एक थिए शिवु सोरेन। उनी आदिवासी राजनीतिमा जिउँदै किंवदन्ती बनिसकेका नेता थिए । भारतीय राज्य बिहार (अहिलेको झारखण्ड) मा महाजनहरूद्वारा आदिवासीहरूका खेती कब्जा गरिनु, उनीहरूलाई हरूवाचरुवा बनाइनु र चक्रवृद्धि ब्याजमा थिचिनु सामान्य थियो । यही अन्यायको विरुद्ध सन् १९७० को दशकमा शिवु सोरेनले ‘धान कटनी आन्दोलन’ सुरु गरे ।
उनले नारा दिए – ‘धान जसले लगाउँछ, उसैले काट्छ ।’ यही आन्दोलनपछि उनी ‘दिशोम गुरु’ – अर्थात् समाजका मार्गदर्शक – का रूपमा चिनिए। उनका छोरा तथा झारखण्डका पूर्वमुख्यमन्त्री हेमन्त सोरेनका अनुसार शिवुले भनेका थिए – ‘मैले आदिवासीहरूको पीडा सम्झें र तिनको लडाइँलाई आफ्नो लडाइँ बनाएँ ।’
शिवु सोरेनको जीवन झारखण्डको आत्मा र संघर्षको प्रतिबिम्ब थियो । यही ४ अगस्टमा उनी दिवंगत भए। उनले झारखण्डलाई बिहारबाट टुक्रिएर बनेको नयाँ प्रदेशका रूपमा देख्ने सपना देखेका थिए । तर सत्तालाई कहिल्यै उपलब्धि मानेनन् । उनले भनेका थिए – ‘यो राज्य मेरो लागि कुर्सी होइन, यो मेरो जनताको पहिचान हो ।’
मधेश सन्दर्भ : समान संघर्ष, फरक मोड
नेपालको सन्दर्भमा मधेशी आन्दोलनसँग जोडिएका नेताहरूले संविधान निर्माणपछि संसदीय राजनीतिमा प्रवेश गर्दै सत्ताका शर्तहरू स्विकार गरे । तर मधेशले पाउनुपर्ने स्थान अझै अपूरो छ । मुख्य तीन दल – कांग्रेस, एमाले र माओवादी – आलोपालो सरकारमा बसे पनि समावेशी राज्य निर्माणप्रति अनिच्छुक देखिएका छन् । आजको संविधान तीन दलका लागि, तिनै दलद्वारा, तिनकै हितमा केन्द्रित देखिन्छ ।
पहिलो संविधानसभाका बखत मधेशी शक्तिको उदय सकारात्मक संकेत थियो । तर पछिल्ला वर्षहरूमा यो शक्ति क्रमशः क्षीण हुँदै गएको छ । मधेशको संघर्ष बोकेको राजनीति वर्चस्वशाली शक्तिको गोलचक्कर र प्रतिरोधको जालोमा अल्झिएको छ । यद्यपि मधेशी राजनीति आज पनि भुइँसँग जोडिएको, प्रतिबद्ध र पहिचानको संघर्षको प्रतीक बनेको छ ।
संयुक्त लोकतान्त्रिक मोर्चाको प्रयास
संविधान निर्माणपछि मधेशका विविध दलहरूले बनाएको संयुक्त लोकतान्त्रिक मोर्चा हाल जनसंवादका लागि मधेश झर्ने तयारीमा छ । मोर्चामा सबै नेताको पृष्ठभूमि फरक भए पनि एउटै बुझाइ छ – ‘सत्ताले हामीलाई केवल प्रयोग गरिरहेको छ, हाम्रो भूमि हाम्रो हातबाट चिप्लिँदैछ ।’
मधेशका लागि राजनीतिक रूपान्तरणको यही क्षण हो – जहाँ विफलताबाट सिकेर नयाँ यात्रा सुरु गर्न सकिन्छ । सत्ताका लागि अस्थायी बिसौनी बनेको यो राजनीति अब दीर्घकालीन लक्ष्यमा रूपान्तरण हुनुपर्छ ।
जनसंवादको महत्त्व
मोर्चाका नेताहरू मधेश झर्ने तयारीमा छन् । तर यो प्रयास आत्मश्लाघा वा भाषण केन्द्रित नभई जनताको पक्षमा केन्द्रित हुनुपर्छ । उनीहरूले भनेका दुई कुरा हुन – हामी अब सँगै छौं र हामी तपाईंलाई सुन्न आएका हौं । जनसंवाद सजिलो छैन । त्यसका लागि साहस, धैर्य र आत्मसमर्पण चाहिन्छ ।
विविधता स्वीकार्नुपर्ने आवश्यकता
मधेश केवल सरकारी प्रदेश सीमित नभई सांस्कृतिक र सामाजिक रूपमा फराकिलो भूगोल हो । मोर्चाले झापा देखि कञ्चनपुरसम्मका थारू, कोच, दलित, मुस्लिम लगायत सबै पहिचानलाई समेट्ने प्रयत्न गर्नुपर्छ । सशक्त संघीयता र समावेशीताको नारासहित यो यात्रा सशक्त जनआधार बनाउन सक्छ ।
शिवु सोरेनले जस्तै, जनताको पीडा बुझ्ने, सुन्ने र त्यसलाई आफ्नो बनाउने नेतृत्व आजको मधेश राजनीतिमा पनि आवश्यक छ । यही बाटोले मोर्चालाई जनविश्वास दिलाउन सक्छ ।