावसायिक खेतीमा पर्साका युवा शेखर चौधरी जुटेका छन् ।
जिराभवानी गाउँपालिका–३ स्थित आफ्नो पैतृक गाउँमा उनले झन्डै साढे तीन बिघा जग्गामा सजिवन र कटहरको अर्गानिक खेती सुरु गरेका हुन् । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका चौधरीले भारतबाट प्रतिगोटा ४ सय रुपैयाँमा २ हजार सजिवनको बिरुवा ल्याएर रोपेका छन् । साथै, बेमौसमी तरकारीको रूपमा कटहर खेती पनि अघि बढाएका छन् ।
हालसम्म उनी करिब २० लाख रुपैयाँ लगानी गरिसकेको बताउँछन् ।
चौधरीका अनुसार सजिवन मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल जस्ता रोगका बिरामीका लागि लाभदायक मानिन्छ । चिकित्सकहरूले यसको पात, लस्साको धुलो तथा फुल फल सबैलाई आयुर्वेदिक औषधिको रूपमा उपयोग गर्न सुझाव दिने गरेका छन् । उनले भने, “नेपालमा माग धेरै छ, तर आपूर्ति भारतबाट भइरहेको देखेर मैले यो व्यवसाय सुरु गरेको हुँ ।”
“मोरिंगा खेती हचुवामा गरेको होइन, ६/७ वर्ष रिसर्च गरेर सुरु गरेको हुँ,” चौधरी भन्छन् । उनले गाउँका सात जनालाई पूर्णकालीन रोजगारी दिएका छन् । बिजुली नहुँदा सिँचाइमा समस्या भए पनि अहिले विद्युत जडान भइसकेकाले उत्पादन सुरु हुने अपेक्षा गरिएको छ । “अब भदौदेखि सजिवन फल्न सुरु गर्छ होला,” चौधरीको भनाइ छ ।
उनी भन्छन्, “सजिवन सुरुमा वीरगञ्जमै इ-रिक्साबाट बेच्नेछु । उत्पादन बढेपछि हेटौंडा, नारायणगढ, काठमाडौं पठाउने योजना छ ।” बेमौसमी कटहरको पनि माग उच्च भएको उनले बताए। “चाडपर्वको सिजनमा बजारमा कटहरको आपूर्ति अपुग हुन्छ, म त्यसलाई भरिदिनेछु ।”
चौधरीले आफ्नो खेतीमा अहिलेसम्म कुनै रासायनिक मल प्रयोग नगरेको र केवल कम्पोस्ट मल र हल्का विषादी प्रयोग गरिएको बताए । उनको दीर्घकालीन योजना अर्गानिक उत्पादनमै आधारित रहेको छ । सजिवन खेतीबाट वार्षिक २५–३० लाख र कटहरबाट १०–१२ लाख आम्दानी गर्ने लक्ष्य रहेको चौधरी बताउँछन् ।
उत्पादन राम्रो भयो भने उनले यो खेतीलाई अझ विस्तार गर्ने र थप रोजगारी सिर्जना गर्ने योजना बनाएका छन् ।