काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले फल्चा उपत्यकाको मौलिक पहिचान र सांस्कृतिक धरोहर भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै उनले फल्चाको संरक्षण, उपयोग र प्रवर्द्धनलाई आधुनिक विकाससँगै लैजानुपर्नेमा जोड दिएका छन् ।
मेयर शाहका अनुसार फल्चा केवल विश्रामस्थल होइन, नेवा समुदायको सामाजिक एकताको केन्द्र पनि हो । “मलाई पहिलेदेखि लाग्थ्यो, फल्चाहरूको सामाजिक र सांस्कृतिक महत्व ठुलो छ तर यी विस्थापित हुँदैछन् । तिनलाई तस्बिर र संग्राहलयमा राख्ने होइन, संरक्षण र उपयोग गर्नुपर्छ,” उनले लेखेका छन् ।
उनका अनुसार काठमाडौं महानगरले सार्वजनिक यातायातका यात्रुहरूका लागि बस बिसौनीका रूपमा मौलिक शैलीका फल्चा बनाउने कार्य तीव्र गतिमा अघि बढाएको छ। आर्थिक वर्ष २०७९/८० देखि नै बजेट विनियोजन गरिएपछि विजुली बजारस्थित दुईवटा फल्चा २०८०/८१ मा निर्माण सम्पन्न भई उद्घाटन भइसकेका छन् ।
२४ फल्चा निर्माण, ९ करोड लागत २०८१ माघमा जारी कार्यादेशअनुसार थप २४ वटा फल्चा निर्माणको तयारी भइरहेको महानगरले जनाएको छ। तीमध्ये आठवटा फल्चा निर्माण भइसकेका छन् भने बाँकी १६ वटा माघ २०८२ भित्र सम्पन्न हुने लक्ष्य छ। यस योजनाको कुल लागत करिब ९ करोड रुपैयाँ रहेको बताइएको छ ।
मेयर शाहले फल्चा ‘कंक्रीटाइजेसन’ले ढाकिएको काठमाडौंमा मौलिकता झल्काउने कलात्मक संरचना हुने विश्वास व्यक्त गरेका छन् । “झिंगटीको छानो, बुट्टेदार अग्राखको काठ र नेवारी स्थापत्ययुक्त फल्चाहरू दृश्यका लागि पनि मनोरम हुनेछन्,” उनले उल्लेख गरेका छन् ।
अपाङ्गमैत्री र सर्वसुलभ डिजाइन प्रत्येक फल्चा दुईतर्फी विश्राम सुविधा हुने गरी डिजाइन गरिएको छ। बीचमा बाटो राखिएकाले पैदल यात्रीलाई सजिलो हुने र अपाङ्गमैत्री संरचना हुने महानगरले जानकारी दिएको छ । बालेनले यस्ता कार्यले काठमाडौंको मौलिक सभ्यता र संस्कृति उजागर गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।