- निर्वाचन आयोगले दियाे जसपा नेपाल र लोसपा नेपालबीच एकताकाे मान्यता
मधेश केन्द्रित राजनीति लामो समयपछि महत्वपूर्ण मोडमा पुगेको छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालबीच भएको एकतालाई निर्वाचन आयोगले औपचारिक मान्यता दिएको छ । दुवै दलले गत पुस २७ गते एकता घोषणा गरेका थिए ।
मधेश प्रदेश सभाका सभामुख रामआशिष यादवले कुपोषण न्यूनीकरण तथा मातृ–शिशु स्वास्थ्य सुधारका लागि प्रदेश सरकार, स्थानीय तह र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका छन् ।
- मधेशमा साक्षर प्रदेश घोषणाको तयारी अघि बढ्यो
मधेश प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने तयारीका क्रममा उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन मन्त्रीद्वयलाई हस्तान्तरण गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा अभियान कार्यान्वयन सुरु भएको घोषणा गरिएको हो । सहभागीहरूले ड्रपआउट लक्षित कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
- वीरगञ्जमा सिमा लक्ष्ति लागुऔषध नियन्त्रण सचेतना कार्यक्रम समपन्न
वीरगञ्ज–रक्सौल मितेरी पुल क्षेत्रमा अटो रिक्सा चालकहरूलाई लक्षित गरी लागुऔषध दुर्व्यसन रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । सीमा सुरक्षा गुल्म वीरगञ्जका अनुसार कार्यक्रममा लागुऔषधको दुष्प्रभाव, सामाजिक असर र नियन्त्रणका उपायबारे जानकारी दिइएको थियो ।
- रौतहटमा मलकाे कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाहीकाे चेतावनी
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले किसानलाई दुःख दिने गरी मलको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । उनले साल्ट ट्रेडिङ गौर र कृषि सामग्री संस्थान चन्द्रनिगाहपुरबाट नियमित मल आपूर्ति भइरहेको जानकारी दिँदै वितरण प्रणालीलाई पारदर्शी बनाउन स्थानीय तहलाई अनुगमन गर्न आग्रह गरेका छन् ।
- वीरगञ्जकाे हरि खेतान क्याम्पसमा विवाद, क्याम्पस प्रमुख माथि कालोमोसो
वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा शिक्षक र प्रशासनबीचको लामो विवाद उग्र बनेपछि क्याम्पस प्रमुख किशोरी राय यादवमाथि कालोमोसो प्रहार गरिएको छ । सेवा सुविधा र प्रशासनिक व्यवस्थापनप्रति असन्तुष्ट शिक्षकहरूले माग पूरा नभएको भन्दै विरोध जनाएका हुन् ।
- धनुषामा प्रधानाध्यापक माथि अवैध शुल्क असुलीको आरोप
धनुषाको सबैला नगरपालिका–१३ स्थित श्री माध्यमिक विद्यालय ढोलबजा किरतपुरमा विद्यार्थीहरूसँग स्थानान्तरण शुल्कको नाममा अवैध रूपमा पाँच सय रुपैयाँ असुलिएको आरोप लागेको छ । प्रधानाध्यापक रामशंकर यादवमाथि धाकधम्की र कुटपिटको समेत आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालयमा कारबाहीको मागसहित निवेदन दर्ता गरिएको छ ।
- मधेशमा एचआईभी संक्रमण चिन्ताजनक अवस्थामा
मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा प्रदेशभर ४ हजार ६ सय ८० जना संक्रमित एआरटी उपचारमा रहेका छन् । उपचार सेवामा सुधार भए पनि संक्रमण नियन्त्रण अझै चुनौतीपूर्ण रहेको जनाइएको छ ।
- चन्द्रपुरमा युवक मृत अवस्थामा फेला
रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित चाँदी पुल नजिक २४ वर्षीय रंजय कुमार यादव रक्ताम्मे अवस्थामा मृत फेला परेका छन् । प्रहरीले घटनालाई शंकास्पद भन्दै सवारी दुर्घटना, कुटपिट वा अन्य आपराधिक कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
- बारामा बजार अनुगमन, चारवटा व्यवसायीलाई जरिवाना
बारामा गरिएको संयुक्त बजार अनुगमनका क्रममा मापदण्ड उल्लङ्घन गर्ने विभिन्न व्यवसायिक प्रतिष्ठानलाई जरिवाना गरिएको छ । मुस्कान डेरी उद्योगलाई ७५ हजार, न्यू जैसवाल मिठाई भण्डार र बैष्णव होटललाई ५/५ हजार तथा हाम्रो फ्रेश चाउमिन उद्योगलाई २० हजार रुपैयाँ जरिवाना गरिएको हो ।
देशमा आज
- सुकुमवासीलाई घरभाडा दिने तयारी
सरकारले वास्तविक सुकुमवासीलाई लालपुर्जा नदिइएसम्म मासिक १५ हजार रुपैयाँ घरभाडा दिने तयारी गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिका अनुसार स्रोत सुनिश्चित भइसकेको छ ।
- भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध
भारतले घरेलु बजारमा आपूर्ति सुनिश्चित गर्न चिनी निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध सेप्टेम्बर अन्त्यसम्म लागू रहनेछ ।
- कोलकातामा नेपाल–भारत व्यापार छलफल
कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले नेपाल–भारत व्यापार, पारवहन र लगानी सहजीकरणबारे छलफल कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा दुई देशबीच आर्थिक सहकार्य विस्तारमा जोड दिइएको छ ।