बारा । चितवन–पर्सा कम्प्लेक्स अन्तर्गत चितवनबाट आजदेखि राष्ट्रिय बाघ गणना सुरु हुँदैछ । बाघ गणनाका लागि एक हजारभन्दा बढी जनशक्ति परिचालन गरिने र एक सय वटा क्यामेरा जडान गरिने भएको छ ।
नवलपरासीको त्रिवेणीदेखि रौतहटको बागमतीसम्मको क्षेत्रलाई एउटै कम्प्लेक्स मानेर बाघ गणना गरिने पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार बाघ देखिएका तथा पाइला भेटिएका स्थान, पर्याप्त घाँसे मैदान र आहारा प्रजाति उपलब्ध भएका क्षेत्रमा क्यामेरा ट्र्याप विधिबाट गणना गरिनेछ ।
“पुसको पहिलो हप्ताबाट फिल्डमा क्यामेरा जडान गरिन्छ । एउटै क्यामेरालाई दुई हप्तासम्म एकै स्थानमा राखिन्छ,” प्रमुख संरक्षण अधिकृत खतिवडाले भन्नुभयो, “बाघ गणना सम्पन्न गर्न करिब ८० देखि ९० दिन लाग्नेछ । चितवन–पर्सा कम्प्लेक्समा मात्रै प्राविधिक, कर्मचारी र सामुदायिक वन समूहका सदस्यसहित एक हजारभन्दा बढी जनशक्ति खटाइनेछ ।”
बाघ गणनाका लागि पर्सा राष्ट्रिय निकुञ्ज आसपास १२ वटा क्याम्प स्थापना गरिनेछ । प्रत्येक क्याम्पमा १० देखि १२ जनासम्मको प्राविधिक टोली रहने निकुञ्जले जनाएको छ ।
एक पटक गणना भइसकेको बाघ दोहोरिन नदिने उद्देश्यले सफ्टवेयरको माध्यमबाट तस्बिर परीक्षण गरिने खतिवडाले बताउनुभयो । “बाघको प्रत्यक्ष गणना हुँदैन । अप्रत्यक्ष विधिबाट प्राप्त न्यूनतम र अधिकतम तथ्याङ्कको औसत निकालेर नतिजा सार्वजनिक गरिन्छ,” उहाँले भन्नुभयो, “दुई वर्ष मुनिका आमासँगै रहेका डमरु गणनामा समावेश गरिँदैनन् ।”
आमासँगै रहेका दुई वर्ष मुनिका डमरु आफैँ सिकार गर्न सक्षम नहुने र भाले बाघबाट मारिने जोखिम बढी हुने भएकाले तिनलाई गणनामा समावेश नगरिने निकुञ्जले जनाएको छ । आमाबाट छुट्टिएर स्वतन्त्र रूपमा बाँच्न सक्ने बाघलाई मात्र गणनामा समेटिन्छ ।
राष्ट्रिय बाघ गणनामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन विभाग, डब्लुडब्लुएफ, राष्ट्रिय प्रकृति संरक्षण कोष, जेडएसएललगायत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सहयोग रहनेछ । राष्ट्रिय बाघ गणना हरेक चार वर्षमा गरिँदै आएको छ ।
यसअघि सन् २०२२ मा सम्पन्न राष्ट्रिय बाघ सर्वेक्षणअनुसार पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वयस्क पाटे बाघ फेला परेका थिए । सन् २०१८ मा १८ रहेको बाघको संख्या चार वर्षमै दोब्बरभन्दा बढी भएको हो । प्रमुख संरक्षण अधिकृत खतिवडाका अनुसार यसपटक वयस्क बाघको संख्या ५० देखि ५५ सम्म पुग्ने आकलन गरिएको छ ।
“बाघसम्बन्धी अपराध नियन्त्रण, दुर्घटनामा भएको क्षति र मानव–बाघ द्वन्द्वका घटनाको आधारमा तथ्याङ्क आकलन गरिन्छ,” खतिवडाले भन्नुभयो, “पर्सा निकुञ्जमा घाँसे मैदान, आहारा प्रजाति र बासस्थान राम्रो भए पनि पानीको अभावका कारण धेरै बाघ धान्न सक्ने अवस्था छैन ।”
पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जका बाघ नयाँ बासस्थानको खोजीमा पर्सा राष्ट्रिय निकुञ्जसम्म आइपुग्ने गरेका छन् । बाघ गणनाबाट प्राप्त तथ्याङ्कको आधारमा मानव–बाघ द्वन्द्व न्यूनीकरणका कार्यक्रम ल्याइने निकुञ्जले जनाएको छ । यसैक्रममा मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरूसँगको सहकार्यमा यस वर्षदेखि ‘बाघ मित्र’ कार्यक्रमसमेत सुरु गरिएको छ ।
“बाघको संख्या बढेपछि त्यसलाई पर्यटनसँग जोडेर समृद्धि हासिल गर्न सकिन्छ,” खतिवडाले भन्नुभयो, “बाघ समृद्धिका लागि हो, समस्याका लागि होइन भन्ने सन्देश आम नागरिकसम्म पुर्याउन आवश्यक छ ।”
सन् २०२२ देखि २०२५ सम्मको अवधिमा मानव–बाघ द्वन्द्व, मानवीय प्रतिशोध तथा अन्य कारणले पर्सा निकुञ्ज क्षेत्रमा करिब ६ देखि ८ वटा बाघले अकालमै ज्यान गुमाएको तथ्यांक निकुञ्जसँग छ ।
पर्सा राष्ट्रिय निकुञ्जमा पहिलो पटक सन् २०१३ मा गरिएको सर्वेक्षणमा ७ वयस्क बाघ देखिएका थिए । सन् २०१८ मा १८ र २०२२ मा ४१ वयस्क बाघ फेला परेका थिए । बागमती र मधेश प्रदेशमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज बारा, पर्सा र मकवानपुर गरी तीन जिल्लाको ६२७ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।