आधुनिक जीवनशैलीसँगै मानिसको रहनसहन परिवर्तन हुँदै गए पनि पछिल्लो समय मौलिक संस्कृति र परम्पराप्रतिको आकर्षण फेरि बढ्न थालेको छ ।
विशेषगरी मधेश प्रदेशमा माटोका भाँडाको प्रयोग पुनः लोकप्रिय बन्दै गएको छ । वीरगञ्ज, जनकपुरधाम, राजविराज, लहान, सिरहा, गौर र मलङ्गवासहित मधेशका विभिन्न सहरका होटल, रेस्टुरेन्ट, चिया पसल तथा क्याफेहरूमा अहिले माटोका कप, गिलास, मटका र अन्य भाँडाको प्रयोग बढ्दो छ । स्वास्थ्य, स्वाद र संस्कृतिसँग जोडिएका कारण माटोका भाँडाले आधुनिक बजारमा नयाँ पहिचान बनाइरहेका छन् ।
एक समय गाउँघरमा माटोको गाग्रीमा पानी, माटोको भाँडामा दही र कुल्हडमा चिया सामान्य मानिन्थ्यो । विवाह, पूजा, व्रतबन्ध, श्राद्ध र पर्वहरूमा माटोका भाँडाको विशेष महत्त्व हुन्थ्यो । तर प्लास्टिक, स्टिल र काँचका भाँडा आएपछि माटोका सामग्री प्रयोग घट्दै गएको थियो । अहिले फेरि मौलिकताको खोजीसँगै यसको प्रयोग बढ्न थालेको छ ।
मिथिला संस्कृतिमा माटोको विशेष धार्मिक र सांस्कृतिक महत्त्व रहेको संस्कृतिविद्हरू बताउँछन् । छठ पर्व, विवाह, यज्ञ, मुण्डन, उपनयन र श्राद्धजस्ता धार्मिक अनुष्ठानमा अझै पनि माटोका भाँडालाई पवित्र मानिन्छ ।
जनकपुरधाम–१९ का राजनारायण पण्डितले विदेशबाट फर्किएपछि पुर्ख्यौली पेसालाई अपनाउँदै माटोका गिलास र कचौरा उत्पादन सुरु गरेका छन् । उनले भारतबाट करिब पाँच लाख रुपैयाँ खर्च गरेर मेसिन ल्याई उत्पादन गरिरहेका छन् । सरकारले अनुदान वा भन्सार छुट दिए उत्पादन अझ बढाउन सकिने उनको भनाइ छ ।
कपिलेश्वरका जोगी पण्डितका अनुसार बजारमा माग धेरै भए पनि माटो, दाउरा र मजदुरी महँगो भएकाले पर्याप्त उत्पादन गर्न कठिन भइरहेको छ । जलेश्वरका रासविहारी पण्डितले सरकारले तालिम, प्रविधि र बजारीकरणमा सहयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
मधेशका विभिन्न बजारमा अहिले मटका, गाग्रो, गिलास र अन्य माटोका सामग्रीको बिक्री बढेको छ । पानी पिउने मटका तीन सयदेखि पाँच सय रुपैयाँसम्ममा बिक्री भइरहेको व्यवसायीहरू बताउँछन् ।
जनकपुरधामका स्थानीय पसले कैलाश साहका अनुसार अहिले घर तथा कार्यालयमा मटका राख्ने चलन बढ्दै गएको छ । “ग्राहकहरू फ्रिजको पानीभन्दा मटकाको पानी स्वास्थ्यका लागि राम्रो मान्छन्,” उनले भने । जनकपुरधाम–८ का चिया व्यवसायी जामुनले दैनिक सात–आठ सय कपसम्म चिया बिक्री गर्ने गरेका छन् । उनी माटोको कपमै चिया बेच्ने गर्छन् । “माटोको कपमा चियाको स्वाद नै फरक हुन्छ, त्यसैले ग्राहकको रोजाइ बढेको छ,” उनले बताए ।
प्रादेशिक अस्पताल जनकपुरधामका वरिष्ठ चिकित्सक रामध्यान यादवका अनुसार माटोका भाँडा स्वास्थ्यका लागि लाभदायक हुन्छन् । माटोको भाँडामा राखिएको पानी प्राकृतिक रूपमा चिसो हुने र यसले घाँटीसम्बन्धी समस्या कम गर्न सहयोग गर्ने उनले बताए । माटोका भाँडा वातावरणमैत्री पनि मानिन्छन् । प्लास्टिक र थर्मोकोलको तुलनामा माटोका सामग्रीले वातावरण प्रदूषण नगर्ने भएकाले यसको प्रयोगलाई सकारात्मक रूपमा हेरिएको छ ।
मधेश प्रदेशमा कुम्हार समुदायको संख्या ७२ हजारभन्दा बढी रहेको तथ्यांक छ । व्यवसायी र कुम्हार समुदायले सरकारले सिप विकास, उत्पादन प्रवर्द्धन, बजारीकरण र अन्तर्राष्ट्रिय बजार पहुँचमा सहयोग गरे यो पेसाबाट रोजगारी वृद्धि हुनुका साथै मौलिक संस्कृतिको संरक्षण हुने विश्वास व्यक्त गरेका छन् ।
मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री कानिश पटेलले माटोका भाँडाले मधेशको मौलिकता र संस्कृतिलाई चिनाउने भएकाले प्रदेश सरकारले यसको संरक्षण र प्रवर्द्धनका लागि पहल गर्ने बताएका छन् ।