जनकपुरधाम | तराई–मधेशका जिल्लाहरूमा सूर्य उपासना पर्व छठ नजिकिँदै गर्दा स्थानीय समुदायका नागरिक अहिले बाँसका सामग्री बनाउन व्यस्त देखिएका छन् ।
छठ पर्वमा विशेषगरी बाँसबाट बनेका सामग्रीहरूको प्रयोग हुने भएकाले बजारमा यसको माग बढेसँगै यतिबेला डोम समुदायका महिला तथा पुरुष बाँसका विभिन्न सामग्री बनाउन व्यस्त भएका हुन् ।
हरेक वर्ष छठमा प्रयोग हुने बाँसका सुपा, डलिया, टोकरी लगायतका सामग्री नयाँ प्रयोग गर्नुपर्ने परम्परा रहेको छ । यही परम्परा अनुसार धनुषा, सिराहा, महोत्तरी, सप्तरी र रौतहटलगायतका जिल्लामा अहिले बाँसका सामग्री उत्पादनको चटारो छ ।
जनकपुरधाम उपमहानगरपालिका–६ की ४० वर्षीया दुलारीदेवी मल्लिक भन्छिन्, “मिथिला क्षेत्रमा मनाइने छठ, चौरचन तथा बर्साइन पर्व आउँदा बाँसका सामग्री बनाउने चटारो हुन्छ ।”
उहाँका अनुसार छठ पर्वले उनीहरूको वर्षकै सबैभन्दा व्यस्त समय ल्याउँछ। छठमा प्रयोग हुने सबै पूजा सामग्रीमध्ये बाँसका वस्तु अनिवार्य रूपमा प्रयोग हुन्छन्। प्रसाद राख्ने, जलाशय किनारमा पूजा गर्ने र सूर्यलाई अर्घ दिने क्रममा बाँसका डालो, सुपा र टोकरीको प्रयोग गरिन्छ, जुन धार्मिक र सांस्कृतिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण मानिन्छ ।
जनकपुरधाम–७ की नीलम देवीका अनुसार छठ पर्वकै समयमा उहाँहरूको परिवारको मुख्य आम्दानी हुने गर्छ ।
“यो समयमा महिनामा १५ देखि २० हजार रुपैयाँसम्म कमाइ हुन्छ,” उहाँ भन्छिन्, “अरू महिनामा काम घट्छ, तर छठले हामीलाई बाँच्ने आधार दिन्छ ।”
तर, धार्मिक, सांस्कृतिक तथा पर्यावरणमैत्री बाँसका सामग्री बनाउन प्रयोग हुने परम्परागत सीप अहिले संकटमा परेको ती समुदायहरूको गुनासो छ । नयाँ पुस्ता यो पेशातर्फ आकर्षित नभएको र बजारमा सस्तो प्लास्टिकका सामग्रीले प्रतिस्पर्धा बढाएको उनीहरूको भनाइ छ ।
यद्यपि, ठूला सहरहरूमा बाँसबाट बनेका आकर्षक सामग्रीहरू होटल तथा मलहरूमा बिक्री वितरण हुने क्रम बढ्दो छ। स्थानीय समुदायका सीपमूलक समूहहरूलाई आवश्यक ज्ञान, सीप र आधुनिक प्रविधिसँग जोड्न सके परम्परागत सीपको संरक्षण र प्रवर्द्धन हुने उनीहरूको अपेक्षा छ ।