विगत १५ वर्षयता धेरै संयुक्त राज्य अमेरिका का नेताहरू मध्यपूर्वमा सामाजिक व्यवस्था परिवर्तन गर्ने नाममा आफूहरू गहिरोसँग अल्झिएको निष्कर्षमा पुगेका थिए । यस अवधिका तीन राष्ट्रपतिसमेत अमेरिकाले भोगिरहेको मुख्य चुनौतीका रूपमा औद्योगिक आधारको पुनर्निर्माण र चीन को उदयलाई लिन थालेका थिए ।
तर अहिले अमेरिका फेरि बृहत् मध्यपूर्वको सामाजिक संरचना परिवर्तन गर्ने युद्धतर्फ उन्मुख देखिन्छ। इराक, अफगानिस्तान र लिबिया मा जस्तै यहाँ पनि युद्ध समर्थकहरूले अपेक्षा गरेअनुसार परिणाम प्राप्त हुने सम्भावना न्यून देखिन्छ ।
इतिहासको ऐनामा वर्तमान
आधुनिक इतिहासमा अमेरिकासँग तुलना गर्न मिल्ने वैश्विक पहुँच भएको राष्ट्र बेलायत मात्र हो । २०औँ शताब्दीको सुरुवातसम्म बेलायत संसारकै एक्लो महाशक्ति थियो। सन् १८७० तिर वैश्विक कुल गार्हस्थ्य उत्पादनमा बेलायती साम्राज्यको हिस्सा करिब २५ प्रतिशत थियो, जुन अहिले अमेरिकाको हाराहारी मानिन्छ । बेलायतको उत्कर्षकालमा लन्डन विश्व वित्तीय केन्द्रका रूपमा स्थापित थियो ।
त्यस समय मेसोपोटामिया क्षेत्रमा रणनीतिक बहसमा अल्झिएका बेलायती नेताहरूले वास्तविक आर्थिक र प्राविधिक चुनौतीलाई भने बेवास्ता गरेका थिए । बेलायतले नेपोलियन बोनापार्ट को युरोप विजय अभियान रोकेको थियो भने क्रिमिया युद्ध मा रुसको विस्तारवादी प्रयासलाई पनि नियन्त्रण गरेको थियो । विशाल साम्राज्यको हैसियतमा बेलायतले अन्तर्राष्ट्रिय राजनीतिक एजेन्डा नै निर्धारण गर्थ्यो, जसरी आज अमेरिका गर्छ ।
सन् १८८० देखि १९२० को अवधिमा बेलायतले सुडान, सोमालिया, इराक र जोर्डन लगायत क्षेत्रमा फौज पठाएर अस्थिरता नियन्त्रण गर्ने प्रयास गरेको थियो । ती सैन्य अभियानहरू सुरुमा आकर्षक देखिए पनि स्थानीय संकटहरूको अनन्त शृङ्खलाले बेलायतलाई निरन्तर थकित बनाइरह्यो ।
सन् १९२० को इराकी विद्रोह दबाउन बेलायतले एक लाखभन्दा बढी सैनिक परिचालन गर्नुका साथै ठूलो आर्थिक मूल्य चुकाउनु परेको थियो। त्यतिबेला शिक्षाक्षेत्रको वार्षिक बजेट बराबर खर्च केवल एक सैन्य अभियानमै सकिएको थियो ।
त्यसैबीच, बेलायत विभिन्न उपनिवेशमा युद्धमा अल्झिरहँदा अमेरिका भने औद्योगिक रूपान्तरणमार्फत संसारकै अग्रणी अर्थतन्त्र बन्दै गएको थियो । पहिलो विश्वयुद्धपछि जर्मनी ले पनि आफ्नो उद्योग र सैन्य संरचना तीव्र रूपमा पुनर्निर्माण गर्यो । परिधिका द्वन्द्वमा फसेको बेलायतलाई आफ्नै केन्द्रमा अन्य शक्तिहरूले उछिन्दै लगे, जसका कारण बेलायत विश्व नेतृत्वबाट क्रमशः पछि हट्यो ।
वर्तमान शक्ति संघर्ष
आज रुस युरोपेली सुरक्षा संरचना र पश्चिमा लोकतन्त्रलाई कमजोर बनाउन राजनीतिक–सैन्य मिश्रित (हाइब्रिड) रणनीति अपनाइरहेको छ । उता चीन भने मध्यपूर्वका द्वन्द्वबाट टाढै बसेर कृत्रिम बौद्धिकता, क्वान्टम कम्प्युटिङ, सौर्य ऊर्जा, वायु ऊर्जा, ब्याट्री प्रविधि र रोबोटिक्सजस्ता क्षेत्रहरूमा तीव्र लगानी गरिरहेको छ । यी प्रविधिहरूले भविष्यको वैश्विक शक्ति सन्तुलन निर्धारण गर्ने देखिन्छ ।
बेइजिङ र मस्को अमेरिकी नेतृत्वको विश्व व्यवस्थालाई चुनौती दिइरहँदा अमेरिका भने मध्यपूर्वमा सैन्य तथा राजनीतिक संलग्नता विस्तार गरिरहेको छ । तेहरानमाथि गरिने हवाई आक्रमणदेखि फारसको खाडी क्षेत्रमा गरिने सुरक्षा कारबाहीसम्मले अमेरिकाको स्रोत र ध्यान दीर्घकालीन रणनीतिक प्रतिस्पर्धाबाट विचलित गरिरहेको विश्लेषण गरिएको छ ।
महाशक्तिको दुविधा
इतिहासले देखाएको छ कि महाशक्तिहरू प्रायः ‘साना युद्ध’ मा आकर्षित हुने गर्छन् । यस्ता युद्धहरू छिटो जितिने र राजनीतिक–नैतिक लाभ मिल्ने भ्रम रहन्छ । तर यस्ता कार्यनीतिक सफलता विरलै मात्र दीर्घकालीन रणनीतिक उपलब्धिमा परिणत हुने गर्छन् । बरु तिनैले महाशक्तिको दीर्घकालीन थकान र पतनको आधार तयार पार्ने गरेको इतिहासले देखाउँछ।
अमेरिकाले इरान मा गरेको हस्तक्षेप सफल भए पनि त्यसले भविष्यमा अझ गहिरो संलग्नताको आवश्यकता सिर्जना गर्न सक्छ । आगामी दशकहरूमा त्यसरी समय, स्रोत र ऊर्जा खर्च गर्नु रणनीतिक रूपमा कत्तिको उपयुक्त हुन्छ भन्ने प्रश्न उठिरहेको छ ।
इतिहासको स्पष्ट सन्देश
बेलायतको अनुभवले स्पष्ट देखाउँछ—महाशक्तिहरू प्रायः बाह्य आक्रमणबाट होइन, आफ्नै प्राथमिकता गुमाएर परिधितर्फ अत्यधिक फैलिँदा कमजोर बन्छन्। जब केन्द्रको सुदृढीकरणभन्दा बाह्य द्वन्द्वमा ध्यान बढी केन्द्रित हुन्छ, तब विश्व नेतृत्व क्रमशः गुम्दै जान्छ ।
इतिहासको यही पाठले आजको अमेरिकालाई सावधान गरिरहेको छ ।