तराई–मधेश क्षेत्रमा पछिल्ला वर्षमा जलसङ्कट तीव्र बन्दै गएको छ ।
चुरे क्षेत्रको अन्धाधुन्ध दोहन, अनियमित वर्षा, खडेरी, भू–जलको अत्यधिक प्रयोग, परम्परागत पोखरीको अतिक्रमण तथा बढ्दो तापक्रमका कारण भूमिगत जलसतह निरन्तर घट्दो क्रममा छ । यसले एकातिर चर्को गर्मी र अर्कोतिर पानी अभावको दोहोरो समस्या निम्त्याउँदै कृषि, जनजीवन र पारिस्थितिकीय सन्तुलनमा गम्भीर असर पारिरहेको छ ।
धनुषाको नगराइन नगरपालिका–३ का स्थानीय रामबाबु यादवका अनुसार पहिले हिउँदमा समेत वर्षा हुने गर्थ्यो, तर अहिले वैशाख–जेठसम्म पानी पर्ने सम्भावना न्यून भएको छ । गत वर्ष टोलका अधिकांश धारा र चापाकल सुक्दा एक–डेढ किलोमिटर टाढाबाट डिप बोरिङको पानी ल्याएर प्रयोग गर्नुपरेको उनले बताए । पानीको अभावले दैनिक जीवनदेखि बालबालिकाको पढाइसम्म प्रभावित भएको उनको अनुभव छ ।
गर्मी बढेसँगै चापाकल र स्यालो ट्युबवेलहरू निष्क्रिय बन्दै गएका छन् भने धेरै डिप बोरिङहरू समेत सुक्न थालेका छन् । आकाशे पानीमा निर्भर खेतीमा गत वर्ष करिब ५० प्रतिशतसम्म बाली नोक्सान भएको किसानहरू बताउँछन् ।
धनुषाकै बटेश्वर गाउँपालिका–१ मा इनारहरू सुक्न थालेपछि स्थानीय बासिन्दा समस्यामा परेका छन् । एउटै इनारबाट दर्जनौं परिवार निर्भर रहेको अवस्थामा पानी सुक्दा उनीहरू वैकल्पिक स्रोतमा निर्भर हुन बाध्य भएका छन् । स्थानीयका अनुसार चुरे क्षेत्रको विनाश र पानीको अभावबीच गहिरो सम्बन्ध छ ।
महोत्तरीको औरही नगरपालिका–३ का कृषक जगदीश साहका अनुसार पहिले ३० देखि १०० फिटमै पानी आउने गरेकोमा अहिले ४–५ सय फिटसम्म बोरिङ खन्नुपरेको छ । पानीको अभावले घरायसी कामदेखि पशुपालन र खेतीपातीमा गम्भीर असर परेको उनले बताए ।
जनकपुरधामका ऐतिहासिक पोखरीहरू समेत अतिक्रमण, प्रदूषण र उपेक्षाका कारण सुक्दै गएका छन् । स्थानीयवासीका अनुसार पहिले आपसमा जोडिएका पोखरीहरू अहिले दुर्गन्धित र जीर्ण अवस्थामा पुगेका छन् ।
उता वीरगञ्ज जस्तो प्रमुख आर्थिक केन्द्रमा समेत गर्मीयाममा खानेपानीको हाहाकार देखिन थालेको छ । ट्याङ्करमार्फत पानी वितरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
विज्ञहरूका अनुसार जलवायु परिवर्तन, चुरे क्षेत्रको विनाश र भूमिगत जलको अत्यधिक दोहन जलसङ्कटका प्रमुख कारण हुन् । वातावरण अभियानी सुरेश शर्माका अनुसार चुरे क्षेत्रको विनाशले प्राकृतिक जलचक्र नै प्रभावित भएको छ, जसका कारण वर्षाको पानी जमिनमा सोसिन नपाई बगेर जाने र भूमिगत जल पुनर्भरण हुन नसक्ने अवस्था सिर्जना भएको छ ।
वन तथा वातावरण मन्त्रालयका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत बेचनकुमार महतोका अनुसार अत्यधिक गिट्टी–बालुवा उत्खनन, कङ्क्रिटीकरण र अव्यवस्थित विकासले पनि जलस्रोतमा नकारात्मक प्रभाव पारेको छ ।
ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, मधेश प्रदेशका निमित्त सचिव रामकुमार खङ्गका अनुसार चैत महिनादेखि नै मधेशमा पानीको सतह औसतमा तीन फिटसम्म घट्ने गरेको छ । अन्तर्राष्ट्रिय अध्ययनहरूले समेत जलसतह हरेक वर्ष घट्दै गएको पुष्टि गरेका छन् ।
जलवायु तथा वातावरणविद् डा. ङमिन्द्र दाहालका अनुसार जनकपुरको सभ्यता नै पोखरी र जल संरचनामा आधारित भएकाले यस्ता स्रोतको संरक्षण अपरिहार्य छ । उनले वर्षा पानी सङ्कलन, भू–जल पुनर्भरण र चुरे–भावर क्षेत्रमा जल संरक्षण संरचना विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
सरकारले गत वर्ष मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरे पनि असन्तुलित वर्षाले अपेक्षित राहत दिन सकेको छैन । रोपाइँ ढिलो हुनुका साथै बाली नोक्सानी बढेको छ ।
चुरे र भावर क्षेत्र तराईका लागि प्राकृतिक जलभण्डार मानिन्छन् । तर चुरे क्षेत्रको विनाशसँगै यो प्रणाली कमजोर बन्दै गएको छ । यद्यपि, प्रदेश र स्थानीय तहबाट वर्षा पानी सङ्कलन तथा जल पुनर्भरणजस्ता दीर्घकालीन उपायमा पर्याप्त ध्यान दिन नसकिएको देखिन्छ ।
समग्रमा, मधेशको जलसङ्कट अब केवल वातावरणीय मुद्दा मात्र नभई जनजीवन, कृषि र भविष्यसँग जोडिएको गम्भीर चुनौती बनेको छ । दीर्घकालीन समाधानका लागि प्रभावकारी जल व्यवस्थापन, वर्षा पानी सङ्कलन, भू–जल पुनर्भरण तथा जलवायु अनुकूलन कार्यक्रम तत्काल आवश्यक देखिन्छ ।