अर्थ समितिका पछिल्ला बैठकहरूमा भारतबाट नेपाल आउने पर्यटकहरूले भारतीय नोट ल्याउन नपाएको विषयमा गर्मागर्मी बहस भएको छ । नेपाली होटल र पर्यटन व्यवसायमा त्यसको प्रत्यक्ष असर परेको भन्दै सांसदहरूले गम्भीर प्रश्न उठाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही र एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले भारतीय पर्यटकहरूलाई ५०० रुपैयाँका नोट ल्याउन नदिईएकोले व्यापारमा असर परेको दाबी गरे । सांसद शाहीले होटल, व्यवसायमा चहलपहल घटेको उल्लेख गर्दै, “भारतमा चल्ने ५०० र २००० को नोट नेपालमा किन निषेध?” भन्ने प्रश्न तेस्र्याए ।
गभर्नर डॉ. विश्वनाथ पौडेल बैठकमा सहभागी भए पनि प्रत्यक्ष जवाफ दिन मानेनन् । उनले राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई जवाफ दिन लगाएका थिए । कार्यकारी निर्देशक पौडेलले १०० रुपैयाँभन्दा माथिका भारु नोटहरू नेपालमा ल्याउन नपाइने नीतिगत कारण बताए ।
विदेशी मुद्रा ५ हजार डलरभन्दा बढी ल्याउँदा भन्सार जाँचपास अनिवार्य हुन्छ । १० लाख रुपैयाँभन्दा बढी क्यास ल्याउन विशेष स्वीकृति चाहिन्छ । ५०० र २००० का भारतीय नोटमा भारतमै ‘रातारात प्रतिबन्ध’ लगाइएकाले नेपालले पनि सावधानी अपनाउनु परेको हो ।
तर सांसद शाही र समितिका सभापति सन्तोष चालिसेले यो जवाफ चित्तबुझ्दो नभएको भन्दै कुन कानुनले ५०० को नोट निषेध गर्छ? भनेर स्पष्ट जवाफ माग गरे । शुक्रबारको अर्को बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि धारणा राख्दै भने, “नेपालको मात्र कारणले होइन, भारतले पनि यस्तो प्रतिबन्ध लगाएको हो।” घोषणा नगरी ४ लाख, घोषणा गरेर ६ लाख भारुसम्म ल्याउन सकिन्छ । कार्ड वा क्युआर कोडबाट भुक्तानी गर्ने विकल्प छ । ५०० को नोट भारतमै समस्यामा परेकाले नेपालले स्वतन्त्र निर्णय गर्न सक्दैन ।
राष्ट्र बैंकका अनुसार, भारतले अहिलेसम्म पनि नेपालको पुराना नोटहरू साट्न मानेको छैन। त्यही कारण अहिलेको नोट नीति अपनाइएको हो। सांसदहरू भने यसलाई पर्यटन र व्यापारमा प्रत्यक्ष असर पार्ने नीतिगत कमजोरीका रूपमा हेरेका छन्।