रुसले युक्रेनविरुद्धको लडाइँमा नयाँ फौजी उपलब्धि हासिल गरेको दाबी गरेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई थप हतियार पठाउने घोषणा गरेका छन् । जबकि वासिङ्टनले गत साता मात्रै किएभलाई हतियार आपूर्ति रोकेको जनाएको थियो ।
तीन वर्षभन्दा बढी समयदेखि जारी रुस–युक्रेन युद्धमा अमेरिकाबाट प्राप्त हुने हतियार आपूर्तिमा आएको यो रोकावट युक्रेनका लागि सम्भावित गम्भीर चुनौती बन्ने संकेत देखिएको थियो । युक्रेनले रुसका निरन्तर ड्रोन तथा क्षेप्यास्त्र आक्रमणको सामना गरिरहेको छ ।
‘हामीले थप हतियार पठाउनुपर्नेछ, मुख्यतया रक्षात्मक हतियारहरू’, ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने, ‘उनीहरू (युक्रेनीहरू) लाई धेरै चोट लागेको छ ।’
शान्ति वार्ताका लागि पहल गरिरहेका ट्रम्पले यति बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आफू ‘खुसी नभएको’ बताएका छन् । २०२२ देखि सुरु भएको रुस–युक्रेन युद्धलाई ट्रम्पको दबाबका बाबजुद समाप्त गर्न पुटिनले पनि इच्छा देखाएको बताइएको थियो ।
तर सोमबार मस्कोले युक्रेनको मध्य डनिप्रोपेत्रोभस्क क्षेत्रमा पर्ने डाच्ने गाउँ कब्जा गरेको दाबी गरेपछि ट्रम्पले युक्रेनलाई थप हतियार सहायता दिने घोषणा गरेका हुन् ।
ट्रम्पको घोषणाअघि नै रुसले युक्रेनी सैन्य भर्ती केन्द्रहरूलाई लक्षित गरी ठूलो संख्यामा मिसाइल र ड्रोन आक्रमण सुरु गरेको थियो । युक्रेनी पक्षले पनि मस्को क्षेत्रमा रहेको रुसी गोलाबारुद कारखानामा ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।
रुसले कब्जा गरेको भनिएको डाच्ने गाउँ युक्रेनको एक महत्वपूर्ण औद्योगिक खानी क्षेत्र हो । गत महिना मस्कोका सुरक्षा बलहरू पहिलोपटक डनिप्रोपेत्रोभस्क क्षेत्रको सीमाना पार गरेका थिए ।
रुसी सेनाको उपस्थिति युक्रेनका लागि रसद र आर्थिक चुनौती खडा गर्न सक्ने बताइएको छ । यद्यपि किएभले डनिप्रोपेत्रोभस्क क्षेत्रमा रुसी सैनिक उपस्थिति भएको दाबीलाई अस्वीकार गरेको छ । युक्रेनी सेनाले डाच्ने गाउँसहितका आक्रमणहरूलाई ‘प्रतिरोध गरिएको’ बताएको छ ।
डनिप्रोपेत्रोभस्क पाँच विवादित युक्रेनी क्षेत्रहरू — डोनेत्स्क, खेर्सन, लुगान्स्क, जापोरिज्जिया र क्रिमिया — मध्येमा पर्दैन । तर रुस यस क्षेत्रलाई ‘बफर जोन’ बनाउन चाहन्छ भन्ने युक्रेनी सैन्य विश्लेषक अलेक्सी कोपित्कोको विश्लेषण छ । उनले भने, ‘हाम्रा सेनाहरूले आफ्नो स्थिति स्थिर रूपमा राखिरहेका छन् ।’
गत साता ह्वाइट हाउसले ट्रम्पका पूर्ववर्ती जो बाइडेनले वाचा गरेका केही प्रमुख हतियार सहायता स्थगन गरिएको बताएको थियो । अमेरिकी रक्षा आवश्यकतासँगै विदेशी सहायता समीक्षापछि यस्तो निर्णय गरिएको वासिङ्टनले जनाएको हो ।
बाइडेन प्रशासनले युक्रेनलाई ६५ अर्ब अमेरिकी डलरभन्दा बढीको सहायता उपलब्ध गराउने घोषणा गरेको थियो । तर ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेयता किएभका लागि कुनै नयाँ सहायता प्याकेज घोषणा गरेका छैनन् ।
बरु, ट्रम्पले पुटिनसँगको फोन संवादसहित दुबै पक्षलाई शान्ति वार्तामा ल्याउन निरन्तर दबाब दिइरहेका छन् । सोमबार ट्रम्पको घोषणाअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हवाई सुरक्षालाई मुख्य प्राथमिकता बताउँदै साझेदारहरूमाथि भरोसा रहेको बताएका थिए ।
यसैबीच, दक्षिण युक्रेनी सहर माइकोलाइभमा रातिदेखि मंगलबारसम्म विस्फोटको आवाज सुनिएको थियो । क्षेत्रीय गभर्नर भिटाली किमले सहरको बाहिरी भागमा भएको गोलाबारीका कारण आगलागी भएको र ५१ वर्षीय व्यक्ति घाइते भएको जानकारी दिएका छन् ।