सप्तरी | दीपावली नजिकिँदै गर्दा सप्तरीका ग्रामीण बस्तीका महिलाहरू हुक्काहुक्की बोकेर सहरतिर धाउन थालेका छन् । जिल्लाको मलेठ, दिघवा, जोलहरी, जमुनी, झल्ही, फर्सैठ, विषहरिया लगायतका गाउँका महिलाहरू बिहान सबेरै हुक्काहुक्की बोकेर राजविराज बजारतिर निस्कन्छन् ।
हाल राजविराज बजारमा हुक्काहुक्कीको माग एकाएक बढेको छ । ग्रामीण महिलाले बनाएको एउटा हुक्काहुक्की १० देखि ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। सस्तो र परम्परागत वस्तु भएकाले ग्रामीणदेखि शहरी उपभोक्तासम्म यसप्रति आकर्षित हुने गरेका छन् ।
फर्सैठका देवनारायण यादवका अनुसार हुक्काहुक्की परम्परागत रूपमा सनपाट (पटुवा वा जुट)को ठडरी (सन्ठी) र खर प्रयोग गरी बनाइन्छ । “पहिले घर–घरमै बनाइन्थ्यो, अहिले धेरैले बजारमा किन्ने गर्छन्,” यादवले भन्नुभयो, “यसको माग तिहारमा मात्रै हुन्छ, किनकि यो केवल खेलौना होइन, संस्कृतिको एउटा अंश हो ।”
राजविराजका डोमन साहका अनुसार गाउँघरबाट मानिसहरू सहर बसाइँ सरेपछि खेतीपाति घटेको छ, जसका कारण सनपाटको खेती पनि थोरै मात्रामा भइरहेको छ । “हुक्काहुक्की बनाउन चाहिँ सीप छ, तर सामग्रीको अभावमा अहिले किनेरै बनाउनु पर्छ,” उहाँले भन्नुभयो ।
बायोबृद्ध शान्तिदेवीका अनुसार तिहारमा दीपावलीका दिन कुलदेवताको घरमा बालिएको दियोको आगो हुक्काहुक्कीमा सल्काएर चौबाटो, खेत, सार्वजनिक डगरमा खेल्ने चलन रहिआएको छ । “यो रमाइलो मात्र होइन, शुभ–अशुभको प्रतीक पनि हो,” उहाँ बताउनुहुन्छ, “हुक्काहुक्कीमा आगो बलेको समय र दिशाले भविष्यको सङ्केत दिन्छ भन्ने विश्वास छ ।”
९० वर्षीय सीतावीप्रसाद साहका अनुसार तिहारका दिन लक्ष्मीपूजाको अवसरमा घरको छानामाथि हुक्काहुक्की राख्ने चलन घरबाट दरिद्रता भगाउने र लक्ष्मीको वास होस् भन्ने विश्वाससँग जोडिएको छ। “हुक्काहुक्की नयाँ धान उत्पादनसँग पनि सम्बन्धित परम्परा हो,” उहाँले बताउनुभयो।
गृहिणी सीता साहका अनुसार ‘नेवान’ अर्थात् नयाँ धान खाने शुभ अवसरमा हुक्काहुक्कीको प्रयोग दाउराको रूपमा गरिन्छ । “नेवानमा नयाँ धानको च्युरा कुट्दा वा भुट्दा हुक्काहुक्की नै बालिन्छ,” उहाँ बताउनुहुन्छ ।
श्यामकुमार यादवका अनुसार सहरमा बसोबास गर्न थालेका ग्रामीण परिवारका सन्तानलाई परम्परागत संस्कृतिसँग जोड्ने उद्देश्यले अहिले सहर बजारमा हुक्काहुक्की बेच्ने र खरिद गर्ने चलन बढ्दै गएको छ ।
हुक्काहुक्की तिहारको खेलौना मात्र होइन, ग्रामीण जीवनशैली, संस्कार र कृषिसँग जोडिएको गहिरो सांस्कृतिक प्रतीक हो । यसले गाउँकी महिलाहरूलाई तिहारमा आत्मनिर्भरता र आयआर्जनको अवसर पनि प्रदान गर्छ ।
लक्ष्मीपूजाका दिन घरका जेठा छोराले घरको दियोको आगोबाट हुक्काहुक्की बालेर बाहिर डगर, चौर वा खेतमा खेल्ने परम्परा रहिआएको छ। पछि परिवारका अन्य सदस्यहरू पनि सामूहिक रूपमा खेल्ने गर्छन् । आधा जलेको हुक्काहुक्की खेत वा तरकारी बारीमा गाड्दा राम्रो फल्ने र नकारात्मक ऊर्जा टर्ने जनविश्वास रहिआएको छ।
ग्रामीण हस्तकलाको प्रतीक बनेको हुक्काहुक्की परम्पराले गाउँको आत्मा, विश्वास र पुरखाको आस्थालाई आज पनि जोगाइरहेको छ ।