कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) प्रयोगको मामिलामा नेपाल अन्य विकासोन्मुख र विकासशील देशसँग तुलना गर्दा कमजोर देखिएको छ । माइक्रोसफ्टको एआई इकोनमी इन्स्टिच्युटको अध्ययन ‘ग्लोबल एआई अडप्सन इन २०२५: अ वाइडेनिङ डिजिटल डिभाइड’ अनुसार विश्वका १४७ देशमध्ये नेपाल एआई प्रयोगमा ७६औं स्थानमा छ ।
प्रतिवेदनले देखाएको छ कि नेपालको डिजिटल पूर्वाधार, सीप र नीतिगत व्यवस्थामा कमजोरी रहेका कारण एआईको प्रयोग विश्व औसतभन्दा तल छ । तथापि, दक्षिण एसियाली देशमध्ये भारतबाहेक नेपालले अपेक्षाकृत सकारात्मक प्रगति गरेको पाइएको छ । अध्ययन अनुसार नेपालको कामकाजी उमेरको करिब १३ प्रतिशत जनसंख्या जेनरेटिभ एआई प्रविधि जस्तै च्याटबट, डिजिटल सहायक र कन्टेन्ट सिर्जना उपकरण प्रयोग गर्ने गरेका छन् ।
विश्वका केही देशमा एआई प्रयोग तीव्र छ । संयुक्त अरब इमिरेट्स (यूएई) सूचीमा अग्रस्थानमा छ भने भारत ६४ औं र चीन ६१ औं स्थानमा छन् । संयुक्त राज्य अमेरिका २४ औं स्थानमा छ भने सिंगापुरजस्ता विकसित देशहरूमा एआई प्रयोग नेपालभन्दा धेरै गुणा बढी छ ।
प्रतिवेदनले प्रारम्भिक चरणमै डिजिटल पूर्वाधार, सीप विकास र स्पष्ट नियामक संरचनामा लगानी गरेका देशहरूले छिटो र व्यापक रूपमा एआई विस्तार गर्न सफल भएको बताएको छ । उच्च आय भएका देशहरूमा एआई प्रयोग तीव्र गतिमा बढिरहेको छ भने न्यून र मध्यम आय भएका देशहरू सूचीको तल्लो भागमा सीमित छन् । यसले विश्वव्यापी डिजिटल असमानता झनै बढाउने खतरा बढाएको छ ।
नेपालमा राष्ट्रिय एआई नीति भए पनि जिम्मेवारी विभिन्न मन्त्रालय र निकायमा विभाजित हुँदा नियमनभन्दा नियन्त्रणमा जोड दिइने गरेको विकास साझेदारहरूले उल्लेख गरेका छन् । यसले प्रविधिको समावेशी विकासमा अवरोध पुर्याइरहेको छ ।
यूएनडीपीको मानव विकास प्रतिवेदन २०२५ अनुसार पनि एआई शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवामा सुधार ल्याउन सक्ने सम्भावना छ । तर प्रविधिमा पहुँच र सीप सीमित रहेमा असमानता बढ्ने चेतावनी पनि दिइएको छ ।
माइक्रोसफ्टको प्रतिवेदनले भनेको छ कि एआई प्रयोग र विस्तारमा नीतिगत तयारी निर्णायक हुन्छ । नेपालमा चुनौती भनेको बढ्दो चासोलाई स्पष्ट नीति, पूर्वाधार र सीप विकासमार्फत व्यापक प्रयोगमा रूपान्तरण गर्नु हो ।