सरकारले मधेस प्रदेशलाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
लगातारको खडेरी, असमान वर्षा र त्यसका कारण भएको कृषि तथा जनजीवनमा परेको प्रतिकूल प्रभावका कारण प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि मधेस प्रदेश सरकारले असार २६ गते नै प्रदेशभर खडेरीका कारण कृषि उत्पादन गम्भीर संकटमा परेको जनाउँदै मधेसलाई ‘सुख्खा ग्रस्त’ क्षेत्र घोषणा गरेको थियो । त्यही निर्णयको आधारमा प्रदेश सरकारले संघीय सरकारलाई औपचारिक पत्र पठाउँदै राहत प्याकेज सहितको सहयोग गर्न आग्रह गरेको छ ।
कृषिमा बढी क्षति, उत्पादन घट्ने निश्चित
मधेस प्रदेशमा अहिलेको मुख्य कृषि सिजन मानिने धान रोपाइँ निकै कम भएको कृषि मन्त्रालयले जनाएको छ । समय मै पर्याप्त पानी नपर्दा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाका अधिकांश खेतहरू सुख्खा छन् । किसानहरूले डिप बोरिङ, पम्पसेट, स्यालो ट्युबवेलको सहारा लिए पनि अत्यधिक गर्मीका कारण खेतमा पानी टिक्न सकेको छैन । रोपिएका धानहरू सुक्न थालेका छन् भने कतिपय ठाउँमा धाँजा समेत फाटेका छन् ।
संकटग्रस्त क्षेत्र घोषणासँगै अब मधेसमा विशेष राहत प्याकेज लागू हुने सरकारका सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी गराएका छन् । उनका अनुसार अब प्रभावित जिल्लाहरूमा किसानको सहुलियत ऋणमा ब्याज छुट, केही अवस्थामा कर्जा मिनाहा, बीउ तथा मलमा अनुदान, ट्यांकरबाट पानी आपूर्ति, पशु आहार वितरण तथा खाद्यान्न कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।
खडेरीले कृषि मात्र होइन, मानिस र पशु दुबै संकटमा परेकाे भन्दै सरकारले तत्काल र दीर्घकालीन योजना लागू गर्ने जानकारी गराएकाे छ ।
संकटग्रस्त क्षेत्र घोषणापछि अब स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रमा मोबाइल स्वास्थ्य शिविर सञ्चालन गर्नेछ भने खानेपानी मन्त्रालयले ट्यांकर र मार्फत पिउने पानी पुर्याउनेछ । पशुपालन विभागले पशु उपचार शिविर, भुस तथा ढाँट वितरण जस्ता राहत कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको छ ।
संकटग्रस्त क्षेत्र घोषणा भएसँगै अब स्थानीय तहमार्फत लक्षित राहत कार्यक्रम सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएकाे छ ।
खडेरीको गम्भीर चपेटामा परेको मधेसमा संघीय सरकारको यो निर्णयले तत्काल राहत मात्र होइन, दीर्घकालीन खडेरी व्यवस्थापनका लागि पूर्वाधार निर्माणमा समेत सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।